Loading...
काठमाण्डौं, १ साउन । सबैलाई लाग्न सक्छ, केपी ओली नेतृत्वको सरकारलाई अविश्वास प्रस्ताव दर्ता गराएसँगै पद गुम्ने भएपछि एमालेका मात्र होइन, अरु पार्टीका मन्त्रीसमेत माओवादी केन्द्र र त्यसमा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुष्ट भएका छन् ।
। तर ओली सरकारमा रहेका केही मन्त्री झण्डा फहराएर अहिले पनि प्रचण्ड निवास लाजिम्पाट जाने गरेका छन् । त्यसरी लाजिम्पाट मोह देखाउनेमा ओलीका उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदार र खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंह छन् ।
गच्छदारले बिहीबार र सिंहले शुक्रबार साँझ प्रचण्डलाई लाजिम्पाटमा भेटे । गच्छदारले प्रचण्ड समक्ष आफ्नो पार्टी फोरम लोकतान्त्रिक माओवादी–काँग्रेस गठबन्धनमा सामेल हुने र नयाँ बन्ने सरकारमा समेत सहभागी हुने बचन सम्म दिएका छन् । सिंहले भने ओलीको भावी योजनाबारे प्रचण्डलाई बेलिविस्तार लगाए । केही दिनअघि बसेको सत्तारुढ दलको बैठले सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी कदमलाई दुर्भाग्यपूर्ण र बाह्य शक्तिबाट निर्देशित भनेको थियो । उक्त निर्णय गर्दा सिंह र गच्छदार समेत बैठकमा थिए ।
गच्छदार सत्तारुढ फोरम लोकतान्त्रिक र सिंह समाजवादी जनता पार्टीका अध्यक्ष हुन् । बाहिर ओलीलाई समर्थन गरेको जस्तो देखिए पनि उनीहरुको भित्री सहयोग प्रचण्डलाई छ । सिंहले केपी ओली सत्ता छाड्ने मनसाय नरहेको रिपोर्ट प्रचण्डलाई दिएका छन् ।
लाजिम्पाट उच्च स्रोतका अनुसार मन्त्री सिंहले आफूविरुद्ध संसदबाट अविश्वास प्रस्ताव पारित भएपछि पनि ओली सरकारमै टाँसिरहने योजनामा ओली रहेको प्रचण्डलाई सुनाएका छन् । ‘संसदमा बहुमत गुमेपछि सुरुक्क राजीनामा दिनुपर्नेमा अझै सत्तामा टिकिरहने मनसाय प्रधानमन्त्रीको छ’, सिंहको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अविश्वास प्रस्ताव पारित भएपछि पनि छाड्ने सुरसार छैन ।’
सिंहले अविश्वास प्रस्ताव पारित भएकै दिन वा भोलिपल्ट एमाले निकट कानून व्यवसायीमार्फत नयाँ सरकार गठनको संवैधानिक व्यवस्था नरहेको जिकिरसहित अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने तयारी ओलीको रहेको जानकारी प्रचण्डलाई गराए ।
अविश्वास प्रस्तावपछि संवैधानिक र कानूनी बाटोबाट अघि बढ्ने निर्णय गरेको एमाले र प्रधानमन्त्री ओलीले संविधानमा नयाँ सरकार गठनको संवैधानिक व्यवस्था नरहेको जिकिर गरेका छन् । संविधानमा भएको अस्पष्ट व्यवस्थाको अपब्याख्या गरेर ओलीले अल्पमतमा परिसकेको सरकारको आयु लम्ब्याउन खोजेका छन् ।
प्रचण्डले सूचना र जानकारीका लागि धन्यवाद दिँदै ओली र उनको टिमको आगामी रणनीतिबारे थप सूचना दिन सिंहलाई भनेका थिए । सिंह प्रचण्ड नेतृत्वको तत्कालिन संघीय गठबन्धनको प्रवक्ता थिए ।
Loading...
Social Buttons