Latest News

फेरि सत्तामा प्रचण्डः पुनरुत्थान कि सर्वनाश ?

 
प्रधानमन्त्रीको कुर्सीका लागि ‘र्याल चुहाइरहेको मान्छे’प्रति दया गर्ने हैसियत वा औकात मेरो नहुन सक्छ । तर, भावनामा बहेर वा उत्तेजनामा होइन, पट्यारलाग्दो तथ्यहरुले नै भन्दछ कि, ‘प्रस्तावित प्रधानमन्त्री पुष्पकमल दाहाल एक निरीह र दया गर्न योग्य मान्छे हुन् ।’
माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी भएका एक जना पत्रकार तथा लेखक दीपेन्द्र रोकायाले आफ्नो पुस्तक ‘नाफाको जीवन’मा प्रचण्डको सम्भावित अवसानबारे तीन वटा विकल्प उल्लेख गरेका छन् । जहाँ लेखक रोकायाले प्रचण्ड भिक्षु बन्न सक्ने, जनताबाट मारिन सक्ने र आत्महत्या गर्न सक्ने सम्भावनालाई औल्याएका छन् । पक्कै पनि रोकायाले पुस्तकको चर्चाका लागि : प्रचण्डलाई नबुझी आफ्नो पुस्तकमा यस्तो उल्लेख गरेका होइनन् । आफैं प्रत्यक्ष युद्धमा सहभागी रोकायाले राम्रैसँग प्रचण्डको नाडी छामेका छन् । जो अहिले राजनीतिको धमिलो खेलभन्दा पर रहेर प्रचण्डको तमासा हेरिरहेका छन् । र, घटनाक्रमले प्रचण्डको अवसानबारे रोकायाले गरेको अनुमान मेल खाने संकेत मिलेको छ ।

सर्वहाराको मुक्तिका लागि बन्दुकबाटै राज्यसत्ता कब्जा गर्ने चरम महत्वाकांक्षाका साथ २०५२ सालमा प्रचण्डको नेतृत्वमा सशस्त्र द्वन्द्वको सुरुआत हुँदा आमनागरिकमा भयानक भ्रमसँगै थोरै आशा र अत्यधिक त्रास थियो । मुलत गरीबीका कारण जर्जर जीवन भोग्न वाध्य सर्वसाधारणमा माओवादी द्वन्द्वले दुई छाक खान र आङभरी कपडा लगाउँन पाउँने अपेक्षा पनि थियो । धनी गरीब बराबर बनाउँने भन्दै नागरिकमा उल्लेख्य भ्रम सिर्जना गर्न माओवादी द्वन्द्व सफल भयो । बैंकको ऋण तिर्न, बिजुलीको पैसा तिर्न, पढ्न र पढाउँन नसक्नेहरु माओवादीमा होमिए । योबाहेक केही मान्छेहरु साँच्चिकै माओवादीले समानताका लागि ‘जनक्रान्ति गर्दैछ’ भनेर द्वन्द्वमा होमिए । नागरिकको सपनामाथिको लडिबुडीकै कारण माओवादीले संचालन गरेको द्वन्द्व झाङ्गिदै गयो । त्यो द्वन्द्वको नेतृत्व प्रचण्डले नै गरेका थिए ।

पुष्पकमलको प्रधानमन्त्रीकाल एक निस्फल अभ्यास मात्रै भयो । प्रचण्डको उत्तेजना क्रमशः सेलाउँदै गया र उग्र प्रचण्ड, क्रमशः पुष्पकमल हुँदै गए ।

त्यतिबेला प्रचण्ड भनेको ‘मान्छे’ नै होइन । वा, प्रचण्ड भनेको ‘राजा’ हो । वा, प्रचण्ड आममान्छेभन्दा फरक प्राणी हो जसरी हल्ला पिटिएको थियो । स्कुलका भित्ताहरुमा मुठ्ठी कसेर एउटा हात उठाएको मोटो मान्छेको चित्रहरु कोरिएको हुन्थ्यो । मान्छेहरु प्रचण्ड भनेको त्यहीं हो भनेर घण्टौं घोरिएर हेर्थे । कतिले मान्छे मार्ने नाइके भनेर बुझ्थे त कतिले महान् योद्धा !

नगरिकमा फैलँदो भ्रम, त्रास र आशाले माओवादीमा होमिएका दशौं हजारको ज्यान गयो । पढ्दापढ्दैको स्कुल छाडेर, विमारी आमा र श्रीमती छाडेर, जागिर छाडेर मान्छेहरु माओवादीमा लागे । हज्जारौं विधवा भए, टुहुरा भए । पुल काट्नु, सार्वजनिक भवनमा बम पड्काउनु, बैंक लुट्नुलाई माओवादीले सफलता मान्दै गयो । जनकारबाहीका नाममा पत्रकार, शिक्षक र समाजसेवीहरुको घाँटी रेट्यो । स्कुलमा गएर किताब पोल्यो, मन्दिरमा पिसाब फेर्दै हिँड्यो । यो सबै कामको नेतृत्व प्रचण्डले नै गरेका थिए । उनीहरु हरेक अपराधलाई ‘जनयुद्ध सफलताको आधार’ मान्दै गए ।

निकै लामो प्रयासपछि माओवादी र तत्कालीन सात दलबीच भारतको नयाँ दिल्लीमा १२ बुँदै सम्झौता भयो । संविधानसभाको निर्बाचन गरेर देशमा गणतन्त्र ल्याउँने मुद्दामा भारतीयको रोहबरमा भएको सम्झौतापछि प्रचण्ड सार्वजनिक भए । प्रचण्डलाई देख्नु भनेको देउता देख्नुजस्तै भएको थियो । २०६४ सालमा तत्कालीन सात दल र माओवादीबीच विस्तृत शान्ति सम्झौताका बेला प्रचण्डले गरेको भाषणका कारण आमनागरिक प्रभावित भए । कस्तो बोली, कस्तो ज्यान, कस्तो जुँगा ! अब चाहीं प्रचण्डले केही गर्छन् जस्तो बनाए । गरीबहरुले रातारात धनी हुने सपना देखे । बेरोजगारले रोजगार पाइने आश गरे । द्वन्द्वमा ज्यान गुमाएकाहरुको आफन्तले पनि ‘देशमा परिवर्तन हुन्छ भने ठीकै छ’ भनेर प्रचण्डलाई माफ दिए । संविधानसभाको निर्वाचन र गणतन्त्रपछि त घाम पनि पूर्वैबाट उदाउँछ जस्तो गरी हल्ला पिटाइयो । २०६४ सालमा पहिलो पटक संविधानसभाको निर्वाचन भयो । त्रास र आशमा नागरिकले माओवादीलाई ठूलो पार्टी बनाए । 

नागरिकको सपना र रगतमाथि पौडी खेलेर पहिलो ठूलो दल बनेको माओवादीका अध्यक्ष प्रचण्डले भित्ताको राष्ट्रपतिमै चित्त बुझाउँन परे पनि ठूलो कुरा गर्न छाडेनन् । कांग्रेस एमालेलाई हरुवा÷चरुवा भन्न भ्याए । अब दश वर्ष आफूलाई कसैले हल्लाउँन नसक्ने खोक्दै हिँडे ।

गणतन्त्र आयो, संविधानसभाको चुनाव भयो । मा माओवादी ठूलो दल भयो । प्रचण्ड प्रधानमन्त्री भए । उनको प्रधानमन्त्रीकाल एक निस्फल अभ्यास मात्रै भयो । झिनामसिना कुरामा फस्दै गए । तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाल प्रकरणमा हार खाएर मैदानबाटै बाहिरिए । त्यससँगै सुरु भयो, प्रचण्डको दुखका दिन । प्रचण्डको उत्तेजना क्रमशः सेलाउँदै गयो । प्रचण्ड लुलो भए । उग्र प्रचण्ड, क्रमशः पुष्पकमल हुँदै गए ।

...
संसदीय राजनीतिक अभ्यासलाई सबैभन्दा निकृष्ठ र नीच खेल भन्ने पुष्पकमल सबैभन्दा तल्लो स्तरबाट संसदीय राजनीतिक अभ्यासमा अभ्यस्त हुँदै छन् । नागरिकले ठूलो आश गरेका, द्वन्द्वको पृष्ठभूमिबाट राजनीतिको मूल प्रबाहमा आएका पुष्कमल एक ‘झुर’ नेताका रुपमा परिचित हुँदै गए । आफ्नो प्रधानमन्त्रीत्वकालमा कुनै उल्लेख काम गर्न असफल दाहालको भुत्ते राजनीतिले देश र नागरिकलाई ‘सिर्फ यातना’ दियो भन्दा फरक नपर्ला ।

कस्तो बोली, कस्तो ज्यान, कस्तो जुँगा ! अब चाहीं प्रचण्डले केही गर्छन् जस्तो बनाए । तर, गरीबहरुको रगतका कमाइले रातारात धनी हुने बाहेक प्रचण्डको क्रान्तिले केही ल्याएन । 

पार्टी भित्रको निरन्तर फुटले कमजोरभन्दा कमजोर भइसकेका दाहाललाई पार्टी भन्दा पनि आफू केन्द्रीय राजनीतिको प्रबाहमा रहेको भ्रम छ । दाहालपछि त्यतिबेलाका माओवादी नेता बाबुराम भट्टराई पनि प्रधानमन्त्री भए । उनले पनि सडक चौडा पार्नेबाहेक कुनै उल्लेख काम गर्न सकेनन् । उल्टै भारतसँग विवादित बिप्पा सम्झौता गरेर माओवादी भारतपरस्त भएको उजागर गरिदिए । त्यसपछि पटकपटक माओवादी सरकारमा सहभागी भएको छ । कहिले कुनै प्रधानमन्त्री हटाउँन अन्तिम आन्दोलन भनेर सडकमा रमिता गर्छ, कहिले सरकारमा जानकै लागि राष्ट्रिय हीतमाथि सौदाबाजी गर्छ भनेर नागरिक निराश बन्दै गए । बाबुरामले त पहिलो संविधानसभालाई कर्मचारीको जिम्मा लगाएर मैदानबाट पन्छिए । 

सरकारमा सहभागी नभएको झोकमा दाहालले कहिले ‘मधेशसँग लभ परेको’ भन्दै मधेशी दललाई उचाल्दै हिँडे । जहाँ जुन जातको बाहुल्य छ, त्यहाँ उसैको राज्य हुनुपर्छ भने साम्प्रदायिक सद्भाव खल्बल्याउँने खेलमा दाहाल निरन्तर सकृय रहे । नागरिकस्तरबाट छोटो अवधिमै ‘लाइपाते नेता’को संज्ञा पाएका दाहालले दोस्रो संविधानसभाको निर्बाचपछि आफूलाई खास साइजमा पाए । केही अन्धभक्त कार्यकर्तालाई फकाउँन निर्बाचनमा धाँधली भएको भनेर पत्रकार सम्मेलन गरे । अन्नतः पहिलो ठूलो दलबाट तेस्रो दलमा आफूलाई स्विकारेर राजनीति गरिरहे । 

संविधानसभाबाट संविधान जारी भयो । गणतन्त्र संस्थागत भयो । मुलुकमा संविधान कार्यान्यन गरेर संघीयतालाई पनि संस्थागत गर्न लागिपर्नु पर्ने दाहाल आफ्नै पार्टी सहभागी सरकारलाई ढालेर कुनै बेलाको ‘चरम दुश्मन पार्टी’ नेपाली कांग्रेससँग मिलेर सरकार बनाउँने खेलमा छन् । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, सरकार सबै कम्युनिष्टको भएको बेला कांग्रेससँग साँठगाँठ गरेर सरकार ढलाउँनु देश, माओवादी र दाहालका लागि घातक हुने कुरा दाहाल स्वयमलाई थाहा छ । तर, प्रधानमन्त्रीको ललिपप र छिमेकीको चाहनामा दाहाल गणतन्त्र नेपालमा दोस्रो पटक प्रधानमन्त्री हँदैछन् । तर, उनलाई ओली नेतृत्वको सरकार ढलाउँनुको औचित्य पुष्टि गर्न निक्कै कठिन हुनेछ ।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षलाई आफ्नो पेवा राजनीतिक मुद्दा बनाएको माओवादीलाई आज संघीयता र धर्मनिरपेक्षता घाँडो भइसकेको बुझ्न कठिन छैन । यद्यपि, उसले आफ्नो राजनीतिक पाइनलाई जिउँदो राख्न तत्काल यो मुद्दा छाड्ने छैन । 

राजनीतिक मुद्दाभन्दा पनि देशमा आमूल परिवर्तनका लागि भन्दै युद्ध लडेका लडाकूको आँशुले दाहाललाई सबैभन्दा धेरै पोल्नेछ । युद्धमा योग्य भएर अहिले अयोग्य भएका धेरै पूर्वलडाकूहरुले धमाधम आत्महत्या गरिरहेका छन् । लेलिन विष्टहरु संगठीत भएर दाहालसँग जवाफ मागिरहेका छन् । अब कसरी चित्त बुझाउँलान् दाहालले ‘अयोग्य लडाकू’हरुको ।

अहिले पनि दाहालका केही अन्धभक्तहरु दाहालको गुणगान गाएर वसेका छन् । द्वन्द्वमा सबथोक गुमाएर बाँचेकाहरुले अब कसरी चित्त बुझाउँनु ? दाहाल वा अरु नेता तथा मन्त्रीहरु धनी भएको दृश्यले उनीको मन बुझ्ला ? 

यसरी कुनै बेलाको धारिलो पाईँन खिँइदै-खिँइदै भुत्ते भएको प्रचण्डीय धारले अब केहीको सिकार गर्न नसक्ने भएको छ । झन्पछि झन् कमजोर बन्दै गएका दाहालले दीपेन्द्र रोकायले भनेजस्तो : भिक्षु भए भने, वा आत्महत्या गरे भने ! यो कल्पनाले मलाई दाहालको खुब दया लाग्छ । विचरा पुष्पकमल !
Loading...