Latest News

ओलीले मुख खोले, “प्रचण्ड र देउवासँग भिड्न तयार छु”

काठमाडौं, ३० असार । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् । प्रधानमन्त्री ओलीले आफू तत्काल राजिनामा नदिने बरु संसद फेस गर्ने तयारी गरेका छन् ।

बिहीबार बसेको नेकपा एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीले राजीनामा नदिने र अविश्वास प्रस्तावको दृढतापूर्वक सामना गर्ने निर्णय गरेको प्रमुख सचेतक भानभक्त ढकालले बताए ।

ढकालका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको भन्दै पदबाट राजीनामा नदिने स्पस्ट पारेका थिए । ओलीले विदेशी शक्तिको इसारामा सरकार ढाल्न खोजिएको भन्दै आफूहरुले पनि त्यसै सत्ता नछाड्ने बताए ।

बैठकमा उनले भनेको भनाई उद्धृत स्रोतले भन्यो,‘मलाई काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कसरी पछार्नुपर्छ भन्ने राम्रो ज्ञान छ, देउवा–प्रचण्ड दुवैको पराजित निश्चित छ, जित हाम्रो हुन्छ, तपाईहरुले अविश्वासको प्रस्ताव फेल भएको समाचार देख्न पाउनुहुनेछ ।’

प्रधानमन्त्री ओलीले आफूहरु पनि सत्ताको खेलामा अब खुलारुपमा लाग्ने भन्दै अविश्वास प्रस्ताव सहजै ‘पास’ होला भनेर नसोच्न विपक्षी दललाई चेतावनी दिँदै आफ्ना सांसदहरुलाई दृढतापूर्वक सरकारको पक्षमा उभिन निर्देशन दिएका छन् ।

बजेट पारित नभए, आफूले उपयुक्त कदम चाल्ने भन्दै प्रधानमन्त्री ओलीले आवश्यक परे संसद अधिवेशन अन्त्य गरिने संकेतसमेत गरे । अविश्वासको प्रस्ताव पासै भइहाले पनि सरकार बन्ने अवस्था नरहेको उनको जिकिर थियो ।

उनले अविश्वास प्रस्ताव पास भएपनि सरकार बन्ने संवैधानिक व्यवस्था नभएको भन्दै सांसदहरुलाई नआत्तिन आग्रह गरेका थिए ।
संसदीय दलको बैठकमा करिब साढे एक घन्टा बोलेका प्रधानमन्त्री ओलीले आधाभन्दा बढी समय भारत र नेकपा माओवादी केन्द्रलाई गाली गर्नमै खर्च गरेका थिए ।

उनले माओवादीले सम्हालेका गृह र आपूर्ति मन्त्रालयका कारण सरकार आलोचित बन्नुपरेको भन्दै अब राम्रो काम गर्ने बताए ।
स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्ने भन्ने विषयमा एमाले नेताहरुबीच मतभेद भएपनि बैठकमा भने कसैलाई बोल्न दिइएको थिएन ।

स्रोतकाअनुसार वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नोपाल र बामदेव गौतमलगायतका नेताहरु प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा उभिएका थिए ।
Loading...