Latest News

बोडेका जुजुभाइ ८औं पल्ट जिब्रो छेड्दै

बोडेका जुजुभाइ ८औं पल्ट जिब्रो छेड्दै



मध्यपुर थिमि-बिस्केट जात्रा क्रममा भक्तपुरको मध्यपुर, थिमिको बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यसवर्ष पनि जुजुभाइ बासँ श्रेष्ठले नै जिब्रो छेड्ने भएका छन्। बासँ श्रेष्ठले यसवर्ष पनि जिब्रो छेड्ने अरु कोही नभएकाले ८ औं पल्ट जिब्रो छेड्ने मंगलबार घोषणा गरे । उनले परम्परा र जात्रा पर्व जोगाउन जिब्रो छेड्न लागेको बताए। 

flag 300X250 

२८ वर्षको उमेरमा २०६६ सालको जात्रामा पहिलोपल्ट जिब्रो छेडेका बासँ श्रेष्ठले त्यसयता बर्सेनि जिब्रो छेड्दै आएका छन् । काठमाडौं उपत्यकाको प्रख्यात जात्रा बोडेमा बर्सेनि वैशाख २ मा जिब्रो छेड्ने जात्रा हुन्छ । 

यसपल्टको जिब्रो छेड्ने प्रक्रिया मंगलबार नै सुरु भएको छ । मंगलबार भक्तपुर, सल्लाघारीस्थित च्वगा गणेशस्थान पुगेर द्योः साल हयेगू (देवता तानेर ल्याउने) कार्य पूरा गरिएको छ। यस क्रममा देवताको पूजाआजा गरी प्रसाद जिब्रो छेड्ने व्यक्तिको घरपरिवारमा भिœयाइएको छ । बासँ श्रेष्ठले आफूले मंगलबार मन्दिर पुगी शुभकार्य गरेको पत्रकार भेटघाटमा बताए। 

जात्रा क्रममा नयाँ वर्षको ४ दिनअघि चैत २७ गते चार दाम चढाउने परम्परा छ । यसैबेला जात्रामा जिब्रो छेड्ने प्रण गरिन्छ । साथै यही दिन बोडे निकटस्थित नीलबाराहीबाट गुँसी (जंगलबाट दाउरा) घरमा ल्याएर धुनी जगाउने गरिन्छ । 

जात्राको मुख्य आकर्षण वैशाख २ मा मध्यपुर थिमि नगरपालिका वडा नं १ बोडेमा हजारौं जात्रालुको उल्लासपूर्ण सहभागितामा जिब्रो छेड्ने प्रचलन छ । त्यसपछि जिब्रो छेड्नेको इच्छा अनुसार बोडे परिक्रमा गरिन्छ । 

जिब्रो छेड्ने व्यक्ति ३ दिनअघि (चैत ३० गते) देखि व्रत बस्ने गर्छन् । व्रतका बेला चोखोनिधो हुनु पर्ने, पशुपंक्षी, महिला छुन नहुने र अरुको घरमा जान नहुने परम्परा छ । 

७ पल्ट जिब्रो छेडीसकेका बासँ श्रेष्ठले जिब्रो छेड्ने बेला डर लाग्ने अनुभूति सुनाए । 'हुन त सधैं जिब्रो छेड्ने निश्चित भएदेखि अलिअलि डर लागे पनि जिब्रो छेड्नै लाग्दा भने अलिक बढी डर लाग्छ,' उनले खुलाए, 'तर जिब्रो छेडीसकेपछि आँखा खोल्दा जिब्रोबाट रगत नबगेको देख्ता भने डर हराइसक्छ ।' सामान्यतया जात्रामा जिब्रो छेड्दा रगत नबग्ने र कुनै अशुभ भएमात्रै रगत बग्ने जनविश्वास छ । 

यो जात्रा लिच्छवीकालदेखि नै चलेको मानिन्छ । जात्रामा अहिलेसम्म धेरैले जिब्रो छेडीसकेका भए पनि यस्ता १३ जनाको नाम मात्रै जानकारीमा छ । जिब्रो छेडेका ती १३ जनामध्ये पनि हाल ३ जना मात्रै जीवित रहेका बोडेका दिलकृष्ण प्रजापतिले जानकारी दिए । उनका अनुसार बासँ श्रेष्ठसहित कृष्णचन्द्र बाग श्रेष्ठ र बुद्धचन्द्र बाग श्रेष्ठ मात्रै जीवित छन् । 
Loading...