Loading...
केशव भण्डारी (इमेज)
बुटवल, साउन २८ । बुटवल उपमहानगरपालिका–१३ कालिकानगरमा एक महिलाको रहस्यमय तरिकाले हत्या भएको छ ।
भाडामा बस्दै आएकी कमला न्यौपानेको विहीबार राति आफ्नै कोठामा हत्या भएको हो ।
हत्यापछि कोठामा रहेका लाखौं मूल्य बराबरका गरगहना र रकम पनि लुटिएको बताइएको छ ।
उनको शव घाँटीमा बिजुलीको तार कसेको अवस्थामा बक्स पलङभित्र भेटिएको र टाउकोमा चोटसमेत रहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।
उनका श्रीमान् नित्यानन्द न्यौपाने बुटवलमा जुत्ता पसल सन्चालन गर्दै आएका छन् । श्रीमान् कामको सिलसिलामा काठमाडौं गएको र दुई सन्तान पनि काठमाडौंमै रहेको समयमा घटना भएको हो ।
सोही घरमा डेरा बस्ने अरु व्यक्तिहरुकाअनुसार मृतक कमलाको कोठाको बाहिरबाट चुकुल लगाएको तर उत्तरपट्टिको झ्याल भने खुलै रहेको थियो ।
कमलाले विगत केही वर्षदेखि बुटवलमा ‘ढुकुटी’ खेलाउँदै आएकाले लेनदेनसम्बन्धी रिसइबीमा चिनेजानेकै व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
Loading...
Social Buttons