Loading...
काठमाडौं, ७ जेठ । मुलुकको आन्तरिक राजनीतिक गतिविधिमा विदेशी नागरिकको संलग्नता बढेपछि अध्यागमन विभागले उनीहरूमाथि जघन्य अपराधअनुसार तत्काल देशनिकाला गर्ने निर्णय गरेको छ ।
विभिन्न प्रयोजनमा नेपाल आएका विदेशी नागरिक सामाजिक सञ्जालमार्फत राजनीतिक विषयमा टिप्पणी गर्ने, राजनीतिक दलको प्रदर्शनमा संलग्न हुने गतिविधि बढेपछि विभागले उनीहरूमाथि जघन्य अपराधमा मात्र प्रयोग हुने अध्यागमन ऐन र नियमावलीको कडा प्रावधान कार्यान्वयनमा ल्याएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
अध्यागमन नियमावली, २०६५ अनुसार सबभन्दा कडा दण्ड १० वर्षसम्म फर्कन नपाउने गरी नेपालबाट निकाला र ५० हजार जरिवाना हो । यसअघि यो प्रावधान लागूऔषधलगायत गम्भीर प्रकृतिको अपराधमा संलग्न विदेशी नागरिकमाथि लागू हुने गरेको थियो । विभागले जुन प्रयोजनको भिसा लिएर नेपाल आएको हो, त्यो उल्लंघन गरे जघन्य अपराधमा संलग्नता बराबरको दण्ड कार्यान्वयनमा ल्याएको हो ।
‘जुन प्रयोजनका लागि नेपाल आउने भिसा लिएको हो, त्यही प्रयोजनबाहेकका गतिविधिमा कोही संलग्न देखिए जरिवानासहित देशनिकाला गर्ने प्रावधान रहे पनि जघन्य बाहेकमा यसको प्रयोग भएको थिएन,’ विभागका महानिर्देशक केदार न्यौपानेले भने, ‘पहिला गम्भीर अपराधमा मात्रै यो लागू हुन्थ्यो, अब आन्तरिक विषयमा सहभागी हुनेहरूमाथि पनि यही प्रावधानअनुसार कारबाही हुन्छ ।’
अध्यागमनले पर्यटन, विद्यार्थी, प्रेस, नाता सम्बन्ध, विवाह, आवासीय र व्यावसायिक भिसा जारी गर्दै आएको छ । अध्यागमन ऐनले विदेशी नागरिकको गतिविधिको आधारमा अध्यागमन अपराधमा सजाय निर्णय गर्ने अधिकार महानिर्देशकलाई तोकेको छ ।
नियमावलीको नियम २८ मा माग भएका बेला स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रमाणपत्र पेस नगरे, मगज बिग्रिए, गम्भीर अपराध गरी भागेर आएको पुष्टि भए, सरुवा वा गम्भीर रोग लागेको देखिए, उसको उपस्थितिमा नेपालको शान्ति सुरक्षा, नेपाली जनताको पारस्परिक सौहार्दतामा प्रतिकूल असर पर्ने देखिएमा, संदिग्ध गतिविधि वा अवाञ्छित गतिविधि देखिए, नेपालभित्रको सामाजिक र सांस्कृतिक वातावरणमा प्रतिकूल असर पर्ने देखिएमा भिसा रद्द गर्न सक्ने प्रावधान छ ।
नियमावलीअनुसार जुन उद्देश्यका लागि भिसा लिएको हो, सो अनुरूपको काम नगरी अन्य काम कुरा गरेमा, जुन प्रयोजनका लागि भिसा लिएको हो, सो समयअगावै प्रयोजन समाप्त भएमा समेत अध्यागमनले भिसा रद्द गर्न सक्छ ।
विभागले आन्तरिक विषयमा बढदो विदेशी नागरिकको सक्रियता र संलग्नतालाई हेरेर पारस्परिक सौहार्दता प्रतिकूल, संदिग्ध र अवाञ्छित गतिविधिमा संलग्न हुनेलाई समेत कडा कारबाहीको दायरामा ल्याएको हो ।
यसबीचमा राजनीतिक गतिविधिमा संलग्न भएको आरोपमा २ विदेशी नागरिक कारबाहीमा परिसकेका छन् । सूचना प्रविधिसम्बन्धी एक कम्पनीमा काम गर्ने भिसा लिएर नेपाल बसेका क्यानेडियन नागरिक रोबर्ट पेनरको सामाजिक सञ्जालमार्फत राजनीतिक सक्रियतापछि गृह मन्त्रालय नेपालमा रहेका विदेशी नागरिकको गतिविधिप्रति चनाखो भएको थियो ।
संविधान जारी भएसँगै मधेसमा आन्दोलन सुरु भएपछि पेनर राजनीतिक टिप्पणीमा सक्रिय भएपछि गृहले अनुगमन गरेको थियो ।
Loading...
Social Buttons