Latest News

यस्ता छन् युरो कप खेल्ने २४ टिम (टिमको विशेषता र खेल तालिकासहित) !!

काठमाडौं, जेठ २८ - शुक्रबार बेलुकीदेखि युरो २०१६ सुरु हुँदै छ । फ्रान्सले आयोजना गर्न लागेको यो युरोकपमा २४ टिमका सहभागिता रहने छ । सहभागि टिमलाई हरेक समूहमा ४ टिम रहने गरी ६ वटा समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका विजेता र उपविजेता नक आउट चरणमा पुग्ने छन् । तेश्रो हुने टिमबाट उत्कृष्ट ४ टिमले पनि नकआउट स्टेजमा स्थान बनाउने छन् ।
समूह ए
फ्रान्स
सन् १९८४ र २००० को युरो कप विजेता फ्रान्स यो पटकको युरोकपको आयोजक हो ।  सन् १९६० मा सुरु भएको युरोकपको पहिलो आयोजक फ्रान्सले यसअघि सन् १९८४ मा पनि युरोकपको आयोजना गरिसकेको छ । सन् १९८४ मा स्पेनलाई २–० ले हराएर घरेलु मैदानमा उपाधि उचालेको फ्रान्सले सन् २००० को फाइनलमा भने इटालीलाई २–१ ले पाखा लगाएको थियो । 
रोमानिया
पाँचौ पल्ट युरोकप खेल्न लागेको रोमानिया अहिलेसम्म क्वाटर फाइनलभन्दा अघि बढ्न सकेको छैन । सन् २००० मा क्वाटर फाइनलसम्म पुगेको रोमानियाले सन् १९८४ मा पहिलो पल्ट युरोकप खेलेको थियो । सन् १९९६ र २००८ मा पनि उसले युरोकप खेलेको छ ।
अल्बानिया 
फिफा वरियतामा ४२ औं स्थानमा रहेको अल्बानियाले पहिलो पल्ट युरोकप खेल्न लागेको हो । छनौट चरणमा खेलेका ८ मध्ये ४ खेल जितेको अल्बानिया पोर्चुगल विजेता बनेको समूहबाट उपविजेता बन्दै पहिलो पल्ट युरोकपमा छनौट भएको हो । 
स्वीट्जरल्याण्ड 
यसअघि ३ पटक युरोकप खेलिसकेको स्वीट्जरल्याण्ड समूह चरणबाट कहिल्यै पनि अघि बढ्न सकेको छैन । इंग्ल्याण्ड विजेता बनेको समूहमा उपविजेता हुँदै स्वीट्जरल्याण्डले फ्रान्सको टिकट काटेको हो । स्वीट्जरल्याण्ड फिफा वरियतामा अहिले १५ औं स्थानमा छ ।
समूह ए : खेल तालिका 
जेठ २८ फ्रान्स रोमानिया                 १२:४५ बजे राति
जेठ २९ अल्वानिया स्वीट्जरल्याण्ड   ५:४५ बजे बेलुका
असार १ रोमानिया स्वीट्जरल्याण्ड    ९:४५ बजे राति
असार १ फ्रान्स अल्वानिया              १२:४५ बजे राति
असार ५ रोमानिया अल्वानिया         १२:४५ बजे राति
असार ५ स्वीट्जरल्याण्ड फ्रान्स        १२:४५ बजे राति
समूह बी
इंग्ल्याण्ड
यसअघि नै ८ पटक युरोकप खेलिसकेको इंग्ल्याण्ड अहिलेसम्म फाइनलमा पुगेको छैन । सन् १९९६ मा आफ्नै घरेलु मैदानमा सेमिफाइनलमा पुगेको इंग्ल्याण्ड सन् १९६८ मा तेश्रो भएको थियो । उसले सन् १९६८ मा नै पहिलो पल्ट युरोकप खेलेको हो । इंग्ल्याण्ड अहिले फिफा वरियतामा ११ औं स्थानमा छ । 
वेल्स 
फिफा वरियताको २६ औं स्थानमा रहेको वेल्स पहिलो पल्ट युरोकपमा छनौट भएको हो । यो पटक बेल्जियम विजेता बनेको समूहबाट उपविजेता भएर वेल्सले फ्रान्सको टिकट पक्का गरेको हो । छनौट चरणमा खेलेका १० मध्ये ६ खेल जितेको उसले १ खेल मात्र हारेको छ ।
स्लोभाकिया
चेकगणतन्त्र र स्लोभाकियाका रुपमा टुक्रिनु अघि चेकोस्लोभाकियाले सन् १९७६ को युरोकप जितेको थियो । तर स्लोभाकिया बनेपछि भने यो उसको पहिलो युरोकप हो । स्लोभाकिया फिफा वरियतामा अहिले २४ औं स्थानमा छ । स्पेन विजेता बनेको समूहबाट उपविजेता हुँदै स्लोभाकियाले युरोपकपमा स्थान पक्का गरेको थियो । छनौट चरणमा खेलेका १० मध्ये ७ खेल जितेको स्लोभाकियाले २ खेल हारेको थियो ।
रसिया
सन् १९९६ र २००४ पछिका सबै ३ गरी अहिलेसम्म चार वटा युरोकप खेलेको छ रसियाले । तर उसले सोभियन युनियनका तर्फबाटसन् १९६० को पहिलो युरोकप जितेको थियो । त्यतिबेला यो प्रतियोगितालाई युरोपियन नेशन्स कप भनिएको थियो । राउण्ड रोबिन लिगका आधारमा भएको यो प्रतियोगितामा १७ टमले सहभागिता जनाका थिए । छनौट चरण, नक आउट स्टेज र फाइनल गरेर ३ चरणमा भएको प्रतियोगिताको फाइनल चरणको खेल फ्रान्समा भएको थियो । जहाँ सोभियन युनियनले युगोस्लाभियालाई हराउँदै उपाधि जितेको हो । 
समूह बी : खेल तालिका 
जेठ २९ वेल्स स्लोभाकिया                ९:४५ बजे राति
जेठ २९ इंगल्याण्ड रसिया                     १२:४५ बजे राति
असार १ रसिया स्लोभाकिया                 ६:४५ बजे बेलुका
असार २ इंगल्याण्ड वेल्स                     ६:४५ बजे बेलुका
असार ६ रसिया वेल्स                          १२:४५ बजे राति
असार ६ स्लोभाकिया इंगल्याण्ड          १२:४५ बजे राति
समूह सी
जर्मनी 
बाह्रौं पटक युरोकप खेल्न लागेको जर्मनी ३ पटकको विजेता हो । सबैभन्दा धेरै ११ वटा युरोकपमा सहभागिता जनाइसकेको उसले सन् १९७२, १९८० र १९९६ मा युरोकपको उपाधि जितेको थियो । सन् १९९० मा जर्मनी एकीकरण हुनुअघि पश्चिम जर्मनीका तर्फबाट उसले दुईपटक उपाधि जितेको थियो । एकीकरणपछि जर्मनीले एकपटक मात्र सन् १९९६ मा ट्रफी उचाल्यो । एकीकरण हुनुअघि सन् १९८६ मा आफैंले आयोजना गरेको युरोकपमा भने पश्चिम जर्मनी सेमिफाइनलमा नेदरल्याण्ड्ससित पराजित भएको थियो ।
युक्रेन
स्लोभानियालाई प्लेअफमा समग्रमा ३–१ ले हराउँदै युरोकपमा छनौट भएको युक्रेनको यो दोश्रो युरोकप हो । यसअघि पोल्याण्डसँग मिलेर युरोकप आयोजना गरेको उसले सन् २०१२ मा आयोजकको नाताले युरोकप खेलेको थियो । तर त्यतिबेला युक्रेन समूह चरणबाट अघि बड्न सकेन ।
पोल्याण्ड
युक्रेनसँग मिलेर आयोजना गरेको २०१२ को युरोकप खेल्नुअघि सन् २००८ मा पनि युरोकप खेलेको पोल्याण्डको यो तेश्रो सहभागिता हो । तर दुवै पटक पोल्याण्ड समूह चरणबाट अघि बढ्न सकेको छैन । फिफा वरियतामा पोल्याण्ड अहिले २७ औं स्थानमा छ ।
नर्थन आयरल्याण्ड 
फिफा वरियताको २५ औं स्थानमा रहेको नर्थन आयरल्याण्ड पहिलो पल्ट युरोकपमा छनौट भएको हो । रोमायिना, हंगेरी र ग्रिसजस्ता फुटबल हस्तीलाई पछि पार्दै नर्थन आयरल्याण्ड समूह विजेता बनेर युरोकपमा छनौट भएको हो । छनौट चरणमा खेलेका १० मध्ये ६ खेल जितेको नर्थन आयरल्याण्डले १ खेल मात्र हारेको छ । 
समूह सी : खेल तालिका 
जेठ ३० पोल्याण्ड उत्तरी आयरल्याण्ड  ९:४५ बजे राति
जेठ ३० जर्मनी युक्रेन                          १२:४५ बजे राति
असार २ युक्रेन उत्तरी आयरल्याण्ड      ९:४५ बजे राति
असार २ जर्मनी पोल्याण्ड                    १२:४५ बजे राति
असार ७ युक्रेन पोल्याण्ड                      ९:४५ बजे राति
असार ७ उत्तरी आयरल्याण्ड जर्मनी     ९:४५ बजे राति
समूह डी
स्पेन
दशौं पल्ट युरोकप खेल्न लागेको  स्पेनले यसअघि नै ३ पल्ट उपाधि जितिसकेको छ । सन्  २००८ र २०१२ मा लगातार दुईपटक च्याम्पियनसिप उपाधि जित्ने कीर्तिमान स्पेनको नाममा छ । फिफा वरियताको छैटौं स्थानमा रहेको स्पेन लगातार तेश्रोपल्ट उपाधि जितेर अर्को इतिहास रच्ने दाउमा पनि छ । उसले सन् १९६४ मा आयोजक राष्ट्रकै रूपमा सोभियत युनियनलाई फाइनलमा २–१ ले हराउँदै पहिलोपटक युरोकप जितेको थियो ।
चेक गणतन्त्र
सन् १९९३ मा चेक गणतन्त्र र स्लोभाकियाका नाममा टुक्रिनुअघि चेकोस्लोभाकियाले सन् १९७६ को युरोकप जितेको थियो । चेक गणतन्त्र बनेपछि चेक गणतन्त्रको यो छैटौं सहभागिता हो । सन् २००४ मा चेक गणतन्त्र सेमिफाइनलसम्म पुगेको थियो । चेक गणतन्त्र अहिले फिफा वरियताको २९ औं स्थानमा छ ।
टर्की 
टर्कीले चौथो पल्ट युरोकप खेल्न लागिरहेको छ । समूह चरणको उत्कृष्ट तेश्रो टिमका रुपमा युरोकपमा छनौट भएको टर्की सन् २००८ मा सेमिफाइनलसम्म पुगेको थियो । सन् १९९६ मा पहिलो पल्ट युरोकप खेलेको टर्की फिफा वरियतामा अहिले १८ औं स्थानमा छ ।
क्रोएशिया
क्रोएशिया पाँचौ पल्ट युरोकपमा छनौट भएको हो । सन् १९९६ मा पहिलो पल्ट सहभागिता जनाएको युरोकपमा क्वाटरफाइनलमा पुगेको क्रोएशिया २००८ मा पनि क्वाटरफाइनलसम्म पुगेको थियो । इटाली विजेता बनेका समूहबाट उपविजेता बन्दै युरोकपमा छानिएको क्रोएशिया अहिले फिफा वरियताको २७ औं स्थानमा छ ।
समूह डी: खेल तालिका 
जेठ ३० टर्की क्रोएसिया                       ६:४५ बजे बेलुका
जेठ ३१ स्पेन चेक गणतन्त्र                ६:४५ बजे बेलुका
असार ३ चेक गणतन्त्र क्रोएसिया        ९:४५ बजे राति
असार ३ स्पेन टर्की                             १२:४५ बजे राति
असार ७ चेक गणतन्त्र टर्की                 १२:४५ बजे राति
असार ७ क्रोएसिया स्पेन                     १२:४५ बजे राति
समूह ई
बेल्जियम
सन् १९७२ मा पहिलो पल्ट युरोकप खेलेको बेल्जियमले पाँचौ पल्ट युरोकप खेल्न लागेको हो । बेल्जियम १६ वर्षपछि युरोकपमा छनौट भएको हो । यसअघि सन् १९८० मा इटालीमा भएको युरोकपमा बेल्जियम फाइनलमा पश्चिम जर्मनीसँग पराजित भएको थियो । बेल्जियम अहिले फिफा वरियताको दोश्रो स्थानमा छ ।
इटाली 
नवौं पटक युरोकप खेल्न लागेको इटाली सन् १९६८ मा पहिलो सहभागितामा नै उपाधि जितेको छ । आफैंले आयोजना गरेको युरोकपको फाइनलमा इटालीले त्यतिबेला युगोस्लोभाकियालाई २–० ले हराएको थियो । सन् २००० मा फ्रान्ससँग र गएको संस्करणमा स्पेनसँग फाइनलमा पराजित भएको इटाली अहिले फिफा वरियतामा १२ औं स्थानमा छ ।
रिपब्लिक अफ आयरल्याण्ड 
तेश्रो पल्ट युरोकप खेल्न लागेको रिपब्लिक अफ आयरल्याण्ड अहिलेसम्म समूह चरणबाट अघि बढ्न सकेको छैन । यो पटक बोस्निया हर्ज गोभिनलाई प्ले अफमा समग्रमा ३–१ ले हराएर रिपब्लिक अफ आयरल्याण्डले फ्रान्सको टिकट पक्का गरेको हो । रिपब्लिक अफ आयरल्याण्ड फिफा वरियतामा अहिले ३१ औं स्थानमा छ ।
स्वीडेन
छैटौं पटक युरोकप खेल्न लागेको स्वीडेन सन् १९९२ मा पहिलो सहभागितामा नै सेमिफाइनलमा पुगेको थियो । प्ले अफमा डेनमार्कलाई समग्रमा ४–३ ले हराएर स्वीडेन यो पटकको युरोकपमा छनौट भएको हो । स्वीडेन अहिले फिफा वरियताको ३५ औं स्थानमा छ ।
समूह ई : खेल तालिका 
जेठ ३१ आयरल्याण्ड स्विडेन                ९:४५ बजे राति
जेठ ३१ बेल्जियम इटली                      १२:४५ बजे राति
असार ३ इटली स्विडेन                        ६:४५ बजे बेलुका
असार ४ बेल्जियम आयरल्याण्ड           ६:४५ बजे बेलुका
असार ८ इटली आयरल्याण्ड                 १२:४५ बजे राति
असार ८ स्विडेन बेल्जियम                   १२:४५ बजे राति
समूह एफ
पोर्चुगल
सातौं पल्ट युरोकप खेल्न लागेको पोर्चुगल सन् २००४ को उपविजेता हो । त्यतिबेला आफ्नै घरेलु मैदानमा ग्रिससँग १–० ले पराजित भएको पोर्चुगल गएको संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । फिफा वरियताको आठौं स्थानमा रहेको पोर्चुगल समूह विजेता बनेर युरोकपमा छनौट भएको थिो ।
आइसल्याण्ड
चेक गणतन्त्र रहेको समूहको उपविजेता बनेर आइसल्याण्ड पहिलो पल्ट युरोकपमा छनौट भएको हो । फिफा वरियताको ३५ औं स्थानमा रहेको आइसल्याण्डले छनौट चरणमा खेलेका १० मध्ये ६ खेल जितेको थियो भने २ खेल हारेको थियो ।
अष्ट्रिया
सन् २००८ मा पहिलो पल्ट युरोकप खेलेको अष्ट्रियाको यो दोश्रो सहभागिता हो । त्यतिबेला स्वीट्जरल्याण्डसँग मिलेर उसले युरोकप आयोजना गरेको थियो । तर स्वीट्जरल्याण्ड जस्तै अष्ट्रिया पनि त्यतिबेला समूह चरणबाट अघि बढ्न सकेको थिए । अष्ट्रिया अहिले फिफा वरियताको दशौं स्थानमा छ ।
हंगेरी
हंगेरी ४२ वर्षपछि युरोकपमा छनौट भएको हो । प्लेअफमा नर्वेलाई समग्रमा ३–१ ले पाखा लगाएको हंगेरीले यसअघि सन् १९६४ र १९७२ को युरोकप खेलेको थियो । फिफा वरियतामा हंगेरी अहिले २० औं स्थानमा छ । पहिलो पल्ट युरोकप खेल्दा सन् १९६४ मा हंगेरी तेश्रो भएको थियो ।
समूह एफ : खेल तालिका 
जेठ ३२ अष्ट्रिया हंगेरी                         ९:४५ बजे राति
जेठ ३२ पोर्चुगल आइसल्याण्ड               १२:४५ बजे राति
असार ४ आइसल्याण्ड हंगेरी                  ९:४५ बजे राति
असार ४ पोर्चुगल अष्ट्रिया                     १२:४५ बजे राति
असार ८ आइसल्याण्ड अष्ट्रिया              ९:४५ बजे राति
असार ८ हंगेरी पोर्चुगल                         ९:४५ बजे राति
Loading...