Loading...
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि मुलुकको राष्ट्रपति बहुमतीय प्रक्रियाका आधारमा चयन हुँदै छ । बहुमतीय आधारमा राष्ट्रपति चयनका लागी निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गराउन समय तोकिएको छ ।
भोली अपराहृन ३ बजे व्यवस्थापिका संसद्मा राष्ट्रपति चयनका लागि गोप्य मतदान हुनेछ । राष्ट्रपतिका लागि प्रमुख सत्तारुढ दल नेकपा एमालेले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दिने घोषणा गरे पनि कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा निर्णय भने आइसकेको छैन । गणतान्त्रिक नेपालको पहिलो महिला रक्षामन्त्री बनेकी नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी पहिलो महिला राष्ट्रपति बन्ने सम्भावना बलियो देखिएको छ । नेकपा एमालेको स्थायी कमिटीको वैठकवाट उपाध्यक्ष भण्डारीलाई राष्ट्रपति उमेदवार बनाउने निर्णय गरेको छ । भण्डारी सत्तारुढ दलहरुको तर्फबाट साझा उम्मेदवार बन्ने भएकाले उनको विजयी सुनिश्चित रहेको छ । सत्तारुढ दलहरुसँग राष्ट्रपति निर्वाचित हुन आवश्यक स्पष्ट बहुमत रहेको छ ।
२०१८ सालमा भोजपुर, मानेभन्ज्याङमा जन्मेकी विद्या भण्डारी २०३६ सालदेखी निरन्तर राजनितीमा सक्रिय छिन् । यद्यपि उनका लागि विशेष राजनीतिक अवसरको उदय भने उनका पति तथा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको दुर्घटनामा निधनपछिको परिस्थितिले गराएको हो ।
२०३६ सालको विद्यार्थी आन्दोलनमा उनी सक्रिय थिइन् । उनले २०३७ सालमा नेकपा (माले) को सदस्यता लिइन् । राजनीतिक कार्यक्रमकै दौरान मदन भण्डारीसँग भएको भेट २०३९ सालमा बिहेमा परिणत भयो । विवाहपछिका केही वर्ष उनले पतिकै राजनीतिक यात्रामा सघाइ रहिन् ।
२०५० सालमा रहस्यमय दासढुङ्गा दुर्घटनामा मदन भण्डारीको निधन भयो । २०५३ सालको मध्यावधि निर्वाचनको माहोलले पहिले मदन भण्डारी सांसद छानिएको क्षेत्रबाटै विद्या भण्डारीलाई टिकट दिलायो । कांग्रेस हस्ती कृष्णप्रसाद भट्टराईलाई हराएपछिको सफलताले उनलाई जनसंख्या तथा वातावरण मन्त्रीको पदमा पुर्यायो । सात महिना उनले मन्त्रालय हाँकिन् ।
२०५५ सालमा उनि अखिल नेपाल महिला संघको अध्यक्ष भइन् । ०५५ सालमा अखिल नेपाल महिला संघको अध्यक्ष बनेपछि हालसम्मै उनि अखिल नेपाल महिला संघको अध्यक्ष छिन् ।
नेकपा (एमाले) को छैटौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा आबद्ध उनी आठौं महाधिवेशनमा आइपुग्दा उपाध्यक्षको नेतृत्व लिन सफल भइन् । र नवौं महाधिवेशनवाट पनि उपाध्यक्षमा निरन्तरता पाईन् । २०६६ सालमा गणतान्त्रिक नेपालको पहिलो महिला रक्षामन्त्री बनेकी उनि अव गणतान्त्रिक नेपालको पहिलो महिला राष्ट्रपति बन्ने निश्चितप्राय भएको छ ।
- Loading...
Social Buttons