Loading...
काठमाडौं, १४ साउन– नयाँ सन्दर्भमा नेपालको परराष्ट्र नीतिका विषयमा दलका नेता र सम्बन्धित क्षेत्रका विज्ञहरु सम्मिलित कार्यक्रममा माओवादी नेताले भारतले नेपालमा माइक्रो म्यानेजमेन्ट गरी हस्तक्षेप गरेको वताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित मदन भण्डारी फाउण्डेशनले शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने– ‘आफ्नो देशको पक्षमा स्ट्याण्ड लिनु भारतको विरोध होइन । अव नीनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको प्रयास जारी राख्नु पर्छ र ओलीले थालेका कामलाई निरन्तरता दिनु पर्छ । नत्र हाम्रो विदेश नीति सन्तुलित पनि हुँदैन, देशको विकास पनि हुँदैन ।’
आफ्नो पक्षमा स्ट्याण्ड लिनु भारत विरोधी होइनः नारायणकाजी
उनले नेपालको सार्वभौमसत्ताको पक्षमा बोल्दा त्यसलाई भारत विरोध नठान्न आग्रह गरे । ‘हाम्रो देशको सार्वभौमसत्ताको पक्षमा गरिएको कामलाई भारत विरोधी भनेर अर्थ लगाउनु हुँदैन’ माओवादी नेता श्रेष्ठले भने, ‘नेपाल र भारतबीचको सम्बन्धमा समस्या आउनुको मुख्य कारण नेपालमा उसले गर्ने माइक्रो म्यानेजमेन्ट हो ।’
नेपालको आत्मनिर्भर विकासका लागि ओली नेतृत्वको सरकारले नयाँ थिति बसालेको श्रेष्ठको भनाई थियो । उनले नेपालका राजनीतिक शक्तिहरु मिलेर संविधान जारी गर्दा र ओली नेतृत्वको सरकार गठन गर्दा पनि भारतले अवरोध गरेको वताए । ‘नेपालमा संविधानसभाले संविधान बनाउँदा त्यसलाई रोक्न भारतले प्रयास गरेकै हो, केपी ओलीको सरकार गठन गर्न बाधा गरेकै हो, संविधान जारी गरेवापत नाकाबन्दी गरेकै हो, आत्मनिर्भरताका लागि चीनसँग गरेका सम्झौता अघि बढ्न नदिने प्रयास गरेकै हो’ माओवादी नेता श्रेष्ठले भने, ‘त्यसलाई चिरेर यो सरकारले सफलता पाएकै हो । अव पनि त्यसलाई कार्यान्वयन गर्न नदिने काम हुन्छ भने प्रतिवाद गर्नु आवश्यक छ ।’
ओलीका कामले निरन्तरता नपाए जनता दुःखीः सुजाता
आफ्नो पेटी इन्ट्रेष्टका लागि भारतको हस्तक्षेप आमन्त्रण गर्ने नेपालका राजनीतिक नेताहरुको पनि श्रेष्ठले आलोचना गरे । ‘आफ्नो पेटी इन्ट्रेष्ट पूरा गर्न हस्तक्षेत्र निम्त्याउनेहरुले देशको सार्वभौमसत्ताको पक्षमा बोल्नुलाई पनि भारतको विरोध भनेर परिभाषा दिने गरेका छन्’ देशभक्तिलाई सामन्ती राष्ट्रवादको उपमा दिने आफ्नै पार्टी अध्यक्ष प्रचण्डको भनाईतिर लक्षित गर्दै श्रेष्ठले भने ।
नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुन सुक्ष्म ब्यवस्थापन रोकिनु पर्ने, असमान सन्धी सम्झौताहरु फेरिनु पर्ने, सीमा समस्या समाधान गरिनु पर्ने र आर्थिक रुपले दुई देशको हित अनुरुप अघि बढ्नु पर्ने श्रेष्ठले वताए । माओवादी नेता श्रेष्ठले ओलीले गरेका कामलाई निरन्तरता दिन खबरदारी गर्नु पर्ने पनि वताए ।
कार्यक्रममा बोल्दै कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालाले भारतले सन् १९५० ताकाको नेपाल हेर्ने नीति सच्याउनु पर्ने वताइन् । ‘नेपालले मात्रै पोलिसी चेन्ज गरेर नेपाल भारत सम्बन्ध राम्रो हुँदैन, छिमेकी देशले पनि २१ औं शताब्दी अनुरुपको पोलिसी ल्याउनु पर्यो, मै खान्छु भन्ने सोच राखे पराजित हुन्छ’ कोइरालाले भनिन्, ‘मोदी आएर पनि उसको नीति सफल भएन, सम्बन्ध सफल बनाउने भए १९५० ताकाको नीतिका आधारमा होइन, आधुनिक समयका आधारमा चेन्ज भएर आउनु पर्यो ।’
कांग्रेस नेतृ कोइरालाले देश ठूलो सानो हुँदैमा सार्वभौमसत्ता सानो ठूलो नहुने र आफ्नो देशमा आत्मनिर्भर विकासका लागि नयाँ कदम चाल्न ओलीको सरकार मानक भएको वताइन् । ‘गिरिजाबाबुको काम गर्ने स्टाइल अर्कै थियो, बीपीको अर्कै थियो, केपी ओलीजीको स्टेट रुपमा काम गर्ने शैलि छ’ कोइरालाले भनिन्, ‘देश सानो ठूलो हुन्छ तर, सार्वभौमसत्ता सानो ठूलो हुँदैन भन्ने छिमेकीहरुसँगको सम्बन्धमा ओलीजीले सफलता हासिल गर्नु भयो, यसमा त उहाँ बधाईको पात्र हुनुहुन्छ ।’
कांग्रेस नेतृ कोइरालाले चीनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण गराएर नेपालको आत्मनिर्भर आर्थिक विकासका लागि सुरु भएको कामलाई निरन्तरता दिनु पर्ने वताइन् । ‘अव यहाँ यो पार्टी त्यो पार्टीको कुरा होइन, ओलीले थालेका कामले निरन्तरता पाएन भने जनता दुखी हुन्छ’ कोइरालाले भनिन्, ‘चीनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउनु पर्छ, अव देश आधुनिक नभएर विकास नभएर चल्दैन, एकतिर भर परेर मात्रै बस्न सकिंदैन, सबै ढोका खोल्नु पर्छ ।’
छिमेक नीतिमा ओली सरकारको नौ महिना ठूलो उपलब्धीः जितेन्द्र देव
कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता तथा पूर्व परराष्ट्रमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सुरक्षा र विदेश मामिलामा सबै पार्टीहरुले लिखित रुपमा समान दस्तावेज बनाउनु पर्ने वताए । नेपाल आफ्ना कुनै पनि छिमेकी देशको अहित नचिताउने वताउँदै नेपालले नेपालको सार्वभौमसत्ताको प्रशंसा गर्दा नेपालीहरु खुसी हुने वताए । ‘हामी कुनै पनि छिमेकी देशको अहित चाहंदैनौं, तर हाम्रो सार्वभौमसत्ताको प्रशंसा गर्दा हामी खुसी हुन्छौं’ नेपालले भने, ‘एमाले कहिल्यै भारत विरोधी छैन बरु नेपालको हित अनुरुपको मानसिकता एमालेसँग छ ।’
लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देवले भने नेपालका कम्युनिस्टहरुले भारतसँगको सम्बन्धमा आफ्नो सिद्धान्त मिसाएर विस्तारवादी भनेकाले समस्या आएको वताए । सिद्धान्तमा होइन यथार्थमा आधारित सम्बन्धले मात्रै नेपाल भारत सम्बन्ध मजबुत हुने उनको भनाई थियो । तर, उनले ओली नेतृत्वको सरकारले ओली नेतृत्वको नौ महिने सरकारले नेपालको छिमेकी नीतिमा ठूलो उपलब्धी दिएको दाबी गरे । ‘नेपालको हितमा छिमेकी नीतिलाई यथार्थसँग नजिक गराएर केपी ओलीको नौ महिने सरकारले भूराजनीतिमा ठूलो उपलब्धी ल्याएको छ’ उनले भने, ‘यसलाई जोगाउनु पर्छ ।’
नयाँ सन्दर्भमा छिमेकी देश चीन र भारतसँग नेपालको सम्बन्धका विषयमा छलफल चलाउन फाउण्डेशनले यास्तो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपाल भारत सम्बन्धवारे डा युवराज संग्रौलाले कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यपत्रमाथि चीनका लागि पूर्व राजदूत महेश मास्के, पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ, पूर्व मुख्य सचिव लिलामणि पौडेल सांसद तथा प्राध्यापक लालबाबु यादव, पूर्व परराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनी र मधुरमण आचार्यले टिप्पणी गरेका छन् ।
Loading...
Social Buttons