Loading...
काठमाडौं, ३० साउन– आफ्नो भागमा परेका बाँकी ५ मध्ये ४ मन्त्रालयमा मन्त्री नियुक्त गरेपछि माओवादी केन्द्र भित्र विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै जनार्दन शर्मालाई ऊर्जा, राम कार्कीलाई सञ्चार, हितराज पाण्डेलाई स्थानीय विकास र धनीराम पौडेललाई शिक्षा मन्त्रीमा नियुक्त गरेका छन् ।
कानुन मन्त्रीमा पार्टीले सिफारिस गरेका अजयशंकर नायकलाई विवादकै कारण दाहालले सपथ ग्रहण गराउन सकेनन् । चक्रपथसँग कुरा गर्दै माओवादी नेतृ रेखा शर्माले आधा आकाशलाई उपेक्षा गरेको वताइन् । ‘पार्टीले जे गर्यो एकदमै गल्ती गर्यो । यसका विरुद्ध हामी पार्टी भित्र बाहिर लड्छौं’ शर्माले भनिन्, ‘तर, बहिस्कारै गरिसकेको स्थिति चाहीँ होइन ।’
यस विस्तारमा पार्टीबाट क्षेत्रीय, लैंगिक, जातीय लगायत सन्तुलन नमिलेको, कर्णालीको प्रतिनिधित्व नभएको आवाज उठेको छ । यसैबीच पार्टी भित्र महिला सांसदलाई राज्यमन्त्री मात्र सिफारिस गरिएको भनी महिला नेतृहरुमा चर्काे असन्तुष्टि बढेको छ । पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माको नेतृत्वमा पार्टीका महिला सांसदहरुको छुट्टै भेला बसी राज्यमन्त्री अस्वीकार गर्ने र मन्त्रिपरिषद विस्तार पुनरावलोकन गर्नु पर्ने माग अघि सारेका छन् ।
उता पार्टीका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुमा क्याविनेट मन्त्री नपाएकोमा असन्तोष चुलिएको छ । पूर्वमन्त्री तथा पार्टी नेता प्रभु साहले प्रधानमन्त्री दाहाल कर्तब्यच्युत भएको दाबी गर्दै उनीबाट देशका समस्या समाधान नहुने वताइसकेका छन् । साहले स्थानीय विकास मन्त्री दाबी गरेका थिए । उनलाई कानुन मन्त्री अफर गरिएपछि नखाने भएकाले अजयशंकर नायकलाई उनको स्थानमा सिफारिस गरिएको थियो । गुटकै झगडाले नायकको सपथग्रहण पनि हुन सकेन ।
Loading...
Social Buttons