Latest News

कांग्रेस सभापति सुशील कोइरालाको निधन ;सुशील कोइरालाः क्यान्सर जिते, मृत्यु जितेनन्

संविधान निर्माणपछि क्यान्सरको अन्तिम रिपोर्ट लिन अमेरिका पुगेका कांग्रेस सभापति सुशील कोइरालाले नेपाली समूदायसँग भनेका थिए- अब क्यान्सर जितें ।
क्यान्सर जितेको खुसीमा लामो समय अमेरिकामै घुमफिरमा बिताएका कोइराला काठमाडौं फर्केलगत्तै महाधिवेशनमा होमिए । आफूलाई बिरामी भएकाले आराम गर्नुपर्ने नेताहरुको दबाब प्रतिवाद गर्दै कोइरालाले केही दिनअघिमात्रै भक्तपुरमा भनेका थिए, 'क्यान्सर जितेर आएको छु, अब म स्वस्थ्य भएको छु ।' उनको संकेत आसन्न महाधिवेशनमा पुनः नेतृत्वको दाबी प्रष्टै थियो ।
तर, महाधिवेशनमा संस्थापन समूहका महाधिवेशन प्रतिनिधि, जिल्ला र क्षेत्रीय प्रतिनिधिले अग्रता लिइरहँदा मंगलबार बिहान एक्कासी झट्का लाग्यो, 'सुशील दा रहनुभएन ।' दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको महाराजगञ्जमै बिहान १२ बजेर ५० मिनेटमा निधन भएको हो । 
कोइराला परिवारको बिरासत थाम्दै १२ औं महाधिवेशनमा सभापति चुनिएका कोइरालालाई ठूलो जस चाँही संविधान निर्माणको जान्छ । जुन, गिरिजाप्रसाद कोइरालाको जीवनको उत्तरार्धमा सुरु भएर थाति रहेको काम थियो । 
सन् १९३८ फेब्रुअरी ३ तारिखमा पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म विराटनगरमा भएको हो । उनका ६ भाइ र एक बहिनी थिए । अविवाहित सुशील वन अधिकृत बाबुसँगै नेपालगन्ज पुगे । त्यसपछि कोइरालाको स्थायी बसोबास उतै भयो ।
दोस्रो संविधानसभामा ठूलो पार्टी भएपछि कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित भएका थिए ।
२०१० सालदेखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए । ०४२ सालको सत्याग्रहदेखि ०४६ र ०६२/६३ को आन्दोलनमा कोइरालाले सक्रिय सहभागिता जनाएका थिए ।
पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सुशील पार्टी केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै पार्टीको सर्वोच्च पद सभापति भएका थिए ।
Loading...