Loading...
भक्तपुर नगरपालिका महाकाली मन्दिरको ठिक पछाडी एउटा पुरानो घर छ । त्यही घरको साँघुरो कोठाको एउटा कुनामा भान्सा छ भने बाँकी रहेको ठाउँमा दराज, ड्रम, खाट राखिएको छ । त्यहीभित्र बसेको छ रश्मिला अवालको चार जनाको परिवार ।
गत वर्ष वैशाख १२ गतेको भूकम्पले घर भत्किँदा ९ वर्षकी छोरी सोनिया र पाँच महिनाको छोरा सोनिस पुरिएका थिए । सोनियाको स्थानीयवासीले दुई घण्टापछि तथा सोनिसको २२ घण्टापछि सेनाको टोलीले जीवितै उद्धार गरेको थियो । उक्त घट्नाले सर्वत्र चर्चा पायो ।
भूकम्पपीडित अवाल परिवारसित लालपूर्जा नहुँदा पीडितका लागि निर्धारण गरिएको रातो परिचयपत्र पाउन सकेको छैन । भूकम्पले विध्वंस गरेपछिको एकवर्ष उनीहरुको पिडैपिडामा बित्यो । 'लालपूर्जा नभएकै कारण हामीले परिचयपत्र र राहत पाएनौँ, हामी सुकुम्वासी भएका छौँ' रश्मिलाले भनिन् ।
sonisभक्तपुर नगरपालिकाको मूलढोकामा घर रहेकी रश्मिला घरमै लुगा सिलाउने काम गर्थिन, श्रीमान् श्याम सवारी चालक थिए । भूकम्पले मेसिन टुक्राटुक्रा भएपछि उनको रोजगारी खोसियो । 'मेसिन किन्न नसक्दा आफूसँग भएको सीप प्रयोग गर्न पाइन, अब बालबालिकालाई कसरी हुर्काउने भन्ने पिर परेको छ ।'
भूकम्पले जेठाजूको दुई छोरीको ज्यान गयो । सरकारले घर पूर्ण क्षति हुनेलाई रातो कार्ड दियो, टहरा निर्माण गर्न १५ हजार तथा न्यानो कपडा किन्न १० हजार दिएपनि अवाल परिवारले कुनै सुविधा पाएन । 'सुकुम्वासी हुँदा समेत हामी सरकारको नजरमा भूकम्पीपडित भएनौँ' उनले पीडा सुनाइन् ।
रश्मिलासँग अहिले नत सिलाई मेसिन किन्ने पैसा छ नत छोराछोरीको इच्छाअनुसार पढाउने क्षमता नै छ । छोरी सोनिया भन्छिन्, 'डाक्टर पढ्ने इच्छा छ, तर आमाले तलाई कसरी पढाउने भनेर चिन्ता लिइरहनुहुन्छ ।'
सरकारले वास्तविक मूल्याङ्कन गरेर भूकम्पपीडितलाई परिचयपत्र र राहत दिनुपर्ने तथा उनीहरुका सन्तानलाई पढाउन छात्रवृत्ति उपलब्ध गराउनुपर्ने अवाल परिवारको माग छ ।काठमाण्डु टुडेबाट
Loading...
Social Buttons