Loading...

काठमाडौँ, १६ चैत । नेपालमा फेरिएको जीनवशैली र परम्पराका कारण नसर्ने रोगको भयावह स्थिति भएको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।
केही वर्षअघिसम्म सरुवा रोगले विकराल रुप लिइरहेको भए पनि अहिले मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगले भयावह रुप लिइरहेकाले समयमै जीवनशैलीमा परिवर्तन गर्न चिकित्सकले सल्लाह दिएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य–सचिव डा खेम कार्की अहिले समय फेरिएको र क्यान्सर, मधुमेह, उच्च रक्तचाप, हृदयाघात, मिर्गौलाले काम नगर्नेजस्ता रोगले नेपालमा ठूलो रुप लिएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ – ''आजभोलि उपचारका लागि आउने यस्ता भीडका अधिकांश बिरामी मुटु रोग, क्यान्सर, मधुमेह र श्वासप्रश्वासजस्ता नसर्ने रोगका भेटिन्छन्, अहिले त नसर्ने रोगको महामारी नै छ ।''
उहाँले विलासितापूर्ण जीवनशैलीका कारण मानिसमा व्यायाम गर्ने, स्वस्थकर खानपान, तयारी खाना खाने बढ्दो परम्पराका कारण नसर्ने रोगको डरलाग्दो रुप देखिन थालेको उल्लेख गर्नुभयो ।
नेपाल नसर्ने रोग गठबन्धनका अध्यक्ष डा प्रकाशराज रेग्मीले नेपालमा ६० प्रतिशत नसर्ने रोगले मानिसको ज्यान लिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो–"अहिले आहारमा आएको परिवर्तन, रहनसहन निकै फेरिएकाले मानिसमा दैनिक शारीरिक कसरत गर्ने बानी हराउँदै गएको छ ।
अनियन्त्रित रुपमा बढ्दो शारीरिक तौल, उच्च रक्तचापका कारण धेरै मानिस मृत्युको मुखमा पुगेका कारण अब यससम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्न ढिला गर्नुहुँदैन ।"
परिषद्का सदस्य डा कृष्ण अर्याल शारीरिक व्यायाम नगर्ने, अत्यधिक सुर्ती सेवनका कारणले पनि उच्च रक्तचापको बढ्दो समस्या र बेलैमा नियन्त्रण गर्न नसकेका कारण पनि यस्ता रोगले ठूलो रुप लिएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – ''नेपालका ९० प्रतिशत जनतामा उच्च रक्तचापको समस्या छ तर धेरैले औषधि सेवन गर्दैनन् सधैँभरि खानुपर्ने झन्झटका कारण औषधि खान नचाहने, उपचारमा नजाने भएकाले धेरैमा मुटुको समस्या देखिएको छ । उच्च रक्तचापको समस्या भएका मानिसले औषधि खान गाह्रो मान्न नहुने र नियमित औषधि सेवन गर्न डा अर्यालले सुझाव दिनुभयो ।
परिषद्को सन् २०१२/१३ को तथ्याङ्कअनुसार नेपालमा १५ देखि ५९ वर्ष उमेर समूहका २६ प्रतिशतलाई उच्च रक्तचापको समस्या, चार प्रतिशतमा मधुमेह, ३१ प्रतिशतलाई सुर्तीजन्य सेवनबाट हुने समस्या, दुई प्रतिशतमा चिल्लोका कारण हुने समस्या, १७ प्रतिशतमा मद्यपानका कारण हुने समस्या र हरेक पाँचजनामा एकजनालाई चिल्लोका कारण हुने समस्या रहेको पाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा रु ३८ लाख मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको उल्लेख गर्दै मानिसको दैनिक आचरणमा सुधार ल्याउन सकेमा नसर्नेको रोग नियन्त्रण गर्न सकिनेमा जोड दिनुभयो । "नसर्ने रोग खानपान र जीवनशैलीका उपज हुन् । त्यसैले अहिले नै विकराल रुप लिएका यी रोगको नियन्त्रणका लागि स्वस्थ्य जीवनशैलीलाई ध्यान दिनु निकै जरुरी छ'' – डा रेग्मीले भन्नुभयो ।
हरियो सागसब्जी, फलफूलको अधिक सेवन, तौल नियन्त्रण, शारीरिक व्यायाम बढाउने, रोगको समयमै उपचार गर्ने हो भने नसर्ने रोग नियन्त्रण हुने चिकित्सकको भनाइ छ । रासस
Loading...
Social Buttons