Latest News

काठमाडौँमा आन्दोलन गरि रहेका संघिय गठबन्धनलाई युवा संघले लखेट्ने


काठमाडौं, ४ जेठ । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले राजधानी केन्द्रीत आन्दोलन गरिरहेका मधेसवादी दललाई लखेट्ने चेतावनी दिएको छ ।
विदेशीको इशारा र संलग्नतामा जनतालाई दुःख दिनेगरी आन्दोलन गरेको भन्दै संघले यस्ता गतिविधि बढ्दै गए युवा संघ चुप लागेर बस्न नसक्ने चेतावनी दिएको हो ।

मंगलबार अपराह्न युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले एक विज्ञप्ति जारी गरी आन्दोलनमा विदेशीको संलग्नताप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

‘मधेसकेन्द्रीत दलले राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन् । लोकतन्त्रमा यो अधिकार सबैले पाउनुपर्छ । तर, सार्वजनिक गाडी तोडफोड गर्ने, आवतजावतमा बाधा पुगाउने कार्यमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा पहारीले भनेका छन्- ‘विदेशीको जून सहभागिता छ । यी सबै कुराले आन्दोलन विदेशकै इशारामा भइरहेको हाम्रो ठहर छ । नेपालीहरुको ७० वर्षको उपलब्धि संविधान समाप्त पार्ने, मुलुकमा स्थिरता पार्ने र मुलुकको अस्तित्व समाप्त पार्ने यो आन्दोलनको उदेश्य हो । यसलाई तुरुन्त रोक्नुपर्छ अन्यथा प्रतिकारमा उत्रिन बाध्य हुनेछौं ।’

उनले यसअघि आफूहरु तराई पस्दा पाँच महिने लामो मधेस आन्दोलन पानीको पोकाजस्तै फुटेको भन्दै राजधानी केन्द्रीत आन्दोलन पनि सफल नहुने ठोकुवा गरेका छन् ।

‘यो विदेशीको आन्दोलन हो । मधेसका मागलाई नयाँ संविधानले संस्थागत गरेको छ र बाँकी रहेका पनि संशोधनमार्फत पूरा गरिएको छ । आन्दोलनको औचित्य छैन्’ उनले भनेका छन्- ‘यो केवल नेपाली अस्मितामाथि प्रहार गर्ने विदेशीको नियोजित षडयन्त्र हो । यसलाई तुरुन्त नियन्त्रणमा लिन माग सरकासँग माग गर्दछौं ।’

मधेसवादी दललाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गर्दै अध्यक्ष पहारीले भनेका छन्- ‘विदेशीसँग संलग्नता र जनतालाई दुःख दिने यस्ता गतिविधि बढ्दै गए युवा संघ चुप लाग्दैन् । मर्यादित, संयमित र कानूनले दिएको अधिकारभित्र रहेर अगाडि बढ्न आग्रह गर्दछौं । यदि आन्दोलनका नाममा उदण्डता मच्चाउने, विदेशीको संलग्नता बढाउने हो भने हामी चुप लागेर बस्दैनौं । एक एकलाई लखेट्छौं ।’

यो आन्दोलन विदेशीहरुको भुई चढेर गरेको पुष्टि भएको भन्दै युवा संघले आफ्नो विज्ञप्तिमा भनेको छ- मधेसमा आन्दोलन असफल भएपछि जसरी लालु यादवको शरणमा गए त्यसैगरी अहिले विदेशी संलग्नतामा आन्दोलन गरिरहेका छन् । यसलाई सर्वप्रथम राज्यले नियन्त्रण गर्नुपर्छ ।’

जेठ १ देखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको मधेसवादी दलहरुको एकीकृत संस्था संघीय गठबन्धनको आइतबार सिंहदरबार घेराउ कार्यक्रममा विदेशी युवाहरु टाउकोमा आन्दोलनको नारासहितको पट्टी बाधेर सहभागी भएका थिए ।

आन्दोलनमा विदेशी देखिएपछि गठबन्धनको चौतर्फी विरोध भएको छ । यसमा गठबन्धनका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन् ।

Loading...