Loading...
काठमाडौं, २० साउन– ७ वर्षअघि प्रधानमन्त्री चुनिँदा प्रचण्डले ‘शपथ व्यहोरा’मा उल्लेख भएको ‘ईश्वर’को सट्टा ‘देश र जनताको नाममा’ श्पथ लिएका थिए । उतिखेर प्रचण्डले परम्परागत रूपमा अन्य प्रधानमन्त्रीहरूले लगाउने दौरा सुरुवाल छाडेर सुटमाथि टाई र त्यसमाथि भादगाउँले टोपी लगाएका थिए । त्यसका बारेमा पनि उतिखेर समाजमा पर्याप्त चर्चा भएको थियो । यसपटक पनि उनले ईश्वर त भुले नै, त्योसँगै नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएनन् । कतिपयले उतिखेर ‘संस्कारमा क्रान्तिकारी छलाङ मारेको’ र पुरानो सामन्ती सत्ताको अवशेषलाई प्रचण्डले त्यागेको बताएका थिए । तर ७ वर्षमा वाग्मतीमा धेरै पानी बगिसकेको छ । हिन्दी भाषामा आफ्नै ढंगको शपथ लिएका कारण मात्रै होइन, कमिज धोती लगाएर शपथ ग्रहण कार्यक्रममा उपस्थित भएका कारण नेपालका पहिलो उपराष्ट्रपति परमानन्द झाले दोस्रोपटक शपथ लिनु परेको थियो । आम जनताले व्यापक आलोचना गरेपछि उनी पुन: दौरा सुरुवाल नै लगाएर सार्वजनिक कार्यक्रममा जाने गरेका थिए । कतिसम्म भने उपराष्ट्रपति पदबाट निवृत्त भइसक्दा पनि उनी अचेल दौरा सुरुवाल र भादगाउँले टोपीमा नै झुल्किने गरेका छन् । बिहिवारको शपथ कार्यक्रममा समेत झा दौरा सुरुवालमै ठाँटिएका थिए । त्यतिमात्रै होइन, माओवादी युद्ध हाँकेका ‘जनमुक्ति सेना’का ‘कमाण्डर’ नन्दकिशोर पासाङ आज देशको उपराष्ट्रपति पदमा आसीन छन् । उनी समेत विभिन्न औपचारिक कार्यक्रमहरूमा दौरा सुरुवालमै भेटिने गरेका छन् । तर आज ७ वर्षपछि दोस्रोपटक प्रधानमन्त्री बन्दा प्रचण्डले औपचारिक राष्ट्रिय कार्यक्रममा आफुखुशी पोशाक रोजेका छन् । प्रचण्डले बिहीवार राष्ट्रपति भवनमा शपथ लिँदा उनको टाउकोमा भादगाउँले टोपी देखियो तर नेपालको औपचारिक पोशाकको रूपमा स्विकारिएको दौरा सुरुवाललाई उनले स्विकार्न सकेको देखिएन । कतिपय विश्लेषकहरूको मत छ, ‘सबैलाई दौरा सुरुवाल प्यारो हुँदा तर प्रचण्डलाई किन अप्ठ्यारो ?’ स्मरणीय छ, केही मधेसी नेताहरूले नै दौरा सुरुवाल कुनै खास सम्प्रदायको पोशाक नभएर नेपालको मौलिक पोशाक भएको बताउने गरेका छन् ।
Loading...

Social Buttons