Loading...
मैले ओलीजीको प्रशंसा किन गरेँ ? उहाँले निराश रहेका जनतामा एउटा होप दिनु भयो । जनतामा अब विकास हुन्छ, हामी कसैको आश गरेर बस्नु पर्दैन भन्ने आत्मविश्वास दिनु भयो । एउटा छिमेकीमा भर पर्दा कहिले नाकाबन्दी हुँदोरैछ, दुबैतिरको छिमेकीसँग बराबरको सम्बन्ध भयो भने हामी सबैतिर ओपन हुने रैछौं भन्ने ओलीजीले देखाइदिनु भयो, अरुले यस्तो गरेको थिएन । यो विकास गर्ने बेला थियो । संविधान कार्यान्वयन गर्न तीनवटा चुनाव गर्ने बेला थियो । तर, किन चुनाव गर्नेतिर नलागेर प्रधानमन्त्री परिवर्तन गर्नतिर लागे ? देशमा विकास हुन नदिन फेरि बन्दुकधारी निस्कंदैछन् । अव माओवादीको सरकार आउँदैछ । त्यो पनि नौ महिना मात्रै भनेका छन् । ओलीको सरकार ढालेर किन माओवादीको नौ महिनाको सरकार बनाउने ? बरु त्यो सरकार पुरै चलोस् । तर, ओलीले गरेका काम निरन्तर हुन सकेन भने देश कमजोर हुनेछ, जनताले दुःख पाउनेछ ।
ओलीको सरकार ढल्न दिनु हुँदैन भनेर मैले भनेँ तर, मेरै पार्टीलाई मन परेन । कांग्रेसका जिल्ला जिल्लामा रहेका कार्यकर्ता पनि ओली सरकार चलिरहोस् भन्ने चाहन्थे । अहिले पनि जिल्ला र गाउँमा भएका कांग्रेसहरुलाई गएर सोध्नुस् ओलीकै सरकारलाई निरन्तरता दिनु पथ्र्याे भन्छन् । जिल्ला र गाउँका कांग्रेसले यो सबै बुझेका छन् । यो सरकार ढलेको पावर पोलिटिक्स गर्नेलाई मात्रै मन परेको छ, देशको हित चाहने कसैलाई पनि मन परेको छैन ।
राजनीति गर्ने मान्छेले सत्य कुरा स्वतन्त्र भएर भन्दिनु पर्छ, त्यसैले म भन्दिन्छु । मलाई प्रधानमन्त्री हुनु पनि छैन मन्त्री हुनु पनि छैन । देश पहिले हो पार्टी भन्दा । गिरिजाबाबु पनि त्यसै भन्नुहुन्थ्यो । उहाँ आफूलाई मन नपरेको कुरा मनमा लिएर बस्नुहुन्थ्यो र त्यसलाई हुन दिनु हुँदैनथ्यो ।
म सत्य कुरा भन्दिन्छु अनि दुःख पनि पाएको छु– हेर्नुस् पश्चिमका देशहरुले एसियाका हरेक देशमा आफ्नो क्याम्प खडा गरेका छन् । भोलि युद्ध भयो भने एसियालीले नै दुःख पाउने हो । सफल हुन खोज्ने देशले पहिले छिमेकी साना देशलाई खुसी पार्नु पर्छ । त्यो चीनले गरेको छ । आसियान मुलुकका सबै देश चीनको पक्षमा कसरी खुलेर लाग्छन् ? तर, भारतको पक्षमा त्यसरी छिमेकी देशहरु किन लाग्न सकेनन् ? भारत र चीन मिल्न सकेनन् भने भोलि एसियाली जनताले दुःख् पाउँछन् ।
(पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालाले मदन भण्डारी फाउण्डेशनद्वारा नयाँ परिस्थितिमा भारत र चीनसँगको सम्बन्धका विषयमा शुक्रवार आयोजित कार्यक्रममा प्रस्तुत विचारको अंश )
Loading...
Social Buttons