Latest News

नेपालीको जिवन ; एक हात कछाडमा बित्यो जीवन

हेटौंडा: काँकडा-८ वापलिङमा जन्मिएका शीतलसिंह चेपाङले एक हात कछाडको भरमा जीवनका ६५ औं वसन्त पार गरे। जाडो, गर्मी, घाम पानी सबै कछाडको भरमा कटाए उनले।

सामान किनमेल गर्न मनहरी बजार जाँदा दुई पटक मात्र उनको ज्यानमा लुगा परेको छ। गरिबी र अनिकालमा ओढारको वरिपरि जीवनको छ दशक बिताएका उनलाई राम्रो लुगा लगाउने रहर नभएको भने होइन। 


पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको लोथर बजारबाट १२ घन्टा पैदल हिँडेपछि पुगिने वापलिङस्थित भर्खरै बनाएको झुप्रो घरमा भोक मेटाउन जाँड खाँदै गरेका उनले भने,'बानी नभएर होला अब त ज्यानमा कपडा लगाउँदा पनि निक्कै अप्ठ्यारो लाग्छ।' उनी सम्झन्छन्,'वर्षमा एक पटक बाले नयाँ कछाड किन्दिन्थे, म सानै छँदा आमालाई खोलाले बगायो, बा धम्कीको रोगले बितेपछि त्यही कछाड पनि किन्न सकिनँ।'

आमा बा बितेपछि उनी ओढारमा बस्न थाले। वापलिङ र काँकडा-७ घयाङको ओढारमा बसेका उनले बिहे पनि ओढारमै गरे। उनकी श्रीमतीले एक वर्षको दूधे बालकसहित पाँच छोरा छोरी छोडेर अर्कैसँग बिहे गरिन्।'एउटा घर पनि बनाउन नसक्ने भनेर घर भएकासँग श्रीमती भागिन्', उनले भने,'त्यसपछि मैले खोरिया फाँडेर झुप्रो बनाएँ र उनकै बहिनी नीरमायासँग बिहे गरें।' 

जेठी श्रीमतीबाट जन्मेका तीन छोरा छुट्टिएर बसेका छन् भने दुई छोरी बिहे गरेर गए।शीतलकी कान्छी श्रीमतीबाट दुई छोरी र एक छोरा जन्मेका छन्। कान्छी श्रीमतीबाट जन्मेकी जेठी छोरी १५ वर्षकी र छोरा भर्खरै एक वर्षका भए। 

एउटा घर पनि बनाउन नसक्ने भनेर घर भएको मान्छेसँग श्रीमती भागिन्। त्यसपछि मैले खोरिया फाँडेर झुप्रो बनाएँ र उनकै बहिनी नीरमायासँग बिहे गरें।
जेठी श्रीमतीबाट जन्मेका कान्छा छोरा रामबहादुरले गाउँमै ज्याला मजदुरी गर्न थालेपछि उनलाई घर परिवार चलाउन अलि सजिलो भएको थियो। त्यसपछि राम्रो कमाइ हुन्छ भन्दै तनहुँमा काठ ठेकेदारले कामका लागि लगेका २२ वर्षीय रामबहादुरले उनीसँग भेट गर्न पाएनन्। 

छोराले घरमा पैसा ल्याउने आसमा रहेका शीतलले उल्टै दस हजार रुपैयाँ ऋण काढेर उनको शव ल्याउनुपर्यो। काठले च्यापिएर कमाउन गएका छोराको गत पुस १४ गते ज्यान गएको थियो।

‘छोराको शव ल्याउन लागेको खर्च अझै तिर्न सकेको छैन। हुर्केका छोरीहरू पोइला गइहाल्छन्', उनले दुःखी हुँदै भने,'छुट्टिएका छोराहरूले हेर्दैनन्। काखमा रहेको दूधे बालक कहिले हुर्कने ? '

एक हलको मेलो रहेको खोरिया बारीमा पनि पानी नपरेकाले मकै छर्न पाएका छैनन्। उनी गाउँ घरमा झाँक्रीको काम गर्छन्।'मैले गाउँ घरमा झारफुक गरेर केही कमाउँछु, बूढी र छोरीहरू कन्दमूल खोज्ने र माछा मार्ने गर्छन्। एक छाक खाएर भए पनि बाँचेको छु', उनले भने,'यसरी नै जीवन चलिरहेको छ।'

उनीसँग नागरिकता छैन।'एक पटक गाविस गएको थिएँ, बाउकै नागरिकता छैन, तिम्रो बन्दैन भनेर फर्काए', उनले भने,'त्यसपछि नागरिकताका लागि कतै गएको छैन।' उनलाई नागरिकतामा फोटो टाँस्ने अझै रहर छ। ६५ वर्षको उमेरमा पनि हृस्टपुष्ट रहेका शीतल सबैसँग मुस्कुराउँछन्।

२२ वर्षीय लक्काजवान छोरा गुमाएपछि शोकमा डुबेका शीतल कछाडको भरमा जीवन बिताइरहेका छन्। भन्छन्,'सबैले मलाई शीतल भनेर बोलाउँछन् तर मैले जीवनमा कहिल्यै शीतल महशुस गर्न सकिनँ।'
Loading...