Latest News

हिन्दु राष्ट्र र राजतन्त्रको लागि लडेको हुँ : गायक सञ्जय श्रेष्ठ

काठमाडौं, १५  साउन – कुनै बेलाका चर्चित पप गायक सञ्जय श्रेष्ठ यतिबेला प्रधानमन्त्री केपी ओलीको समर्थन गरेका कारण चर्चामा छन् । दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालको उम्मेदवार भई काठमाडौंबाट चुनावसमेत लडेका श्रेष्ठ त्यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा चौथो भएका थिए ।

आफूलाई कट्टर हिन्दुवादी र राजतन्त्रवादी मान्ने श्रेष्ठ कुनै दिन नेपालमा राजतन्त्र फर्कने दाबी गर्छन् । उनी भन्छन्, ‘नेपालीले बिस्तारै राजाको आवश्यकता महसुस गर्दैछन् । बेलायतमा पनि राजतन्त्र फालिएको थियो तर जनताले फर्काएरै छोडे ।’
गायकले किन यसरी राजनीति गरेको भन्ने प्रश्नमा उनी भन्छन्, ‘गायकले मात्र होइन सबैले राजनीति गर्नुपर्छ । बाहिर बसेर गुनासो मात्र गर्ने अधिकार कसैमा छैन ।’
उनको तर्क छ, ‘प्रत्यक्ष रूपमा राजनीति नगर्नेले राज्यले यसो गरेन, उसो गरेन भन्ने अधिकार पनि रहँदैन’ । र त उनी राजनीतिमा छन् ।
राप्रपा नेपालभित्रको नातावादका कारण आफू अहिले त्यो पार्टीभित्र नरहेको पनि उनले जानकारी गराए । उनले भने, ‘म अहिले कुनै पार्टीमा छैन तर राजतन्त्र र हिन्दु राज्यको लागि एक्लै लड्छु ।’
‘केपी ओलीको राष्ट्रवाद मन पर्छ’ 
विगतमा केपी ओलीका बारेमा आफूलाई केही थाहा नभएको र ओली सरकारमा गएपछि उनको राष्ट्रबाद आफूलाई मन परेकोले उनको खुलेरै समर्थन गरेको गायक श्रेष्ठले बताए ।
उनले भने, ‘उहाँको सपना मन प—यो, उहाँले देशको पक्षमा लिनुभएको अडान मनप—यो त्यसैले म उहाँको पक्षमा उभिएँ ।’
जननिर्वाचित प्रधानमन्त्रीहरूमा केपी ओली जतिको लोकप्रिय कोही पनि नभएको दाबी गर्दै श्रेष्ठले भने, ‘काँग्रेस र माओवादीले उनको खुट्टा ताने ।’
उनी राजनीतिक वादको हिसाबले आफू फरक भएपनि ओलीको राष्ट्रवादसँग नजिक भएकोले उनको समर्थनमा रहेको बताउँछन् । काम गर्दागर्दै ओलीलाई ढाल्न खोजेकोले झन् उनीप्रति श्रद्धा जागेको पनि श्रेष्ठले बताए ।
स्मरणीय छ, गायक श्रेष्ठले फेसबुकमा आफ्नो प्रोफाइल तस्वीरमा समेत ओलीको फोटो राखेका छन् ।
उनले आफू केही पाउनको लागि ओलीको समर्थनमा नरहेको पनि जानकारी दिए । आफूले ओलीलाई पनि भेटेर उहाँको कामको प्रशंसा गरेका बताए ।
जनमत गरेका भए अहिले ओलीको समर्थनमा अधिकांश नेपालीले भोट गर्ने दाबी गर्दै श्रेष्ठले भने, ‘उहाँ राष्ट्रिय हिरो हो ।’
‘काँग्रेस र माओवादी भारतका गोटी’
काँग्रेस र माओवादी भारतको गोटी भएको गायक श्रेष्ठले आरोप लगाए । उनले नेपालमा सरकार परिवर्तन हुँदा भारतीय राजदूतसँग होटलमा पार्टी गर्नेहरू कसरी नेपाली हुन सक्छन् भन्दै सबै ठूला नेताहरू भारतको खेलमा चलेको बताए ।
गायक सञ्जय श्रेष्ठ आगामी असोजमा नयाँ एल्बम ‘थ्यांक गड इट्स फ्राइडे’ लिएर बजारमा आउँदैछन् ।
२०५० को दशकमा एकदमै चर्चामा रहेका गायक श्रेष्ठले संगीतमै रहेपनि विगत सात वर्षदेखि एल्बम निकालेका थिएनन् । उनका ‘एउटा गाउँ थियो’, ‘माया मेरी माया’ जस्ता गीतहरू लोकप्रिय थिए कुनै बेला ।

Loading...