Latest News

कुनै पनि पोशाक सामन्ती वा सर्वहारा हुँदैन: राम कार्की



नयाँ सरकारको गठनका क्रममा दौरा सुरूवाल लगाएर सपथ लिने एक मात्र माओवादी मन्त्री बनेका राम कार्कीले कुनै पनि पहिरनलाई सामन्ती वा सर्वहारा भनेर वर्गीकरण गर्नू गलत हुने बताएका छन्।

माओवादीका तर्फबाट दौरा सुरूवाल लगाएर सपथ लिने एक मात्र मन्त्री भएपछि उनको सामाजिक सञ्जालमा चर्चा भएको छ।

‘नेपालको ठूलो भू-भागमा बस्ने जनसंख्याले दौरा सुरूवाल लगाउँछ। दौरा शुरुवाल नेपालको विशिष्ट पोशाक हो,’ सेतोपाटीसँग कुरा गर्दै कार्कीले भने, ‘त्यसैकारण मैले दौरा सुरूवाल लगाएर सपथ लिएको हुँ। कुनै पनि पोशाक सामन्ती वा सर्वहारा हुँदैन।’

विशिष्ट भएकै कारण अन्य विदेशी फोरममा जाँदा पनि आफूले दौरा सुरूवाल लागाउने गरेको कार्कीले बताए। ‘अझ म नेपालमै बनेको खाँडी, अल्लो र पाल्पाली ढाका टोपी लगाएर विशेष मानिएका कार्यक्रममा उपस्थित हुनेगरेको छु। मन्त्री पदको सपथ ग्रहणमा जाँदा मात्र होइन, यस्ता विशिष्ट कार्यक्रममा दौरा सुरूवालमा म सहज महसुस गर्छु।’

तर माओवादी पार्टीका नेताहरूले दौरा सुरूवाल नलगाई सपथ खाने चलन सुरू भएको छ नि भन्ने सेतोपाटीको प्रश्नमा कार्कीले भने, ‘पार्टीले कुनै निश्चित पोशाक तोकेको छैन। जसलाई जे सहज हुन्छ उसले त्यस्तै पोशाक लागाएर सपथ लिनसक्छ। कतिपयले धोती कुर्ता लगाएर जानुहोला र कतिपयले अन्य पोशाक लगाएर जानुहोला। म भने दौरा सुरूवाल लगाएर गएँ।’

उनका अनुसार नेपालमा नेवारी र मैथली खानेकुरा विशिष्ट छन्, त्यस्तै यहाँको दौरा सुरूवाल विशिष्ट किसिमको छ। ‘त्यसैका आधारमा मैले दौरा सुरूवाल लगाएको हुँ, त्यो मेरो धारणा हो। कसैले पोशाकलाई सामन्ती वा सर्वहारा भन्छ भने त्यो गलत हो।’
Loading...