Latest News

बाँदरमुढे घटनाको एकमुष्ट उजुरी, दाहाल-भट्टराईलाई कारबाही माग


काठमाडौं- 'सर्वसाधारण चढेको बसमा विस्फोट गराई सामूहिक हत्या गराउनेको पहिचान गरियोस् र उनीहरूमाथि कानुनी कारबाही होस्,' चितवन, माडीस्थित बाँदरमुढे घटनाका पीडितले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा सामूहिक उजुरी दर्ता गराउँदै भने, 'युद्धमा सहभागी नभएका सर्वसाधारणलाई किन मारिएको हो, त्यसको सत्य जान्न पाऊँ।'

२०६२ साल जेठ २३ गते चितवनको गोविन्दबस्ती बगई (माडी) बाट भरतपुरका लागि छुटेको यात्रुबाहक बसमा तत्कालीन विद्रोही माओवादीले बम विस्फोट गराउँदा ३९ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै ७२ जना घाइते भएका थिए। घाइतेमध्ये थप चार जनाको केही समयपछि मृत्यु भएको थियो।

उक्त घटनाका विषयमा सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिँदै न्याय दिलाइदिन आयोगसँग माग गरेको बाँदरमुढे संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले बताए। सर्वसाधारण चढेको बसमा बम विस्फोट गराई हत्या गर्ने माओवादी कार्यकर्ता र आदेश दिने माओवादी नेतालाई समेत कारबाही माग गर्दै बाँदरमुढे पीडित संघर्ष समितिले ५७ वटा उजुरी आयोगमा एकमुष्ट दर्ता गराएको उनले जानकारी दिए। ५७ जना पीडितले बिहीबार आयोग केन्›ीय कार्यालयमा उजुरी दर्ता गराएको बाँदरमुढे घटनापीडित संघर्ष समितिका उपाध्यक्ष अधिकारीले बताए। उनकार अनुसार घटनामा घाइते भएकाले उजुरी दर्ता गराएका हुन्। स्थानीय शान्ति समितिको कार्यालय चितवनमा उजुरी दर्ता गराउँदा असुरक्षा महसुस भएर आयोग केन्›ीय कार्यालयमा उजुरी दिएको उनले बताए।

पीडितको उजुरीमा एमाओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री शक्ति बस्नेत, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायत तत्कालीन नेतृत्व र चितवनका नेतालाई कारबाही माग गरिएको छ।

बम विस्फोट गराउने कार्यमा संलग्न भएको आरोप लागेका अनक मगर शान्ति समिति कार्यालय चितवनमा एमाओवादीका तर्फबाट सदस्य रहेको तथा स्थानीय कुनै पनि राजनीतिक दलले पीडितलाई सहयोग नगरेकाले आयोगको केन्द्रीय कार्यालयमा उजुरी दिनुपरेको अधिकारीले बताए।

घटनाको समय जिल्ला इन्चार्ज रहेका घनश्याम दाहाल शान्ति समिति सदस्य रहेकोमा आरोपित व्यक्तिलाई समितिमा राखिएको भन्दै सार्वजनिक आलोचना भएपछि राजीनामा दिएका थिए। त्यसपछि सदस्य बनेका मगरमाथि त विस्फोट कार्यमै संलग्न भएको आरोप छ।

'आरोपी सदस्य रहेको समितिमा कसरी उजुरी दिने भनेर सबै जना काठमाडौं आएका हौं,' अधिकारीले भने, 'आदेश दिने र बम विस्फोट गराउने सबैलाई कारबाही हुनुपर्ने माग गरेका छौँ।'

प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको नौबुँदे सहमतिले न्याय पाउने आशा मरेको भए पनि उजुरी दिन आएको अधिकारीले बताए। 'दलहरूको रवैया र आयोगको काम गराई हेर्दा न्याय पाउने आशा त छैन तर आफूमाथि भएको अन्यायमा चुप बस्नुहुँदैन भनेर सबै पीडितले उजुरी दिएका हौं,' अधिकारीले भने, 'हामीलाई कोही नेता/कार्यकर्ता जेल जाउन्/नजाउन् मतलव छैन तर पीडितलाई न्याय चाहिएको छ।'

बिहान भिख्नाठोरीबाट छुटेको शालिग्राम ट्राभल्सको बसमा बगई गाउँ पुग्दासम्म करिब १ सय ५० जना यात्रु चढिसकेका थिए। महिला, बच्चा र वृद्ध भित्र थिए भने झन्डै ७०–८० जना छतमा खचाखच थिए। २१ वर्षीय विक्रम महतोद्वारा चलाइएको बस भत्किएको बाँदरमुढे पुललाई एकापट्टि पारेर खोलाको सुक्खा तटमा ओर्लिनासाथ विद्युतीय धराप विष्फोटमा परेको थियो।

'कुन मानसिकता बोकेको मानवले विष्फोट गरायो, कसले त्यो गर्न उर्दी जारी गर्योन, त्यसको सत्य पत्ता लागाइदिन उजुरीमा माग गरेका छौं,' अधिकारीले भने, 'अन्य द्वन्द्वरत मुलुकमा सुनिने गरेका मानवताविरोधी अपराध नेपालमा पनि भएकाले त्यसमा संलग्नलाई कारबाही होस् भन्ने एक मात्र माग हो।'

गाडीको छतमा तीनजना बर्दीधारी सैनिक बसेका थिए, बाँकी सबै सर्वसाधारण थिए। त्यतिबेला चितवनका जिल्ला इन्चार्ज अविनाश (घनश्याम दाहाल) र सेक्रेटरी इन्›जित (यमबहादुुर परियार) ले गलत आँकलन गरी विस्फोट गराएको माओवादीले समेत स्वीकार गर्दै आएको छ। 'गुडिरहेको सार्वजनिक बसमा खचाखच मान्छे देख्दादेख्दै छतमा रहेका तीनजना सेनालाई उडाउन सकिन्छ भन्ने राजनीतिक र सैन्य हिसाबले अत्यन्तै कमजोर आँकलन गरी सर्वसाधरणलाई निशाना बनाइएको थियो,' उजुरीमा भनिएको छ, 'यस्तो कार्य गर्नेलाई कानुनको कठघरमा ल्याउनुको विकल्प छैन।'

गुडिरहेको गाडीमा विष्फोट गराएर एक/दुई जनाको मात्र सफाया गर्ने र बाँकी सकुशल रहने प्रविधिको विकास संसारमा कहीं नभएकाले त्यसलाई स्वीकार गरी दोषलाई कारबाही दायरमा ल्याउन माओवादीले सहयोग गर्नुपर्ने तर्क मानज अधिकारवादीले गर्दै आएका छन्। हतियार बोकेकै भए पनि दोहोरो भिडन्तमा नरहेका व्यक्तिलाई हत्या गर्न नपाइने अन्तर्राष्ट्रिय कानुनविपरीत माडीमा बम विस्फोट गराइएकाले दोषीले उन्मुक्ति नपाउने अधिकारकर्मीको तर्क छ।

Loading...