Loading...
जाजरकोट । गृहमन्त्री शक्तिबहादुर बस्नेतले बल प्रयोग गरेरै भएपनि मधेश आन्दोलनबाट उत्पन्न समस्याको समाधान गर्ने बताएका छन् । राजनीति र कुटनीतिक पहलबाट असहज परिस्थितिको समाधान नभए विद्यमान कानुनको प्रयोग गरी समाधान खोजिने उनको भनाई थियो ।
वार्ताबाट समस्याको समाधान गर्न सरकार लचिलो रहेको जानकारी दिदै मन्त्री बस्नेतले सो संभव नभए कानुनको प्रयोग गरेर भएपनि छिट्टै समस्याको समाधान खोजिने चेतावनी दिए ।
गृहजिल्ला जाजरकोटमा आयोजित स्वागत कार्यक्रममा मन्त्री बस्नेतले मधेश आन्दोलन देश तथा जनताको लागि नभई सत्ता र कुर्सिका लागिमात्र भएको आरोप लगाए । जसका लागि नेपाली जनताले बलिदानी गर्न नसक्ने उनको भनाई थियो । ‘मधेश आन्दोलनको नाममा नेपाली जनताले स्वाभीमान तथा पहिचान गुमाउन चाहदैनन्’, उनले भने, ‘देशको स्वाभीमान र स्वाधीनताको खिलापमा बार्ता हुँदैन ।’
भारत तर्फ लक्षित गर्दै उहाँले ऐतिहासिक संविधानमा कसका माग कति सम्बोधन भए भन्दा पनि संविधान बनेको गुनासो बढी रहेको बताउँदै संसारकै उत्कृष्ट संविधानमा सबै पक्षका माग समेटिएको दावी गरे ।
यद्यपी बिभिन्न क्षेत्र तथा वर्गका गुनासो संविधानबाटै सम्बोधन हुने उनको भनाई छ । मन्त्री बस्नेतले भने,‘यो समय भनेको आन्दोलन र विद्रोहको होइन् । आर्थिक सम्बृद्धि तथा सुशासनको हो, गृह प्रशासन संविधानको रक्षा, कार्यान्यवन र सुशासनका लागि प्रतिबद्ध छ ।’
खलंगामा सञ्चारकर्मीसँग मन्त्री बस्नेतले हाल मौलाएको कालाबजारी नियन्त्रण गर्न देशब्यापी संयन्त्र परिचालन गरिएको जानकारी दिदै देशको आपुर्ति ब्यबस्था सहज बनाउन आपुर्तिकर्तालाई छुट दिएकाले कालोबजारी मौलाएको आरोप लगाए ।
Loading...
Social Buttons