Latest News

प्रचण्ड महाधोकेवाज र महागद्दार , वावुराम राष्ट्रघाती जनघाती विश्वासघाती क्रान्तिघाती


माओवादी नेता संतोष बुढामगरको विशेष अन्तरवार्ता – वावुरामले मालिक रिझाउने भन्दा अरु केही गरेनन्, मोहन बैद्यले गाडि चलाउन हात कँपाए, भारतको नेपाललाई खाने नियत छ, केही मधेशी नेताले उठाएका मागहरु राष्ट्रघाती छन्, संसदीय वाटोवाट क्रान्ति बिश्वमा कहिं भएको छैन, यो खशीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने सिद्धान्त हो, एमाले र एमाओबादीहरु त्यहि कुकुरको मासु बेच्ने बुच्चरको सिद्धान्त लिएर कालोबजारी गरी बसेकाछन्, समस्याको हल क्रान्तिले मात्रै गर्नेछ
रोल्पाको ऐतिहासिक गाउँ थवाङमा जन्मे हुर्केका तथा जनयुद्धमा महत्वपूर्ण भूमिका निभाएका माओवादी नेता सन्तोष बुढा मगर हालै केन्द्रिय जनपरिषद प्रमुख चुनिनु भएको छ । संतोष बुढा मगर विप्लव नेतृत्वको माओवादीका पोलीटव्यूरो सदश्य पनि हुनुहुन्छ । प्रस्तुत छ संतोष बुढा मगर संग नेपालसन्देश डट कमका लागि विजय केसीले लिएको विशेष अन्तरवार्ता –
१) नेपालमा ०५२ देखि ०६२ सम्मको जनयुद्ध किन आवश्यक भएको थियो ? शान्तिपुर्ण जनसंघर्ष वा संसदीय संघर्ष नै पर्याप्त थियो भन्नेहरुलाई के भन्नु हुन्छ ? अहिले आएर जनयुद्धको औचित्य नै थिएन भन्नेहरुलाई के भन्नु हुन्छ ? 
हेर्नुस, नेपालको इतिहासलाई एक पटक फर्केर हेर्नु पर्छ । नेपालमा अहिलेसम्म तीन ओटा महत्वपूर्ण परिबर्तनकारी सशस्त्र बिद्रोह वा संघर्षहरु भए । २००७ सालमा निरंकुश राणातन्त्रका बिरुद्ध पहिलो सशस्त्र संघर्ष भयो । यो नेपाली काँग्रेसको नेतृत्वमा भयो ।
त्यसबेला कम्युनिष्ट पार्टी भर्खरै शिशु अवस्थामा थियो । यसले राणाहरुको निरंकुशतन्त्रको अन्त्य गर्‍याे  राजाको नेतृत्वमा राजा, राणा र काँग्रेसको त्रिपक्षीय साझेदारी सत्ता कायम गरियो । यसलाई दिल्ली संझौता पनि भनिन्छ ।
दोस्रो सशस्त्र संघर्ष नेपालको इतिहासमा पहिलो पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा पूर्बी कोशी प्रान्तीय कमिटीको अगुवाईमा भयो । यसैको जगमा २०३६ र ४६ सालका आन्दोलनहरु भए । यसले निर्दलीय निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य ग र्‍याे तर राजतन्त्र फाल्न सकेन ।
पञ्चायतको ठाउँमा बहुदलीय संसदीय ब्यवस्था फिट गरियो । यो भनेको सामन्तबाद र साम्राज्यबादको अपबित्र गठबन्धन थियो । यसको लिखित दस्ताबेज २०४७ सालको संविधान थियो ।
यस पछि नेपाली जनतामा शासन गर्ने सत्ता संरचना बहुदलीय संसदीय राजतन्त्रात्मक ब्यवस्था कायम भयो । यसलाई प्रतिक्रियाबादी संबिधान भनेर तत्कालिन हाम्रो पार्टी सहितको संयुक्त राष्ट्रिय जनआन्दोलनका पक्षधरहरुले संविधान जलाएर बिरोध गरे । यो राजा, काँग्रेस र संसदबादी कम्युनिष्टहरुको त्रिपक्षीय साझेदारी सत्ता थियो ।
तेस्रो नेपालको इतिहासमा उथलपुथलकारी सशस्त्र बिद्रोह २०५२ साल फागुन १ गते नेकपा माओवादीको नेतृत्वमा शुरु भएको  जनयुद्ध थियो ।
०४६ सालपछि नेपालमा कायम गरिएको सामन्तबाद र साम्राज्यबादको गठजोडमा बनेको सामन्त, दलाल तथा नोकरशाह पूँजीपति बर्गको संयुक्त सत्ताका बिरुद्ध बिशेषतः दुई विशाल पहाड (सामन्तबाद र साम्राज्यबादको सत्ता ) भत्काउने उद्देश्यका साथ जनयुद्धको शुरुवात गरिएको थियो ।
यसले आफ्नो उद्देश्यमा पुग्न नपाउँदै यसको नेतृत्व क. प्रचण्डले साम्राज्यबाद÷बिस्तारबाद सामु आत्मसमर्पण गर्न पुग्यो र वर्ग बिचार बदल्यो ।
जनयुद्धलाई विसर्जन गर्न असाध्य चलाखीपूर्ण रुपबाट दुश्मनसंग गठजोड गर्न पुगे । यसले जनयुद्धलाई आधा बाटो मै अलपत्र छाडेर क. प्रचण्ड बिजातीय बर्गसंग मिल्न पुग्नुभयो ।
यसको स्वभाबिक परिणाम जनयुद्धले प्रतिधक्का खान पुग्यो । यति हुँदा हुँदै पनि दश बर्षको जनयुद्धले एउटा पर्खाल भने भत्काएरै छाड्यो । २३५ बर्षदेखि एकिकृत नेपालमा जरा गाडेर बसेको राजतन्त्रको अन्त्य गर्नसम्म जनयुद्ध र प्रचण्ड बाबुरामहरु कामयाव रहे ।
तर अर्को अजङ्गको साम्राज्यबादी पर्खाल र दलाल तथा नोकरशाही पूजीपति वर्गको सत्ता भत्काउन तयार भएनन् । त्यसलाई पनि भत्काएर जनताको शासन सत्ता स्थापना गर्ने, स्वाधिन र स्वतन्त्र नेपालको स्थापना र अधिकार सम्पन्न बन्ने नेपाली जनताको सपना अधुरै रह्यो ।
जनयुद्धको यो अपुरो उद्देश्य पूरा गर्नुको सट्टा अधिकार दलाल र पूँजीपति बर्गलाई सुम्पेर विदेशी प्रभुसामु लम्पसार परेर जनता र क्रान्तिलाई धोखा दिन पुगे प्रचण्ड–बाबुराम कमरेडहरुले । यति हुँदा हुँदै पनि दश बर्षको जनयुद्ध महान क्रान्तिकारी पहलकदमी थियो र यो तेस्रो उथलपुथलकारी बिद्रोह थियो ।
अव नेपाली क्रान्तिले गाँस गाँस गर्दै क्रान्तिलाई अन्तिम चरणमा ल्याएको छ । अव यो दलाल सत्ताको अन्त्य पछि आउने एक मात्र बिकल्प नयाँ जनबादी सत्ता अर्थात जनगणतन्त्र नेपालको स्थापना हो । यसको लागि अव अर्को एउटा अन्तिम युद्ध बाँकी छ ।
नेपालमा अव एउटा तर अन्तिम सशस्त्र क्रान्ति हुन बाँकी छ । त्यसले यो संसदीय दलाल तन्त्रको अन्त्य गर्ने छ । अवको क्रान्तिको उद्देश्य यसैमा केन्द्रीत हुने छ । यसैको निम्ति हामी धक्का खाएको जनयुद्धलाई नयाँ शिराबाट उठाउने प्रयासमा छौं ।
जहाँसम्म शान्तिपूर्ण संघर्षको प्रश्न छ । यो भ्रम मात्र हो । यो सहमति र संझौतामा गरिने नाटक मात्र हो । संसारमा शान्तिपूर्ण संघर्षबाट कतै पनि परिबर्तन आएको इतिहास छैन । स–साना परिबर्तनहरुमा पनि रगत नबगेको इतिहास नै छैन् ।
अगाडि भनी सकें कि ०७ सालको बिद्रोह पनि हतियारबद्ध सेना नभएको भए संभव थिएन । ३६ र ४६ सालका आन्दोलनहरुको जगमा पनि २०२८ सालको सशस्त्र संघर्ष छ ।
२०६२÷६३ को १९ दिनको आन्दोलनको जग दश बर्षको जनयुद्ध थियो र यसको ब्याक फोर्समा जनमुक्तिसेना थियो भन्ने लाटाले पनि बुझेको कुरा हो ।
त्यसैले शान्तिपूर्ण परिबर्तनको वकालत गर्नेहरु मूर्ख हुन् र त्यसको भ्रममा परेर सशस्त्र संघर्षको बिरोध र शान्तिपूर्ण परिबर्तनको वकालत गर्नेहरु महामूर्ख हुन् ।
अहिले जनयुद्धको औचित्य नै थिएन भन्नेहरु अर्को आधा दिमाग भएका महामूर्ख हुन् । ‘जन्मेदेखि आमाको दूध, गाई भैसीको दूध, घ्यू खाएर हलक्क बढेका १५ बर्षीय लाठे जवान रक्सी, भाङ, धतुरो खान सिकेर दूधको औचित्य नै छैन’ भने जस्तै हो जनयुद्धको औचित्य नदेख्नेहरु ।
जनयुद्ध नेपाली क्रान्तिकारी इतिहासको त्यो उथलपुथलकारी युद्ध थियो जसले भगवानका अवतारलाई समेत नारायणहिटीबाट निकालेर सडकमा फाल्यो । नेपालमा बोल्नै नसक्नेहरुलाई सडकमा उभिएर बोल्न र संघर्ष गर्न सिकायो । आफ्नो अधिकार खोसेर सत्ताको मालिक बन्न पनि सिकायो ।
एकजुट भएर लडेमा जतिसुकै भयंकर बादशाहलाई पनि घोडाबाट खसाल्न सकिदो रहेछ, सत्ताको मालिक पनि बनिदो रहेछ भन्ने सिकाएको छ । सायद यसैको जगमा नै आगामी क्रान्ति पनि संभव छ ।
२) तपाईहरुले प्रचण्ड वावुराम लगाएतका नेताहरुले जनयुद्ध वीच वाटो मै परित्याग गरेको र उनीहरुले जनयुद्ध, मालेमावाद प्रति नै धोखा र गद्दारी गरेका हुन् भनिरहनु भएको छ । यसको यथार्थ के हो ? उनीहरुले जनयुद्धवाट यति मात्र प्राप्त गर्न सकिने थियो र जनयुद्ध असफल हुन थालेकोले वचाएर यहाँ ल्याएको भन्दैछन् ।
बाबुराम जी शुरुदेखि माओबादी आन्दोलनमा दक्षिणपन्थी बुर्जुवा बिचारसहित आएका पात्र थिए । उनको बिचलन थिएन । उनले पार्टीभित्र जहिले पनि बुर्जुवा लोकतन्त्रको वकालत गर्दै आउनु भयो र पार्टीमा दुईलाइन संघर्ष चलाईरहनु भयो ।
वहाँकै भनाईमा जीवनभरी लडिरहनु भयो । वहाँको यो स्टेपसम्म मात्र आउने नै अन्तिम गन्तब्य देखिन्थ्यो तर प्रचण्डको हकमा त्यो होइन । प्रचण्डले कुनै बेला दक्षिण एशियाको माओ, लेनिन बन्ने सपना देख्नु हुन्थ्यो । वहाँले कुनै बेला दक्षिण एशियाली फेडरेशन सम्मको कुरा गर्नुहुन्थ्यो ।
वहाँका कयौं अभिब्यक्तिहरु र शुरु शुरुका बिचारहरु ठीकै ठीकै पनि थिए तर क्रान्तिको एउटा चरणमा आउँदा भयंकर चुनौतिहरुको सामना गर्नु पर्ने देखे पछि वहाँले त्यसको सामना गर्ने हिम्मत गर्न नसकेको हो ।
खास गरी खारा कारबाही(रुकुम, रोल्पा र सल्यानको सीमानामा रहेको शाही सेनाको व्यारेक माथिको आक्रमण) पछि वहाँले हरेश   खानु भयो ।
यसलाई अझ यसरी भनौं जव जनयुद्ध मध्यान्तरसम्म आयो, फौजी ढंगले जनयुद्ध शक्ति सन्तुलनको अवस्थमा आयो । यसलाई क्रस गर्न पहिलो, बिचारमा नयाँ संश्लेषण गर्नु पर्ने थियो र दोस्रो, फौजी कार्यदिशामा थप बिकास गर्नु पर्ने थियो । यो बस्तुस्थितिको मागलाई प्रचण्डले नेतृत्वको हैसियतले चिर्न सकेनन् ।
पुरानो बिचार र कार्यदिशा अव अपुरो भयो । नयाँ बिकास गर्न सकेनन् । पुरानै तरिकाले नसकिने भए पछि वहाँले बिचारै बदल्न पुग्नु भयो र बाबुरामको कार्यदिशा र बिचारको पुच्छर समाएर बैतर्नी तर्ने कार्यदिशा पकड्नु भयो ।
अनि उनीहरु दुबै त्यहि लोकतान्त्रिक गणतन्त्र नामक बायुपंखी घोडाको पुच्छरमा टंगेर जनता, कार्यकर्ता र सबै साथीहरुलाई छाडेर सात समुद्र पार गरे ।
यसलाई हामी बिचारमा बिचलन भयो प्रचण्डमा र बर्ग दुश्मन सामु आत्मसमर्पण गर्न पुग्नु भयो, यो जनतामा महाधोकेबाजी हो र क्रान्तिमा महागद्धारी हो भन्ने संश्लेषण गरेकाछौं । सैद्धान्तिक रुपले ‘नवसंशोधनबाद’ भनेका छौं । यसभन्दा अगाडि जाने उनीहरुको हैसियत र औकात पनि थिएन ।
त्यसैले यो जनयुद्धको असफलता भन्दा पनि प्रचण्डको असफलता थियो । बाबुरामको अन्तिम गन्तब्य नै यतिसम्म थियो । नेतृत्वले आँटेको भए क्रान्ति संभव थियो किन कि करीव ८० प्रतिशत हिंसात्मक क्रान्तिको चरण पार गरिसकेका थियौं ।
अव रगत धेरै बगाउनु पर्ने थिएन । यो नबुझ्दा र साम्रज्यबाद विस्तारबादको फन्दामा पर्दा उनीहरु यथास्थिति र पश्चगमनका शिकार हुन पुगे । यसको लेखा जोखा र हिसाब किताब अझ इतिहासले गर्न बाँकी नै छ ।
३) जनयुद्धका उपलब्धिका रुपमा रहेका जनसेना, जनसत्तालाई किन वचाउन सक्नु भएन ? प्रचण्ड वावुरामका गद्दारीहरुलाई किन रोक्न सक्नु भएन ?
हैन, हामीले अन्तिमसम्म प्रयास ग¥यौं तर सकेनौ किन भने हामी सबै कुरा देख्ने थाहा पाउने ठाउँमा पनि त थिएनौं । ठाउँमा भएको भए पनि मुख्य नेतृत्वले योजनाबद्ध र नियति बस नै कदम चालेपछि अरुले जति कराए पनि नहँृदो रहेछ ।
आखिर किरण दाईहरुको एउटा टिम नभएको त होइन । बचाउन सक्नु भएन । हामीलाई त निकै जुनियर स्थानमा राखिएको थियो । यी सबै गतिबिधि अत्यन्त मिहिन पाराले गर्दै आए । नजिकबाट हेर्ने बुझ्ने कोहीलाई सिध्याइयो, कसैलाई भगाइयो, कोही हेरेर, बुझेर पनि केही गर्न नसक्ने हुितहारा भए, कोही हनुमानभक्त भए ।
यसको परिणाम यस्तो हुन गयो । कतिपय कुराहरु यतिसम्म कि संगैका साथीहरुलाई समेत थाहै नदिई मनमर्जी गरे । एउटा उदाहारण हेरौं– क. बादल पार्टी महासचिव र जनमुक्तिसेनाका इञ्चार्ज हुनुहुन्थ्यो तर सेनाको हतियार र कन्टेनरको साँचो प्रधानमन्त्रीलाई बुझाउँदासम्म पनि वहाँले थाहा पाउनु भएन ।
बाहिर मिडियाहरुले भने पछि मात्र थाहा पाउनु भयो । जनमुक्तिसेनाको क्याम्पमा रातारात नेपाली सेना पठाएर घेरा हाली कब्जा गर्न लगाएको पार्टी कै बरिष्ठ पदाधिकारीहरुलाई थाहै दिइएन । कब्जा पछि मात्र थाहा पाए । यस्तो गरे प्रचण्ड र बाबुरामले ।
रोक्न यतिसम्म गरियो कि अहिलेसम्म सायद बिश्व कम्युनिष्ट आन्दोलनमा कहि यस्तो उदाहारण पाउनु हुन्न । एउटै पार्टीमा हुँदाहुूँदै आफ्नै कार्यकर्ता र सहकर्मी कमरेडहरुले आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्री पदमा आसीन उपाध्यक्षको पुतला देशभरी जलाएको र उनीहरुको कदमका बिरुद्ध देशब्यापी मशाल जुलुस र चक्काजाम गरिएको ।
यो उदाहरण अन्त बिरलै होला । तर पनि दुखको कुरो यति गरेर पनि हामीले जनयुद्धका उपलब्धीहरुको रक्षा र बचाव गर्न सकेनौं । यो दुखको कुरा हो । त्यसकारण ती नेताहरुलाई नै परित्याग गर्नु एक मात्र बिकल्प बन्न पुग्यो ।
४) अहिलेको गणतन्त्रलाई संसदीय व्यवस्था नै हो भन्नु भयो, यस नयाँ व्यवस्थाले नै जनताका समस्या समाधान गर्न सक्दछ भन्दैछन् प्रचण्ड एमाले र कांग्रेसहरु । के भन्नु हुन्छ तपाई ?
हजुर हिजो राजासहितको संसदीय ब्यवस्था थियो, आज राजा बिनाको संसदीय ब्यवस्था । हिजो संसदीय राजतन्त्र, आज संसदीय गणतन्त्र । बोटल फेरियो रक्सी फेरिएन । रक्सी पनि यसरी मिक्स गरियो कि स्थानीय रक्सीमा ह्वीस्की मिसाइयो र त्यसमा हल्का रातो कलर मिसाइयो ।
थोरै भिन्न देखाइयो वस फरक यति हो हिजो र आजको ब्यवस्थामा । हिजो राजासंग काँग्रेस, एमाले थिए । आज काँग्रेस, एमालेसंग माओबादी, मधेसी र राजाबादी राप्रपाहरु । के फरक भो त ? मान्छे उही, सत्ता संरचना उहि, चिन्तन प्रबृत्ति उहि, सिष्टम उहि, नेता र पार्टी उहि, सत्ताको नेतृत्व उहि बर्ग ।
माओबादीको एउटा बिचलित, स्वार्थी, बुर्जुवा तप्का मिसिदैमा जनताको ब्यवस्था आयो भन्ने भ्रम नै ठूलो अज्ञानता हो । ‘‘अल्पज्ञान खतरनाक हुुन्छ’’ भन्ने अंगे्रजी उक्ति र ‘‘आधा गाग्रो पानीले दुख दिन्छ’’ भन्ने नेपाली उक्ति यहाँ चरितार्थ भएको छ । अहिले जनताले दुख पाईरहेको त्यस कारण पनि हो ।
काँग्रेस, एमाले र तिनका यी नेताहरु सव फेलर नेता र पार्टी हुन् । तिनको दिमागमा केही पनि छैन । तिनबाट आशा गर्नु गोरु ब्याउछ कि भन्ने ब्यर्थको आशा मात्र हो । तिनले जनताको अज्ञानताबाट फाइदा उठाउँदै जनतालाई झुक्याइ रहेका छन् ।
यसकारण यो नक्कली गणतन्त्रबाट समस्याको समाधान हुन्छ भनेर जनता ढाँट्नु नै अर्को महा बेइमानी हो । अर्को धोकेबाजी हो । एमालेसंग स्वरमा स्वर मिलाउनु नै प्रचण्डको बिचलन र नवसंशोधनबादको पुष्ट्याईं हो ।
५) व्यवस्था अहिले कै ठिक छ, लोकतन्त्र आइसक्यो, यसलाई चलाउने नेताहरु मात्र गलत छन्, नेताहरु राम्रा आएपछि यहि व्यवस्थावाटै जनताका समस्या हल हुन्छन् भन्ने एकथरी मान्छेहरु भन्दैछन् । यसमा के भन्नु हुन्छ ?
त्यसो त हिजो पञ्चायत कालमा पनि एक थरि मान्छेहरु राजा ठीक छ, ब्यवस्था पनि ठीक छ तर बीचका मान्छे गलत भएर पञ्चायत फेल भयो, राजा फेल भयो भन्ने गर्थे । यो भनाई त्यसैको नयाँ संस्करण वा पुनराबृत्ति मात्र हो ।
त्यसो भए् हिजोको पञ्चायत पनि ठीक थियो भन्न सक्नु पर्छ । ब्यवस्था खराव भएर त सव खराव भएको हो । ब्यवस्था ठीक भए खराव मान्छे पनि ठीक हुन्छ । ब्यवस्था खराव भए ठीक मान्छ् पनि खराव हुन्छ ।
यो नबुझ्ने वा बुझेर पनि जनता झुक्याउने बेइमानहरुको चालबाजी मात्र हो । अर्को कम्युनिष्टहरुले बुझ्नु पर्ने खास कुरा त सत्ता कुन बर्गको हातमा छ र कुन बर्गको अधिनायकत्व कायम छ ? भन्ने कुरा मुख्य हो । अहिलेको सत्तामा कम्युनिष्टहरुको गठबन्धन सरकार छ र त्यसमा प्रतिगामी यथास्थितिबादी सबैको समिश्रण छ ।
समष्टिमा प्रतिगामी, प्रतिक्रान्तिकारी र दलाल पूँजीबादी अधिनायकत्व कायम छ । यस्तो ब्यवस्थाले कसरी जनताको समस्या हल गर्न सक्छ । जहाँसम्म लोकतन्त्रको प्रश्न छ, यो बुर्जुवा लोकतन्त्रले जनताको समस्या हल गर्दैन ।
बुर्जुवा लोकतन्त्र खोक्रो ढ्वाङ मात्र हो । नत्र भारत जस्ता लोकतान्त्रिक मुलुकहरुमा जनताको समस्या हल हुन्थ्यो ।
सबैभन्दा धेरै समस्या र गरिबी हामी यहि छिमेकी राष्ट्र भारतमा देखिरहेका छौं । त्यसैले यो ब्यवस्थाबाट समस्या हल हुन्छ भन्नु महामूर्खहरुको बेवकुफीपना नै हो ।
६) प्रचण्ड पक्षको वर्तमान कार्यदिशा के हो ? त्यसलाई किन गलत भनिरहनु भएको छ ?
यो कुनै छिपेको बिषय रहेन कि प्रचण्ड अव संसदबादी दलहरुको एक नव प्रबेशी संसदबादी कम्युनिष्ट याने कि नव एमाले भै सक्नु भएको छ । सिङ्गो एमाओबादी संसदबादमा चुर्लुम्म डुबेको छ । २०५२ सालमा त्यहि संसदीय ब्यवस्थाका बिरुद्ध हतियार उठाएका प्रचण्डले अस्ति भर्खरै भदौ २५ गते काँगे्रस, एमालेहरुसंग बसेर १६ बूँदे सहमति गरे ।
त्यो १६ बूँदेमा वहाँले संसदबाद र बहुलबाद मान्छु भनेर सही गर्नु भयो र सोही अनुसारको सुधारिएको भनिएको तर विकृत संसदीय ब्यबस्थाको संबिधान जारी गर्न पुगे । आज त्यहि संसदीय ब्यवस्थामा पुराना संसदबादी मित्रहरुसंग संगै बसेर बिदेशी भोडकामा रमाइरहेका छन् । यो नै जनता र कार्यकर्ताले प्रत्यक्ष देखेका कार्यदिशा हो ।
क. प्रचण्डले के भन्दै आए भने कहिले जनयुद्धको समापन भयो भन्दै आए, कहिले अवको कार्यदिशा जनबिद्रोह भन्दै आए, कहिले बिद्रोहबाट संभव देखिएन अव शान्ति र संबिधान बाहेका अर्को बिकल्प रहेन भन्दै आए र अहिले नेपालमा आफ्नै बिशिष्टतामा जनबादी क्रान्ति सम्पन्न भैसक्यो यसको बाँकी कार्यभार समाजबादी क्रान्तिको दौरानमा पूरा गरिने छ, त्यसैले अवको कार्यदिशा समाजबादी क्रान्ति हो’ भन्दै नौरंगे कुरा गर्दै आउनु भएको छ ।
वहाँले के भन्दै आउनु भयो र के गर्नु भयो भन्ने दुनियाँको अगाडि कालो दाग भएर बसेको छ । समग्रमा वहाँको कार्यदिशा बुर्जुवा संसदीय ब्यवस्थाको बाटो नै हो भन्ने प्रष्टै छ ।
यसकारण हामी यसलाई बिचलित मानसिकताको चरम बैचारिक भ्रष्टिकरण हो भन्ठानेका छौं । संसदीय कार्यदिशाबाट क्रान्तिको सपना देख्ने मान्छे माक्र्सवादी हुँदै होइन ।
७) वावुराम पक्षको नयाँ शक्ति वारे के भन्नु हुन्छ ?
नयाँ शक्ति भ्रम मात्र हो । यो कुनै नयाँ शक्ति हो जस्तो लाग्दैन । हिजो देखि नेभर सेकेण्ड भनिदै आएको तर पार्टीमा जहिले पनि सेकेण्ड वा थर्ड पोजिशनमा रहेर आउनु भएका क. बाबुरामको पार्टीमा आफ्ना निश्चित साथीहरुको सानो समुहको गुट थियो ।
अव प्रचण्डको रुप नाङ्गो र उदाङ्गो भए पछि अलिकति अनुहार छिपाउन र नयाँ नामबाट बैकल्पिक संसदबादी शक्तिको रुपमा फेरी झुक्याएरै भए पनि सत्तामा पुग्ने एउटा रणनीति र आफ्ना साथीहरुको साथमा अरु बिभिन्न पार्टीमा रहेका बुर्जुवा डेमोक्र्याटसहरु, बिचलित माओवादीहरु, दलाल र भ्रष्टहरुलाई बटुलबाटुल पारी फष्ट मेन बन्ने लामो समयदेखिको अथक प्रयास र चाहान पूरा गर्ने वहाँको अन्तिम प्रयास मात्र हो जस्तो लाग्छ ।
क्रान्तिकारीहरु यसमा भ्रम पर्नु पर्ने कुनै कारण नै छैन किन कि बाबुरामजीलाई सिङदेखि पुच्छरसम्म नचिन्ने माओबादी पार्टीमा बिरलै होलान । साथ लाग्नेहरु नचिनेर वा नबुझेर वा भ्रममा परेर होइन, जानी जानीकन लागेका हुन् ।
बाहिरको पंक्तिमा पनि अर्थमन्त्री र प्रधानमन्त्री भएको बेला गरेका राष्ट्रघात, जनघात, बिश्वास घात, क्रान्तिघात जस्ता थुप्रै घातहरुका चाङहरु सार्वजनिक भएका छन् । बाहिर धेरैले यो बुझि पनि सकेका छन् । वहाँ डाक्टरी गरेको, पढेलेखेको, बिद्वान हुन् । त्यसमा सम्मान छ तर राजनीतिज्ञ चाही होइनन् ।
वहाँले जति गर्नु भयो पार्टी भित्र र बाहिरका सबै गतिबिधिहरु मालिकलाई रिझाउने भन्दा अरु के गर्नु भयो र ? जनयुद्धको समापन गर्नेमा वहाँको आधा हात रहेको छ । त्यो नियत बोकेको मान्छेको नयाँ शक्तिले के गर्ला ? सहजै अनुमान गर्न सकिन्छ ।
केही समय भ्रम दिएर केही बुर्जुवा बुद्धिजीविहरु र केही दलाल चरित्रका मान्छेहरुलाई लिएर सायद अबको प्रचण्ड, केपी सरकारको बिकल्पमा उभिएको वा उभ्याइएको एउटा पात्रको रुपमा पनि बाबुराम हो भनिन्छ । हेरौं अझै पनि यसको मूर्त रुप हेर्न बाँकी छ ।
८) तपाईहरुको कार्यदिशा र कार्यनीतिहरु के हुन् ?
प्रचण्डको बिचलन पछि क्रान्तिको कार्यभार इतिहासले हाम्रो काँधमा सुम्पेको अनुभूति गरेका छौं । स्वभाबिक रुपमा पाको पुरानो भनेर यसको ड्राइभिङको जिम्मा क. किरणलाई दियौं तर वहाँले थरथर काँपेर गाडी अगाडि लान सक्नु भएन । सायद बिग्रेको गाडि भएर हो या हिम्मत नभएर हो ।
थाहा भएन तर एउटा कुरा गाडी सर्भिसिङ गर्नु पर्ने पनि भएको थियो र गाडि नचलाएको निकै बर्ष बितेको र सबै बिर्सिसकेकोले पनि होला वहाँमा गाडि सकुशल हाँक्ने हिम्मत देखेनौ ।
वहाँले ‘जनयुद्धको जगमा जनबिद्रोह, त्यसमा पनि मुख्यतः जनबिद्रोह’ भनेर असाध्य धुलमुले कार्यदिशा ल्याउनु भयो । धेरै छलफल पछि पनि क. किरण त्यो कुहिरोबाट बाहिर निस्कन नसके पछि र अझ केही साथीहरुले छद्म नवसंशोधनबादी कार्यदिशाको वकालत गर्न थाले पछि क. बिप्लवले ‘एकिकृत जनक्रान्तिको कार्यदिशा’ ल्याउनु भयो ।
त्यसमा वहाँहरु सहमत हुनु भएन र हामी पनि किरण कमरेडहरुको छद्म नवसंशोधनबादी र अत्यन्त धुलमुले सारसंग्रहबादी कार्यदिशाप्रति सहमत भएनौं र अलग भयौं । हामीले क. बिप्लवले अगाडि सार्नु भएको नयाँ कार्यदिशालाई पहिलो राष्ट्रिय सम्मेलनबाट पास ग¥यौं र त्यस अनुसार अगाडि बढेका छौं ।
यो कार्यदिशा जनयुद्ध र जनबिद्रोहहरुका सार्बभौम पक्षहरुको जगमा नेपाली बिशिष्टतामा ढालिएको नयाँ कार्यदिशा हो । यसमा ७ वटा बिशेषताहरुलाई समाहित गरिएको छ ।
पहिलो भूगोल र नेपालको भूराजनैतिक अवस्था, दोस्रो गाउँ र शहरको बिशेषतामा परिबर्तन, तेस्रो सामाजिक बिशेषता (जातीय समीकरण), चौथो नयाँ बर्ग बिश्लेषण (मध्यम बर्गको बिकास), पाचौंं राज्यसत्ताको बदलिएको चरित्र (दलाल पूँजीबादको प्रभूत्व), छैटौं नेपाली जनतामा देशभक्ति भावनाको प्रचुरता, सातौं बिज्ञान र प्रबिधिको बिकास र समायोजन ।
यी सात बिशेषताहरुको आधारमा नेपालमा पुरानो कार्यदिशाबाट मात्र संभव छैन र यसलाई यी बिशेषताहरुको आधारमा बिकास गर्नु पर्छ भनेर यो कार्यदिशा बनाएका छौं ।
यस कार्यदिशा अनुसार हाम्रो अगाडिको मुख्य चुनौति भनेको सत्तामा नयाँ तथा पुराना दलालहरुको गठबन्धनको सत्ता कायम भएको छ । यति बेला राष्ट्रिय स्वाधिनता र जनतन्त्रको समस्या मुलुकको मुख्य राजनीतिक समस्या बन्न आएको छ ।
तथापी यी दुई कुराको ब्यवहारिक अभिब्यक्ति तत्कालिक रुपमा जनताको जनजीबिकाका सवालहरुमा आएर टकराएको छ ।
त्यसैले तत्काल दलाल र भ्रष्टाचारीहरुबाट तड्पीरहेका जनतालाई मलमपट्टी लगाउन भ्रष्टाचारी, कमिशनखोर, कालाबजारी, तस्करी, सीमा अतिक्रमण र निर्बाध आवत जावत नियन्त्रण गर्ने र युवाहरुलाई बिदेश जानबाट रोकी स्वदेशमै रोजगारको ब्यवस्था गराउन युवाहरुलाई ब्यापक रुपमा गोलबन्द गर्नु र संबिधान र राज्यबाट दिनानुदिन जनताको बिद्रोहलाई दमन गर्ने सरकारी रबैयाको अन्त गर्ने आदि हाम्रा तत्कालिक कार्यनीति बन्न आएको छ ।
हामी यस अनुसार नै अगाडि बढ्ने प्रयत्न गरिरहेका छौं ।
९) नेपाली जनताले पुनः अर्को क्रान्ति गर्नु पर्दछ भन्दै हुनुहुन्छ , यसको आवश्यकता किन ?
किन कि नेपालमा अन्तिम क्रान्तिको स्टेप बाँकी छ । बस्तुस्थिति र ब्यवहारले के प्रमाणित गरेको छ भने नेपाली क्रान्ति चार चरणको सशस्त्र क्रान्तिबाट मात्र पूर्ण हुने देखियो । नयाँ जनबादी क्रान्तिको चरण अव अन्तिम चरणमा आएको छ ।
यो चौथो र अन्तिम क्रान्ति असफल भयो भने क्रान्ति सय बर्ष पछि धकेलिने छ । फेरी नेपाली जनता बाह्य हस्तक्षेप, भ्रष्टाचार, कालोबाजारी र महँगीको चरम शिकार बनेका छन् । उनीहरु तड्पीएका मात्र छैनन् कि उनीहरु उकुस मुकुस पनि छन् ।
निकास खोजीरहेका छन् । तर दलाल सत्ताले निरिह बनाएको पनि छ । यत्रो हस्तक्षेप हुँदा पनि नेपाली जनताको मनमा बिद्रोह र प्रतिशोधी भावना वढे पनि व्यवहारमा जाने कम देखियो । यो सोचनीय बिषय बनेको छ तर यो समस्याको हल क्रान्तिले मात्रै गर्नेछ । त्यसैले क्रान्ति आबश्यक भएको हो ।
१०) अर्को क्रान्ति सफल हुन्छ र धोखा हुँदैन भन्ने आधार के छ ?
धोखा दिनेले धोखा दियो तर हामी धोखा चाहिं दिदैनौं किन कि हामी क्रान्तिका लागि सबै अवसर र सुबिधाहरुलाई छाडेर यो जोखिम मोल्न तयार भएका हौं । यहि नै एउटा मुख्य आधार हो ।
तर मान्छे हो ग्यारेण्टी गरेर क्रान्ति गरिने बिषय चाहिं होइन । यो अन्जान जनताले उठाउने एउटा प्रश्न त हो तर सचेत ब्यक्तिले यो गर्न सुहाउँदैन किन कि यसलाई अहिले अवसरबादीहरुले क्रान्तिकारीहरुलाई पनि अबिश्वासको पात्रको रुपमा उभ्याउने हतियारको रुपमा प्रयोग गर्दै आएका छन् ।
मान्छे भोली मरेर जाने हो अनि कसैले म मर्दैन भनेर ग्यारेण्टी गर्न सक्छ कसैले ? नेता बिग्रिन सक्छ । सहि हँुदासम्म साथ दिने र समर्थन गर्ने तथा गलत गरे भने संघर्ष । यो नै द्वन्दबाद हो ।
म फेरी पनि दोह¥याउँछु, यो अन्तिम युद्ध हो । त्यसैले एक पटक सबै अन्तिम पटक साहसका साथ जुटौं । हामी यसको नेतृत्व गर्न चाहान्छौं बस । यो भन्दा अरु के भन्न सकिन्छ र ? जीवन दिने बाचाभन्दा अरु दिने बस्तु नै के छ र ?
धोखेबाजीहरु त्यहि मर्ने छाला बचाउन र क्षणिक सुख, सुबिधा र स्वार्थका लागि त धोखा दिन्छन् र दिएका छन् । हामी यसबाट मुक्त भएर अगाडि बढ्ने आँट र प्रयास गरेका छौं । यो भन्दा अरु बिश्वासको आधार ‘भगवान’ आएर पनि दिन सक्दैन ।
११) एमाले, एमाओवादीको तरिकावाट क्रान्ति सम्भव किन हुँदैन ?
किन कि संसदीय वाटोवाट क्रान्ति बिश्वमा कहिं भएको छैन । यो खशीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने सिद्धान्त हो । एमाले र एमाओबादीहरु त्यहि कुकुरको मासु बेच्ने बुच्चरको सिद्धान्त लिएर कालोबजारी गरी बसेकाछन् । यो क्रान्ति होइन भ्रान्ति मात्र हो ।
१२) भारतीय नाकावन्दीलाई के भन्नु हुन्छ ? यसको समाधान के हो ?
पहिलो, भारतीय नाकाबन्दी नेपाली राष्ट्रियता माथिको हस्तक्षेप हो । दोस्रो यो नेपाली जनताको आन्तरिक मामिलामा हस्तक्षेप हो । तेस्रो यो दुईपक्षीय सन्धी, सहमति र अन्तराष्ट्रिय कानून र मूल्य मान्यताको उलङ्घन हो ।
चौथो, नेपाली दलाल नेताहरुको दलालीको मात्राको परिक्षण पनि हो । पाचौं, नेपाली काँगे्रस, एमाले हुँदै बाबुराम, प्रचण्डसम्म आउँदा बाहिर र भित्री रुपमा भएका खुल्ला र गोप्य राष्ट्रघाती सन्धी संझौताहरुको प्रमाणीकरणका लागि दबाव हो ।
छैटौं उनीहरुले पटक पटक नेपाल माथि गर्दै आएको हस्तक्षेपका बिरोधमा नेकपा माओवादीले जनतालाई भारतीय बिस्तारबादी कदमका बिरुद्ध गरेको संघर्षको प्रतिशोध पनि हो ।
सातौं आर्थिक रुपमा बाहिर नाकाबन्दी गरे जस्तो गरी भित्र कालोबजारी र कमिशनबाट भारतीय दलाल, भातेहरुलाई मोटाउन र पोस्ने, नेपाली जनतालाई लुट्ने, लुट खसौटको सुनियोजित खेल हो ।
यो कार्य घोर निन्दनीय छ र यसको नेपाली जनताले डटेर बिरोध गर्न जरुरी छ । अन्तमा यो नाकाबन्दी ‘भारतको सीमाना हिमालयसम्म हो’ भन्ने नेहरु डक्टरिनको निरन्तरता हो ।
यसको समाधान राष्ट्रिय मुक्ति युद्ध र नयाँ नयाँ जनवादी क्रान्ति हो । नेपालको सन्दर्भमा नयाँ जनवादी क्रान्ति आफै पनि राष्ट्रिय मुक्तियुद्ध हो ।
क्रान्तिको सफलता पछि गरिने पुराना असमान सन्धी संझौताहरुको खारेजी र आपसी समानताको आधारमा नयाँ ढंगबाट दुई मित्र राष्ट्रका बीच द्वीपक्षीय रुपमा गरिने नयाँ संझौता र सहमतिहरुले मात्र यस प्रकारको निरन्तर हस्तक्षेप गरिरहने प्रबृत्तिको अन्त्य गर्नेछ ।
यो दलाल शासकहरुको कुटनीतिक पहलबाट संभव छैन किन कि उनीहरुले अझ यो भन्दा ठूलो घात गर्ने संभावना छ ।
१३) मधेश समस्या के हो ? यसको समाधान के हो ?
मधेशको समस्या नेपाली जनताको आन्तरिक समस्या हो । यो राष्ट्रियता र जनतन्त्रको समस्या हो । यसलाई अन्य नेपाली नागरिकहरुको जस्तै मधेशको बिशिष्ट समस्या भएकोले नेपाली क्रान्तिको समस्याको एक अभिन्न अंगको रुपमा लिनु पर्छ र सत्ताबाट यसको हल गर्नु पर्दछ । यसको स्थायी हल पनि क्रान्ति नै गर्ने हो ।
यसलाई नेपाली जनताको समस्या भन्दा बाहिरबाट हेरिनु हुँदैन । यसलाई राज्यसत्ताले गंभीरतापूर्बक लिनु पर्दछ ।
१४) के मधेशको विषयमा दिल्लीमा गएर वार्ता गर्नु ठीक हो ? मधेशको विषयमा भारतीय मन्त्री र नेपालका प्रधानमन्त्री वीच सहमति भयो भनिन्छ, यो सहमति वारे के भन्नु हुन्छ ? मधेशी मोर्चाले मधेशमा तराई भूभागको मात्र दुई प्रदेश माग गरिरहेको छ, यसवारे के भन्नु हुन्छ ? मधेशको जनसंख्याको आधारमा प्रतिनिधित्व वढाउन पर्ने उनीहरुको माग वारे के भन्नु हुन्छ ?
मधेश नेपालको भूमि हो । मधेशमा बस्ने जनता नेपाली हुन् । मधेश र मधेशी जनताको समस्या नेपाली जनताको समस्या हो । यो समस्या नेपालको आन्तरिक मामिला हो ।
यो हाम्रो आन्तरिक मामिला भएकोले यसको हल गर्ने हक नेपालको राज्यसत्ता र मधेशी जनतामा मात्र छ । त्यो अधिकार दिल्ली र कुनै मधेशी नामका दलालहरुलाई छैन । अहिलेसम्म नेपालका नेताहरु सानो समस्या आयो भने पनि दिल्ली डौदने नियति बनेको छ । यो गलत छ ।
यसले देखाउँछ कि नेपालका यी नेता भनाउँदाहरु भारतका दलाल हुन् । यी मालिक बिना केही पनि गर्न सक्दैनन् । ‘‘दिल्ली बिना नेपालका नेताहरुको घाँटीमा पानी नै नछिर्ने के भाको हो ?’’ भनी जनता भन्छन् । यहि दलालीको प्रकरण हो दिल्लीमा बार्ता गर्नु ।
यो दिल्ली धाउने सोच नै गलत छ पहिलो कुरा । दोस्रो, नेपालको प्रधानमन्त्री हो या मन्त्री सचिवहरु हुन् भारतसंग गरिने दुईपक्षीय सहमति अपादर्शी हुनु हुँदैन । सहमति गर्न सकिन्छ, सक्छन् तर के को निम्ति र किन गर्ने ? यो जनता र राष्ट्रको हितमा हुनु पर्छ ।
बिगतमा यस्ता थुप्रै गोप्य रुपमा गरिएका असमान सन्धी, सम्झौता र सहमतिहरुले गर्दा आज नेपाली जनताहरुलाई यो सास्ती दिईरहेको छ । यो नाकाबन्दी पनि त्यसैको एउटा कारण हो ।
तेस्रो मधेशी नेताहरुले उठाएका कतिपय मागहरु राष्ट्रघाती र नेहरु डक्टरिनलाई टेवा दिने प्रकारका छन् । दुई प्रदेश नै मधेशीहरुलाई किन आबश्यक प¥यो ? सुनसरी, मोरङ छुट्याउँदा अर्को समुदायको भावनामा पनि त चोट पर्ला नी । त्यसप्रति पनि सोच्न पर्छ । आफ्नो बारेमा सोच्दा अरुको बारेमा पनि सोच्न सक्नु पर्छ ।
फेरी असल नियतबाट उठेका वा उठाइएका कुराहरु गलतै भए पनि यो छलफलको बिषय बनिनु पर्छ, तर खराव नियतले जति राम्रो सोचे पनि त्यो घातक हुन्छ रणनीतिक दृष्टिले । कति प्रदेश बनाउने मधेशी जनताको मूल मुद्दा होइन, मधेशी जनताको हक र अधिकार सुनिश्चित गर्ने कुरा मूख्य होे ।
अहिलेसम्म नेपालको राज्यसत्ताबाट मधेशी जनता माथि गरिदै आएको भेदभाव र उपेक्षाको अन्त हुनुपर्छ र अन्य नेपाली नागरिकहरु सरह मधेशी जनतालाई पनि राज्यले नागरिक अधिकार र सम्मान दिनु पर्छ तर यो वा त्यो रुपमा भारतीय डिजाइनमा उठाइने कुराहरु ठीक छैनन् ।
यो वा त्यो रुपमा भारतीय नागरिकहरुलाई नेपाल हुलेर नेपाललाई फिजी बनाउने भित्री नियति छ यो गलत छ । जनसंख्याको आधारमा निर्बाचन क्षेत्र तोक्ने र प्रतिनिधित्व गराउने भन्ने कुरा प्रकारान्तरले नेपाललाई फिजी बनाउने भारतीय मनसाय छ ।
खास नेपाली मधेशी जनताको आत्मामा चोट नपुगोस तर यो प्रस्ताव मधेशी जनताको हितमा छैन न त नेपाली राष्ट्रियता कै निम्ति । अतः यसप्रति सबै नेपाली मन, तन भएका नागरिकले गंभीरतापूर्बक सोच्न आबश्यक छ ।
१५) जनजाति समस्या के हो ? जातीय समस्या र वर्गीय समस्या वीच कसरी तालमेल मिलाउनु हुन्छ ?
जनजातिको समस्या पनि बर्गीय समस्या कै अर्को रुप हो । यो आन्तरिक राष्ट्रियताको समस्या हो । यसको हल पनि क्रान्तिसंग जोडिएको छ । यसलाई बार्ता, सहमतिबाट हल गर्न खोज्नु निरर्थक प्रयास मात्र हो । यो त क्रान्तिले हल गर्ने बिषय हो ।
किन कि जातीय भने पनि यसको साइनो सम्बन्ध बर्गीय मुक्तिसंग गाँसिएको छ । जातीय र बर्गीय समस्या एक अर्कामा अभिन्न छन् । यी दुईलाई अलग्याएर हेरिनु हुँदैन ।
यी यस्तो चीज हुन् कि बर्गीय मुक्ति बिना जातीय मुक्ति असंभव छ र जातीय मुक्ति बिना बर्गीय मुक्ति पनि अपूर्ण र अधुरो हुन्छ । यसलाई पूरा गर्न फेरी अर्को क्रान्ति गर्नु पर्छ । यसैलै यिनलाई पृथक ढंगले हेर्ने र बुझ्ने गर्नु अमाक्र्सबादी सोच हो ।
१६) तपाई ऐतिहासिक थवाङ गाँउका पनि नेता हुनु हुन्छ । थवाङका जनताको भनाई के पाउनु भएको छ ?
‘‘अहिलेसम्म नेताहरुलाई पालियो, पोषियो, अफ्ठ्यारो भन्दा अफ्ठ्यारोमा पनि साथ दिइयो तर नेताहरुले यसको बदलामा धोखा मात्र दिए । थबाङले दिएको बलिदान र क्रान्तिप्रतिको सेवा खेर गयो ।
अवका नेताले धोखा नदिउन अझै हामी क्रान्तिलाई साथ दिन्छौं’’ं भन्ने थबाङ्गी जनताको भनाई छ र क्रान्ति र आमूल परिबर्तन थबाङ्गी जनताको चाहाना र सपना छ ।
१७) तपाई हालै केन्द्रीय जनपरिषदको प्रमुख चुनिनु भएको छ । यसको उद्देश्य र कार्यक्रमहरु वारे वताइ दिनुस् । के अब नेपालमा अर्को जनसत्ता जन्माउन खोज्नु भएको हो ?
बर्ग समाजमा दुई शक्ति दुई सत्ता, दुई बिचार, दुई ध्रुव यो स्वभाबिक प्रक्रिया हो । यो कहिले घोषित हुन्छ, कहिले अघोषित हुन्छ । जुन बर्गको सत्ता छ त्यो घोषित हुन्छ जुन बर्ग सत्ता बाहिर वा प्रतिपक्षमा छ त्यसको सत्ता अघोषित नै हुन्छ ।
शक्ति सन्तुलनको अवस्था वा स्थितिको माग अनुसार त्यो घोषित रुपमा आउँछ । यो सत्ता सम्बन्धि सैद्धान्तिक पक्ष हो । जस्तै अहिलेको कुरा गर्दा हामी अहिले संघर्षको चरणमा छौं ।
अहिले हामी ब्यापक जनतालाई गोलबन्द गर्न र प्रतिक्रियाबादी सत्ताका बिरुद्ध ब्यापक मोर्चा कायम गर्न परिषदलाई केद्रीय रुपबाट संघर्षको संयोजन गर्न अहिले संघर्षको साधनको रुपमा लिएका छौ ।
यदि सत्ताधारी बर्गले उचित राजनीतिक निकास दिन तयार भएनन् भने यसले रुप बदल्न पनि सक्छ तर अहिले भने यसका्े मुख्य भूमिका आन्दोलनको संयोजनकारी भूमिका नै हुन्छ ।
यसले राजनीतिक रुपले संसदीय सत्ता र कथित संघीयताको धज्जी उडाउदै नेपाली जनतालाई कथित संघीयता, कथित संबिधान, कथित लोकतन्त्रको भण्डाफोर गर्दै जनतालाई संसदबादी भ्रमबाट मुक्त पार्ने र संघीय जनगणतन्त्र निर्माणको दिशामा अग्रसर गराउने नै यसको तत्कालिक कार्यभार हुने छ ।
साथै यसको संगठनात्मक संरचना पनि गाउँ गाउँसम्म फिजाएर जनतालाई राष्ट्रियता र जनतन्त्र प्रति सचेत बनाउँदै ब्यापक संयुक्त मोर्चा निर्माण गर्ने र जनतालाई अन्यायका बिरुद्ध आन्दोलित र गोलबन्द गर्दै आफ्नो सुरक्षा आफै गर्न सक्ने आत्मनिर्भर अर्थनीति र राजनीति तिर अग्रसर गराउने नेतृत्वकारी भूमिका यसको रहने छ ।
यसलाई अहिले नै सत्ताको बिकल्प वा रुप दिएका छैनौं । भोली संसदबादी दलहरु एकलौटी रुपमा संसदीय ब्यवस्था लागु गर्ने र लाद्नेतिर गए भने यसले त्यसको बिकल्पको रुप लिन पनि सक्छ ।

तर अहिले यसले ब्यापक मोर्चा र संघर्षको साधनको काम गर्ने छ । अहिलेको हाम्रो घोषित नीति यहि हो ।
Loading...