Latest News

सिके राउतका कार्यकर्ताले दिए उपराष्ट्रपति पुत्रलाई ज्यान मार्ने धम्की !!!

dipesh pun
काठमाण्डु, २० चैत– उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनलाई मधेसलाई नेपालबाट अलग गर्ने अभियानमा रहेका सिके राउतका कार्यकर्ताले ज्यान मार्ने धम्की दिएका छन् ।  

एउटा टेलिभिजनमा केही दिनअघि प्रसारित राउतको अन्तर्वार्ताबारे प्रतिक्रिया दिएकामा पुनलाई धम्की आएको हो । अन्तर्वार्तामा राउतले मधेस कहिल्यै नेपाली भूमि नरेहको दाबी गर्दै मधेसलाई नेपालको औपनिवेशिताबाट मुक्त गराएर छुट्टै मुलुकको अस्तित्व कायम गराउन आफ्नो अभियानको लक्ष्य रहेको अभियक्ति दिएका थिए । 

अन्तर्वार्ता हेरेपछि पुनले आफू प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा प्रमुख भएको भए राउतलाई "इन्काउण्टर" मा मारिदिने थिएँ भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । दिपेशले छद्मनाबमाट धम्की आइरहेको काठमाण्डु टुडेलाई बताए । 

'मैले नेपाली राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ताबारे राउतले उठाएका तर्क सहन नसकेर आफ्नो अभिमत जाहेर गरेको हुँ', दिपेशले भने, 'राष्ट्रियतालाई माया गर्दा मलाई मार्नेसम्मको धम्की आएको छ ।' दिपेशले मोबाइल, फेसबुक म्यासेन्जर र आफ्नो अभिव्यक्तिबारे समाचार प्रकाशित भएका अनलाइन पोर्टलमार्फत त्यस्तो धम्की आएको जानकारी दिए । 

राष्ट्रियताका लागि आफू मर्न तयार रहेको भन्दै उनले राष्ट्र द्रोहीहरुबाट आएको धम्कीसँग नतर्सने चेतावनी दिए । उपराष्ट्रपति पुत्र भएर जथाभावी नबोल्न केहीले सुझाव दिएको पनि बताए । 

उनले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङका छोरा भियतनामी युद्धमा मारिएको र हालै नेपाल भ्रमणमा आएका बेलायती राजकुमार ह्यारी सैनिक अधिकृतका रुपमा अफगान युद्धमा लड्न गएको प्रसंग जोड्दै जो जहाँ भए पनि मुलुकको अस्तित्व संकटमा पर्दा चुप लागेर बस्न नसक्ने तर्क गरे । 

धम्की आउने क्रम नरोकिए आफू कानूनी कारबाहीका लागि प्रहरीमा जाने उनले बताए । प्रेस काउन्सिलले समेत पत्रकार आचारसंहिताविपरीत राउतको अन्तर्वर्ता प्रसारण गरेको भन्दै अन्तर्वार्ता प्रसारण गर्ने टेलिभिजनसँग लिखित स्पष्टीकरण सोधेको छ । 
Loading...