Latest News

ओलीको अठोटः देशलाई बर्बादीको बाटोमा जान दिइँदैन, सही बाटोमा फर्काइन्छ !

काठमाडौं ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बादीको बाटोतिर जान नदिने र नेपाली जनताको बलले यसलाई रोक्ने बताएका छन् । नयाँ सरकार गठनमा संवैधानिक जटिलता रहेको जिकिर गर्दै यसको व्याख्या आफूले नभई अदालतले गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । नेपाल टेलिभिजनमा शनिबार राति ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ को १४ औं श्रृंखलामा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतर्फ जानबाट रोक्ने उदघोष गरेका हुन् ।


अविश्वासको प्रस्ताव संसदमा आइसकेको अवस्थामा अबको बाटो के होला भन्ने नेपाल टेलीभिजनका प्रस्तोता रवि लामिछानेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले यसरी दिए-

‘अनुमान नगरिएको परिस्थितितर्फ देशलाई जबर्जस्त लाने प्रयास भइरहेको छ । तर, म भन्न चाहन्छु-त्यतातर्फ परिस्थितिलाई जान नदिने र सहज, स्वाभाविक, सकारात्मक दिशा लेओस् भन्ने मेरो एउटा प्रयास हुन्छ । मेरो पार्टीको प्रयास हुन्छ । र, मसँग जो अरु पार्टीहरु छन्, त्यसको प्रयास हुन्छ ।’

प्रधानमन्त्री ओलीले अगाडि भने- ‘देश कता जान्छ ? देशलाई बर्बादीतर्फ लाने प्रयासहरु भएका छन्, जसलाई रोकिने छ । जनताको सचेत प्रयासबाट रोकिनेछ । र, देश सकारात्मक बाटोमै अगाडि बढ्छ । ०१७ सालमा कता लान खोजिएको थियो ? फेरि फर्काइयो । ०५९ मा कता लान खोजिएको थियो, फेरि फर्काइयो । ०६१ मा कता लान खोजिएको थियो, फेरि फर्काइयो । फेरि लान खोजिएला, एउटा भ्याकुम, रिक्तताको स्थिति संवैधानिक र राजनीतिक संकट, दोहोरो संकट खडा गरेर देशलाई भ्याकुममा लान खोजिएको थियो, राज्यका अंगहरु फतफत झर्दै थिए । त्यसठाउँबाट फेरि फर्काएर ल्याइयो । र, फेरि पनि गलत बाटोमा जान दिइँदैन । सही बाटोमा फर्काइन्छ ।’

अहिले बढीरहेको ध्रुवीकरणको एउटा धारको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ओलीले थपे- ‘जुन ध्रुवीकरण अहिले हुँदैछ, जबर्जस्त ध्रुवीकरण । यस्तो ध्रुवीरकणको यस्तो दुईवटा म्याग्नेट दुईतिर रह्यो । र, यसमा कतै भुलचूक हुनेवाला छैन । मिसमास छ्यासमिस केही हुनेवाला छैन । नेपाली जनताले स्पष्ट देख्नुपर्दछ यो ध्रुवीकरण । एउटा म्याग्नेट राष्ट्र, राष्ट्रियता, नेपाली जनताको विकास र उन्नति, स्वाभिमान, यो म्याग्नेट छ एउटा । त्यसविपरीत अर्को म्याग्नेट छ, के म्याग्नेट, त्यो म भन्दिँन । त्यहाँ (संसदमा) अभिव्यक्तिहरुमा देख्नुभएको छ तपाईले । मैले यसमा धेरै कुरो भन्नुपर्दैन, आजको नेपाली जनता स्वाट्टै अल्मिलिएर देश विरुद्धका हुने त्यस्ता गतिविधि, त्यस्ता षडयन्त्रहरु तिनीहरुलाई बुझ्न सक्ने सामर्थ्य राख्छ भन्ने म विश्वास गर्छु ।’ अनलाइन खबर बाट

Loading...