Latest News

प्रचण्ड सरकारबारे गम्भीर निर्णय गर्न संघीय गठबन्धनको बैठक बस्दै, के होला निर्णय


काठमाडौं, २६ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्था र कांग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बनेको सरकारका विषयमा छलफल गर्न संघीय गठबन्धनको बैठक बस्दैछ । काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा अपरान्ह बस्ने बैठकमा कांग्रेस र माओवादी केन्द्रसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा समीक्षा हुनेछ । बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो । राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव तथा प्रवक्ता केशव झाले संविधान संशोधन र राज्य पुनर्संरचनाका विषयमा संघीय गठबन्धनको धारणा तयार गर्न बैठक बस्ने लागेको बताउनुभयो । ‘तीन बुँदे कार्यान्वयन गर्नका लागि दबाब दिनु आवश्यक छ’, उहाँले भन्नुभयो, ‘संविधान संशोधन कसरी अगाडि बढ्छ भन्ने विषय गठबन्धनले गम्भीर रुपमा हेरेको छ ।’ केपी ओली नेतृत्वको सरकार गिराउन र पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन सहयोग गरेको मधेसी मोर्चा र संघीय गठबन्धनले अबको सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि छलफल गरेर एउटा धारणा बाहिर ल्याउने सद्भावनाका महासचिव सुमनले बताउनुभयो ।
Loading...