Loading...
काठमाडौं, मङ्सिर २५ । जब माओवादी युद्धले उत्कर्षको यात्रा तय गर्न थाल्यो, तब समाजमा प्रश्न उब्जियो, ‘कसले हाँकिरहेको छ यो युद्ध ?’ छोटो समयमै यसको उत्तर ‘भाइरल’ भयो– प्रचण्ड । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत थिए । प्रचण्ड भन्ने व्यक्ति नै पुष्पकमल दाहाल पनि हुन् भन्ने कमैलाई थाहा थियो । त्यसैले, प्रचण्ड नाममाथि अनेक ‘मिथ’ बने । हल्लाहरू चले, यो काल्पनिक नाम हो, यस्तो नाम भएको मान्छे नै छैन, यो त दरबारभित्रकै मान्छे हो ।
एउटा लामो यात्राको गोरेटो बुनेको माओवादीका लागि यस्ता हल्ला चुनौती थिए । त्यसैले, यो ‘भ्रम’ चिर्न पनि तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय समितिले प्रचण्डको फोटो सार्वजनिक गर्ने निर्णय गर्यो । निर्णयअनुसार जनादेश साप्ताहिकमार्फत ०५५ फागुन १ गते (तेस्रो जनयुद्ध दिवस)को अवसरमा विस्तृत अन्तर्वार्तासहित प्रचण्डको तस्बिर सार्वजनिक भयो ।
तथापि, एक दशकअघि निर्णायक शान्तिप्रक्रिया सुरु भएर भूमिगत जीवनबाट सार्वजनिक हुादासम्म प्रचण्डको तस्बिर दुर्लभ नै थियो । ०६३ साल असार २ गते बालुवाटारमा सरकारसाग वार्ता गरी सार्वजनिक भएपछि प्रचण्डको फोटो फेरि ‘भाइरल’ भयो ।
दुई दशकयता नेपाली राजनीतिको केन्द्रमा रहेका प्रचण्ड नेपाली नेतामा सबैभन्दा ‘फोटोजेनिक’ नेतामध्ये पनि एक हुन् । प्रचण्डको पहिलोपटक सार्वजनिक गरिएको फोटो र यससाग सम्बन्धित अनुभूतिबारे उनले नयाँ पत्रिकाका दीपक सापकोटासँग गरेकाे कुराकानीकाे साभार :
श्रीमतीले छानेकी थिइन् पहिलो तस्बिर
जनयुद्ध सुरु हुँदा मेरो फोटो खासै बाहिर आएको थिएन । अझ मानिसमा त प्रचण्ड नै छैनन् भन्ने भ्रम नै थियो । ०५४ मा सम्पन्न पार्टीको चौथो विस्तारित बैठकमा नेतृत्व केन्द्रीकरण स्थापित गर्नेबारे ठूलै बहस भयो । केही साथीले यसको विरोध पनि गर्नुभयो । तथापि, अन्तत: सचेत रूपमा नेतृत्व केन्द्रीकरण गरेर जानुपर्छ भन्ने निर्णय भयो । त्यसपछि नेतृत्व स्थापित गर्ने विभिन्न विधिमध्ये नेतृत्वको फोटो सार्वजनिक गरेर जनतामा स्थापित गर्ने पनि एक हो भन्ने भयो ।
त्यसवेला माओवादी जनयुद्धको नेतृत्व गरिरहेको प्रचण्ड भन्ने मान्छे नै छैन भन्ने प्रचारबाजी पनि थियो । जनयुद्धको आलोचना गर्नेहरू को हो, को हो प्रचण्ड, यो नक्कली नाम हो पनि भन्थे । ती सबैलाई पनि क्रस गर्नुपर्छ, प्रचण्ड भन्ने मान्छे छ, उसले जनयुद्धको नेतृत्व गरिरहेको छ र त्यो मान्छे यही हो भन्ने प्रस्ट पार्नुपर्छ भन्ने निर्णयअनुसार यो फोटो सार्वजनिक गरिएको हो ।
त्यसरी सार्वजनिक गरिएको तस्बिर जनयुद्धको अन्तिम तयारी भइरहेका वेला लिइएको थियो । त्यसवेला म ललितपुरको कुम्भेश्वरबाट कलंकी डेरा सरेको थिएँ । कलंकी डेरा सरेपछि ०५२ पुसमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्य मलाई भेट्न आउनुभएको थियो । म र कर्माचार्य एउटा फोटो स्टुडियोमा गएर खिचेको फोटो हो यो । पछि सार्वजनिक गर्दा त्यही फोटोबाट मेरो मात्र निकालेर सार्वजनिक गरियो ।
यही फोटो छान्नुमा चाहिँ, त्यसवेला मैले दाह्री पालेको थिएँ । त्यसैले दाह्री काटेको सफाचट र युवाजस्तो फोटो सार्वजनिक गर्दा म चिनिन्न, सुरक्षाका हिसाबले खतरा हुँदैन भनेर हो । तस्बिर हेरेर मलाई नचिनून् भन्ने हिसाबले यो फोटो छानिएको हो । त्यसवेला म कहिले दाह्रीजुँगा पाल्थेँ, कहिले जुँगा मात्र । जनयुद्धको अवधिमा म कहिले भने दाह्रीजुँगा नै फालेर सफाचट गर्थेँ ।
त्यसैगरी पहिलोचोटि सार्वजनिक गरेको फोटोले जनतालाई आकर्षित गरोस् भन्ने पनि सोच थियो । त्यसवेला उपलब्धमध्येमा यो अलिक आकर्षक थियो । यही फोटो नै सार्वजनिक गरौँ भन्ने श्रीमतीको बढी जोड थियो । पार्टीको निर्णयअनुसार ०५५ फागुन १ गते मेरो फोटो आधिकारिक रूपमा सार्वजनिक गरिएको थियो ।
आधिकारिक रूपमा पार्टीले नै फोटो सार्वजनिक गर्नुअघि एउटा तस्बिर आएको थियो । कुनै साप्ताहिक पत्रिकामा आएजस्तो लाग्छ । त्योचाहिँ मैले नागरिकता लिन टोपी लगाएर खिचेको फोटो थियो, जुन त्यति प्रस्ट थिएन ।
आधिकारिक रूपमा तस्बिर सार्वजनिक भएपछि सुरक्षामा केही फरक पर्छ कि भन्ने आशंका त भयो । तर, हामी पूर्णत: भूमिगत भएको र तस्बिर खिचेको वेलाभन्दा फरक भइसकेकाले चिनिहाल्न सजिलो थिएन । मान्छे पनि देखेको र पछि तस्बिर देखेको भए चिन्न सजिलो हुन्छ । तर, एकपटक पनि नदेखेको मानिसलाई फोटोकै आधारमा चिन्न अलि गाह्रो पनि हुन्छ । तथापि, फोटो नै सार्वजनिक भएपछि केही अनौठो महसुस त भयो नै ।
कहिलेकाहीँ अत्यास लाग्छ
फोटो बढी खिचाउने, प्रचारमा बढी आउने कहिल्यै मेरो रुचि भएन । मैले झन्डै २४–२५ वर्षजस्तो भूमिगत जीवन बिताएँ । त्यसले गर्दा सार्वजनिक कार्यक्रममा सहभागी हुने, पत्रपत्रिकामा अन्तर्वार्ता दिने वा फोटो छापिने अवस्था रहेन । मेरो स्वभावकै कुरा गर्दा पनि आफ्नो राजनीतिक लाइनचाहिँ गइरहोस्, तर व्यक्तिगत प्रचारबाजी नहोस् भन्ने थियो, र छ ।
०६३ मा शान्तिप्रक्रियामा आइसकेपछि आवश्यकताले पनि सञ्चारमाध्यममा जानुपर्ने भइहाल्यो । २५औँ वर्ष भूमिगत जीवन बिताएर ‘बाहिर’ आएको नेताप्रति आम मानिसको जिज्ञासा हुनु पनि स्वाभाविक हो । ०६४ को पहिलो संविधानसभाबाट नेकपा (माओवादी) पहिलो शक्ति भएपछि स्वत: राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा केन्द्रबिन्दुमा भइयो । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएपछि सञ्चारमाध्यमदेखि सर्वसाधारणसम्म आकर्षणको केन्द्रजस्तो हुन पुगियो ।
यसबीचमा मेराबारे यति धेरै प्रचार भयो कि यता पनि छ, उता पनि छ, कति सकारात्मक छ, कति नकारात्मक छ । कति त उल्टोपाल्टो नै छ । नकारात्मकको पनि खण्डन गरिसाध्य छैन, जतासुकै छ । यस्तो जीवन एकातिरबाट हेर्दा त गर्वलाग्दो पनि छ, किनकि एउटा सामान्य गरिब किसानको परिवारमा जन्मेर मिहिनेतबाट यो ठाउँसम्म आइपुग्नु, राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिमा चर्चा हुने अवस्था सामान्य होइन । कहिलेकाहीँ हैरान पनि भइन्छ, केमा फसियो भनेजस्तो । यति धेरै चर्चा, परिचर्चा हुँदा कहिलेकाहीँ अत्यास लाग्छ ।
सबैले भनेपछि “फोटोजेनिक” छुजस्तो लाग्छ
अनौपचारिक भेटघाटमा धेरैले ‘तपाईं त साह्रैफोटोजेनिक हुनुहुन्छ’ भन्छन् । सञ्चारमाध्यममा पनि विभिन्न व्यक्तिको त्यस्तै प्रतिक्रिया आउँछ । त्यसैले मलाई पनि म फोटोजेनिक नै रहेछुजस्तो लाग्छ । भेटघाट हुँदा नेता–साथीहरूले पनि त्यस्तै भन्नुहुन्छ । सबैभन्दा बढीचाहिँ कांग्रेस नेता शेरबहादुर देउवाजीले भन्नुहुन्छ । देउवाजी त ‘पत्रिका हेर्नेबित्तिकै तपाईंको फोटो कस्तो लोभलाग्दो देखिन्छ भने तपाईंजस्तो फोटोजेनिक मान्छे मैले अहिलेसम्म देखेकै छैन’सम्म भन्नुहुन्छ ।
उसो त मलाई फोटो खिच्ने उस्तो धेरै रहर हुँदैन, पहिले पनि हुँदैनथ्यो । परिवारका सदस्य तथा साथीहरूले खिचौँ भन्दाचाहिँ म सहज तयार नै हुन्छु । त्यस्तै विभिन्न कार्यक्रममा जाँदा अरू साथी, कार्यकर्ता वा जनता मसँग फोटो खिचाउन चाहनुहुन्छ । म सहजै तयार हुन्छु । नेतृत्वसँग बसेर फोटो खिच्न चाहनु स्वाभाविक पनि हो । तर, पहिले पनि म आफैँचाहिँ प्राय: फोटो खिचौँ भनेर अघि सर्दिनथेँ, अहिले पनि त्यो बानीमा खास परिवर्तन भएको छैन । तर, कुनै विशेष अवसर वा विदेश जाँदाका क्षणको ‘रेकर्ड’ रहोस् भन्नका लागिचाहिँ खिचौँ भन्छु । त्यस्तै, मलाई क्यामेरा बोकेर आफैँ फोटो खिच्ने पनि त्यस्तो इच्छा भएन, हुन्न ।
स्विट्जरल्यान्डमा ठम्याइन् विदेशीले
०६४ मा म स्विट्जरल्यान्ड गएको थिएँ । त्यो मेरो भारतबाहेकको पहिलो विदेश भ्रमण पनि थियो । हामी दिनभरिको कार्यक्रमले थकित र भोकाएका थियौँ । त्यसैले होटेलमा फर्केपछि कांग्रेसका नेता शेखर कोइराला र म खाजा खान निस्कियौँ । शेखरजीलाई हामी बसेको सहरबारे धेरै थाहा रहेछ । उहाँले एउटा रेस्टुरेन्टमा लिएर जानुभयो । माथिदेखि दुई–तीन तलामुनिसम्म अन्डरग्राउन्ड थियो, त्यो रेस्टुरेन्ट । हामी तीन तलामुनि गयौँ र गफगाफ गर्न सजिलो होस् भनेर कुनामा रहेको टेबल लियौँ । एकछिन कुराकानी गरेर खानेकुरा निश्चित गरेपछि शेखरजी अर्डर गर्न ‘काउन्टर’ जानुभयो । मचाहिँ त्यहीँ बसिरहेँ । हामीले उक्त टेबल ‘रिजर्भ’ गरेर बसेदेखि एउटी विदेशी महिला मलाई हेरिरहेकी थिइन् । यी महिला मलाई किन हेरिरहेकी छिन् भन्ने लागिरहेको थियो ।
एकछिनपछि त ती महिला उठेर हामीतिरै आइन् र सोधिन्, ‘तपाईं प्रचण्ड हैन र ?’ मैले ‘तपाईंले कसरी चिन्नुभयो’ भनेर सोधेँ । उनले ‘तपाईंको फोटो धेरै ठाउँमा देखेकी छु । नेपाल जाँदा पनि धेरै पत्रपत्रिकामा तपाईंको फोटो देख्ने गर्छु । यसो हेर्दा तपाईं प्रचण्ड नै होजस्तो लाग्यो, त्यही भएर सोधेको’ भनिन् ।
तस्विर नयाँ पत्रिका
Loading...
Social Buttons