Loading...
काबुल, ७ मंसिर-अफगानिस्तानमा त्यहाँको सुरक्षाबलले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध जारी राखेको ताजा कारबाहीमा परी ५८ जना तालिवानको मृत्यु भएको छ ।
गत २४ घण्टाभित्र जारी कारबाहीको क्रममा ती आतङ्ककारी मारिएको अफगानिस्तानको गृह मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।
अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ) ले अफगानिस्तानमा नान्गाहार, कुन्दुज, नुरिस्तान , फर्याब, जावजान, बल्ख, कान्दाहार पाक्टिका, बाद्घिस र हेलमान्ड प्रान्त गरेको कारबाहीमा ५८ तालिनवानको मृत्यु हुनुको साथै १० जना घाइते भएका छन् ।
साथै सो कारबाहीमा परी अरु कैयौँ नागरिक पक्राउ परेको पनि गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई मिलेको यो ठूलो सफलता भएको पनि अधिकारीहरूले जनाएका छन् ।
अफगानिस्तानमा गत जनवरीदेखि नेटोसँग आवद्ध प्राय सैनिक फर्किसकेका र बाँकी रहेका सैनिकले पनि तालिवानसँग युद्धभूमिमा गएर युद्ध नगर्ने निर्णय गरेका छन् ।
सोही कारण पनि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ । तर पछिल्लो समयमा अफगानिस्तानको सरकारले यो कारबाहीका लागि त्यहाँको प्रहरीलाई अघि सार्न थालेको छ ।
पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरूलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।
उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेको समाचारमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा
Loading...
Social Buttons