Loading...
बाबुरामको २– ३ वर्षको बिगतलाई नियालौं । कसैलाई के को धन्दा, घर ज्वाइंलाई भने खानकै धन्दा भने झैं पार्टी सङ्कटको महाभुमरीमा फसेको बेला बाबुराम भने यही उखानलाई चरितार्थ गर्न जोडतोडले लागिपरेका थिए संबिधानसभामा । संविधानसभामा पार्टीको हारलाई अध्यक्ष पड्काउने सुनौलो अवसरको रुपमा प्रयोग गरेको देख्दा कसैले भन्न सक्ने अवस्था थिएन कि उनले पदलोलुपताको पराकाष्ठा देखाएका थिएनन । केही समय अगाडि मात्र उनले खाईपाई आएको पार्टी उपाध्यक्षको पद त्याग गरेका थिए । आलोचकहरुले उनको यो कदमलाई राष्ट्रपति खाने फन्डाका रुपमा अर्थ्याएका थिए । तर, चुनाबी परिणामले उनको यो सपनामाथि बज्रपात भयो । त्यसैले हुनसक्छ, त्यो कालदेखि हिजो पर्यन्त, अर्थात् जुन अवधिसम्म एमाओवादीमा रहेका थिए, अध्यक्ष पदका लागि जिब्रो फड्कार्दै पलपल तड्पिरहेका थिए । निश्चय नै आफ्नो हारमा जसलाई पनि दुःख लाग्छ । एमाओबादी अनि उसका समर्थकहरुलाई पनि चुनाबी परिणामले दुःखी बनायो नै । तर, बाबुराम भने यो हारलाई आफ्नो गुटको पक्षमा बहार ल्याउने एउटा राम्रो अवसरको रुपमा लागेको देखियो । जतिखेर चुनाबमा धाँधलीका संकेत देखिदै थिए, बाह्य धाँधलीका कारणले पार्टी हारेको निष्कर्ष निकालिदै थियो, एउटा अन्तराष्ट्रिय गुरुयोजनामै पार्टीलाई हराइएको भनेर दाबी बिरोध गरिदै थियो, स्वतन्त्र छानबिन आयोगको कुरा गरिदै थियो, यसका बिपरित बाबुराम भने पार्टीको त्यो लाइन विपरित आन्तरिक कारणले नै हारेको, पार्टी संगठन राम्रो नभएर हारेको।।।। आदि भनेर शत्रु हसाउनतिर लागे । जबकि एमाओबादीको कट्टर आलोचक पार्टी नेकपा–माओवादीको केन्द्रीय समिति बैठकले समेत एमाओवादी यो लेभलले हार्ने पार्टी हैन भनेर भनिसकेको थियो । तर, बाबुरामको नियत उनका सामाजिक संजालमा लेखिएका स्टाटसलाई नियाल्ने सबैले सजिलै बुझ्न सक्थे । राजनीतिको कखरा पढ्ने जसले पनि सहजै अनुमान लगाउन सक्छ कि बाबुरामको यो कचकच कुर्सीकै लागि हो । अध्यक्ष पदकै लागि हो । सङ्कटकै बेलामा नेतृत्वमाथि प्रहार गर्ने हो । त्यो भन्दा राम्रो अवसर फेरि जुर्ला– नजुर्ला भनेर उनी मरिमेटेर एक्लै भएर पनि अध्यक्ष पदमा आसिन हुन हतारिएको प्रष्टै बुझिन्छ । न्वारानदेखिको बल लगाएर छट्पटाउनुको अभिप्राय त्यही नै हो । जब संबिधान घोषणाको दिन आयो, प्रचण्डको जादुमयी भाषणले मान्छेहरु मुग्ध बने । बुर्जुवा गणतन्त्रबादीहरुले प्रचण्डको महिमा गाउन थाले । हिजोसम्म बाबुराम–बाबुराम भन्नेहरुले प्रचन्डलाई हाइ– हाइ गर्न थालेपछि बाबुरामको चित्त कुडियो । आफुले जनसेना बुझाएको, जमिन्दारको जमिन फिर्ता गरेको गुण बिर्सिएकोमा सामन्त–जमिन्दार अनि अवसरवादी चरित्रका बुर्जुवाप्रति बाबुराम खिन्न बने । आफ्नो लोकप्रियता यसरी बढ्ला–नबढ्ला, स्वयं प्रचण्ड नै दोधारमा थिए । तर ३ गतेको लोकप्रियताले उनमा नयाँ जोश देखा पर्यो । अब क्रमश उनको कुम हल्लिन सक्छ । जुल्फी लर्किन सक्छ । पार्टी अध्यक्ष अझै पनि उनको लागि अर्को दस बर्ष मजाले सुहाउन सक्छ । त्यसैले ज्यान गए उनले अध्यक्ष छोड्दैनन । प्रचण्ड भन्दा केही जेठा बाबुरामलाई अब यो पार्टीमा अध्यक्ष बन्ने पालो आउला जस्तो लागेन । आँखिर इन्जिनियर हुन्, नक्शा त कोरिहाल्छन् नि । नक्शा हेर्दै आफ्नै नक्शालाई धारे हात लाउँदै रिसले पार्टी छोडे । पार्टी सदस्य छाडे । भन्नुपर्छ, आफ्नै पिरोले मरिच चाउरिए झैँ आफै चाउरिए । जसको नीति उसको नेतृत्व नभएर पार्टी पराजित भएको सो गुटको आरोप थियो । जनविद्रोहमा जाने पालुङटारको म्यान्डेट बिपरित भट्टराईको मुर्दा शान्तिमा परिणत निति कार्यक्रम लागु गर्नुको परिणामलाई अध्यारो कुनामा लुकाएर भएभरको दोषको भागिदार अध्यक्षमाथि थुपारेका थिए, यद्यपी थोपर्दैछन् । अध्यक्षले बहुमतमा रहेको मोहन बैद्यको कार्यनीतिलाई उपेक्षा गरेर आफ्नो कार्यनीतिलाई लागु गरेकोमा धन्यबाद दिनु त कता हो कता उल्टै दिल दिमागले सहयोग गर्ने अध्यक्ष माथिको यो बिष वमन हृदय कुडाउने खालको थियो । जहाँसम्म पार्टी हार्नुको कारण छ, वस्तुबादी भएर विश्लेषण गर्ने हो भने बाबुरामकै प्रधानमन्त्री कालमा पार्टी घनघोर रुपले अलोकप्रिय हुन् पुग्यो । बिप्पाको कुरा, एयरपोर्ट भारतलाई दिने कुरा, सुकुम्बासी बस्तीमा डोजर कुदाएको कुरा, सामन्तको जमिन फिर्ता गरेका कुरा, जनसेना बिगठनका कुरा,।।।। यी तमाम घटनाहरु एमाओवादीलाई अलोकप्रिय गराउन पर्याप्त थिए । र, यी सबै कुकाम बाबुरामकै प्रधानमन्त्री कार्यकालमा हुन् गए । यिनै बिषयबस्तु माथि असहमति जाहेर गर्दै जनयुद्द लड्ने प्रमुख शक्तिलाई लिएर नेकपा– माओबादीले छुट्टै पार्टी गठन गर्यो । यी कारणले एमाओबादी कमजोर भयो । मधेशबादी जस्तो अवसरबादी गुटलाई साथ लिएर प्रधानमन्त्री हुनै पर्ने त्यस्तो के बितेको थियो । तिनीहरुको जस्तोसुकै शर्तलाई पनि मानेर बाबुरामले कुन त्यस्तो अमृतरस पान गर्नु पर्ने थियो, कुन अमृतसागरमा डुबुल्की मार्नु पर्ने थियो । अर्थमन्त्री हुँदाको त्यति राम्रो इज्जत–प्रतिष्ठालाई ध्वस्त गरेर त्यो प्रधानमन्त्रीको भाष्मसुरे कुर्सीको चाकडी किन त्यत्ति सारो गर्नु पर्थ्यो रु पार्टीलाई तहसनहस बनाउने आफु अनि दोषको भागिदार चै विचरा छबिलाल माथि तेर्स्याउने, यो कहाँको न्याय हो रु यो त छबिलालको छाबि माथिकै नाङ्गो हमला हो । वास्तवमा एमाओबादीले चुनाव हार्नुमा बाह्य करणको साथसाथै प्रशस्त रुपमा आन्तरिक कारणहरु पनि छन् । सबैभन्दा ठूलो आन्तरिक कारण भनेको बाबुरामको संसदमोही कार्यनीति हो । एकपछि अर्को गर्दै उनको कार्यनीति खसीको टाउको झुन्ड्याएको मासु पसलमा गएर कुकुरको मासु खरिदमा व्यस्त देखिन थाल्यो । जसलाई तमाम क्रान्तिकारी तप्काले अस्विकार गरिसकेका छन् । कुकुरकै मासु किन्ने हो भने त अन्य पुराना संसदबादी दलतिरै गए पनि भै हाल्यो नि, किन नयाँ पसलमा धाउनु भन्ने खालको धारणा पनि जबर्जस्त ढंगले निर्माण भएको छ । गत संबिधानसभा चुनाबले त्यसकै सङ्केत गरेको छ । त्यसैले शान्ति र संबिधान बाबुरामले आफ्नो कार्यदिशा भनेका छन्, उपलब्धि के भयो अनि के गुम्यो त्यसको भागिदार उनी स्वयं हुन् । यो २– ३ वर्षको अवधिले बाबुरामलाई यसरी नै चिनायो । जे देखियो सतहमा, लेखियो । बैद्य–विप्लव माओबादीको बहिष्कारका बीच चुनाव भयो । संबिधानसभा–२ गठन भयो । अन्ततः त्यही सभाले संबिधान घोषणा भयो । संबिधानसभाका ९० प्रतिशत भन्दा बढी सभासदले स्वीकृतिमा मुन्टो मात्रै हल्लाएनन, ल्याप्चे नै धस्काएका छन् । लोकतन्त्रवादी हौँ भन्दै चुनावमा भाग लिने दलले यसको सम्मान गर्नु बिश्व लोकतन्त्रको चली आएको मान्यता नै छ । जसले यसलाई मान्दिन भन्छ, आफ्नै हातले सेरिनुको विकल्प छैन । संबिधानसभाले जे निर्णय गर्छ, स्वीकार्छु भनेर आफै संबैधानिक–राजनैतिक सम्बाद समितिको सभापति पनि बन्ने अनि आफै संबिधान चित्त बुझेन भन्दै बाउँठिने ब्यबहार उनी जस्तो हाइ प्रोफाइलका मान्छेलाई सुहाउने कुरा कदापी हैन । मिठो–मिठो जति मेरो, तितो जति तेरो भन्ने बाबुराम मन्त्र समाजलाई कति ग्राह्य हुन्छ, उनैले बुझून । आज मधेशको नाममा तराई केन्द्रित केही दलले संविधानको ठूलो बिरोध गरेर समाजमा विध्वंस मच्चाईरहेका छन् । भारतीय भूमीमा भोजभत्तेर खाएर नेपाली सुरक्षाकर्मिमाथि ढुंगा– मुढा गर्नेहरुप्रति हाम्रो सहानुभूति कसरि रहन सक्छ रु अंगीकृतलाई नागरिकता मात्रै हैन बिशेष ओहोदा पनि चाहियो भनेर गरिएको आन्दोलन देख्दा– देख्दै यदि कसैले मधेश आन्दोलनलाई सम्बोधन गर भन्छ भने, तीनको नियतलाई हामीले बुझ्नु पर्दछ । तिनको आन्दोलन आफ्नो लागि भन्दा पनि आगामी दिनमा हुनेवाला नेपाली नागरिकको लागि भन्ने प्रष्ट हुन्छ । तराई आन्दोलनको सेरोफेरोमा नेपालमा संबिधान घोषणा हुन साथ भारत नाङ्गो रुपमा प्रस्तुत भयो । तर पनि नाकाबन्दी गरेको एकै दिनमा भारत आफै बिश्व रंगमंचमा नांगियो । लोक–लाजले आफु लुक्यो र खेतालाहरूलाई पठायो । यतिखेर नेपाली मधेशबादीको माग भारतको भएको छ । भारतीयको माग कथित मधेशबादीहरुको भएको छ । त्यसमा बाबुराम पनि अन्तरघुलित बनेर देखा परेका छन् । बाबुरामलाई फेरि एक पटक क्रान्तिकारी देखाउने अवसर प्राप्त भएको छ । भारतको स्वार्थ अनुसार रचित उसको सात बुँदालाई टाउकोमा बोकेर हिंड्ने कथित मधेसबादीहरुको माग पूरा गर्नुपर्छ भन्दै बाबुरामले आफ्नै संविधानलाई स्वागत गर्न सकेनन । भारतीयहरुको अनाबश्यक हस्तक्षपलाई डटेर सामना गर्नुको सट्टा देशको पक्षमा उभिने पार्टी एबम आफ्नै नेताप्रति विषबमन गरेका छन् । राष्ट्रबादीहरुलाई नक्कली राष्ट्रबादको संज्ञा दिएका छन् । अनि आफूलाई प्रगतिशील राष्ट्रबादी दाबी गरेका छन् । आफ्नो देशलाई सिक्किम बनाएर गाडी चढ्नु पनि प्रगतिशील राष्ट्रबाद हैन । भारतीयले लगाएको भोजभतेर खाएर वारी आएर नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्नेहरु नेपाली नागरिक हुन् भनेर बिश्वास गर्ने सकिन्न । बाबुरामले यसैमा प्रगतिशील राष्ट्रबाद देखेका हुन् भने उनी लेन्डुप दोर्जेका सच्चा अनुयायी हुन्भ भनेर जनताले नभन्लान भन्न सकिन्न । केही छिनपछि चट्याङ बज्रने बिजुली चम्कँदाको उज्यालो भन्दा हामीलाई टुकी बत्तिको उज्यालो नै ग्राह्य छ । प्रचण्डको साइकलको कुरा पनि यहि कुराको बिम्ब स्वरूप आएको हो । बाबुरामले नबुझेको हैन, बद्ख्वाइ गरेका मात्रै हुन् । सारा राष्ट्रबादी शक्ति मात्रै हैन, घरेलु प्रतिक्रियाबादी शक्तिहरु पनि, जे जति छन् यो राष्ट्रमा, राष्ट्रिय संकटको संगिन यस घडीमा बिदेशी आक्रमणको बिरुद्दमा लड्नु पर्ने अवस्थामा बाबुरामले अप्रत्याशित ढंगले पार्टी छोडेर देश– जनतालाई कमजोर बनाउनु भनेको अन्तत भारतीय बिस्तारबादलाइ सहयोग पुर्याउनु हो । अन्त्यमा, ०४४–०४५ सालताका पनि भारतले नाकाबन्दी गरेको थियो । टाकुरामा उभिएको जुनै बेलामा पनि उसले पछाडिबाट हुत्याउँछ भन्ने कुरो किन कहिले पनि बुझिएन रु बुझ्ने प्रयास किन गरिएन रु नेपाली शासकहरुको नालायकी पाराको सिलसिला कहाँसम्म जारी रहने हो रु भारतले चेताएको कमसेकम यो तीस बर्षको अवधिमा सर्वसम्पन्न अर्को छिमेकी राष्ट्रसँगको मार्गहरु पहिल्याउने प्रयास किन गरिएन रु नाकाहरु किन फराकिलो पारिएन रु हामी पैसै तिरेर किन्ने हो, भारतकै माल किन चाहिन्छ हामीलाई रु केही समय अगाडि इन्डियन आयल कर्पोरेसनले उसँग बाहेक अरुसँग खरिद गर्न नपाउने गरी सम्झौता गर्न खोजेको थियो । आफु पनि नबेच्ने, अरुसँग पनि किन्न नदिने । नेपालीलाई निचोरेर मार्न खोज्ने । कस्तो खालको मित्रवत सोचाइ उनीहरुको रु नालापानी युद्दमा बीर बलभद्र अनि उनका महिला– बालक सहितका लडाकू दस्तालाई किल्लामा जाने पानीको मुहान थुनेर अंग्रेजहरुले जे सिकाएका थिए । आजसम्म पनि भारतीयहरुले आफ्नो मालिकले दिएको पाठ मनमनै घोकिरहेका रहेछन् । दुःखको कुरा यही नै छ ।
Loading...
Social Buttons