Loading...
काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी प्रधानमन्त्री केपी ओलीलाई सरकार गिराउने खेलामा लागेका विदेशी तत्व र शक्तिहरूलाई जेल हाल्न सुझाव दिएको छ ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरेर ‘विप्लव’का प्रवक्ता खड्ग विश्वकर्माले यदि विदेश तत्वहरू सरकार गिराउने खेलामा लागेको प्रमाण भए तिनीहरूलाई पक्राउ गरेर जेल हाल्न आग्रह गर्नुभएको हो । ‘प्रधानमन्त्रीले मेरो सरकार गिराउन विदेश चलखेल भयो, षड्यन्त्र भयो भन्ने होइन’, उहाँले भन्नुभयो, ‘समातेर जेल हाल्नु पर्छ । देशद्रोहको अभियोग लगाउनु पर्छ । राष्ट्रघाती र देशद्रोहीलाई देश निकाला गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले बिहीबार सुरक्षासम्बन्धी गोष्ठीमा आफ्नो सरकारलाई विदेशी शक्तिको इसारामा गिराउने खेल भएको दावी गर्नुभएको थियो ।
अहिलेको कांग्रेस र माओवादी केन्द्रको गठबन्धन प्रकृतिक रहेको विप्लव माओवादीको भनाइ छ । ‘अहिलेको कांग्रेस र माओवादी केन्द्रको गठबन्धन अप्राकृतिक जस्तो देखिए पनि यो प्रकृतिक नै हो’, प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘केपी ओलीले मुलुकलाई राष्ट्रियताको नाममा लुटे, अब कांग्रेस र एमालेले त्यो चाल पाएपछि हटाउन खोजेका हुन् ।’
ओलीको नक्कली राष्ट्रवाद नेपाली जनताले बुझेको प्रवक्ता विश्वकर्माले दाबी गर्नुभयो । ‘सरकार परिवर्तन भनेको कालो विरालो वा सेतो विरालो भने जस्तै हो । बिरालोको काम भनेको मुसा मार्ने हो’, उहाँले भन्नुभयो, ‘ओली गएर प्रचण्ड आउँदा पनि सारमा केही हुने वाला छैन ।’
यसैबीच, विप्लव माओवादीले साउन दश गते नेपाल बन्दको आह्वान गरेको छ । सर्लाहीको सागरनाथ सुकुम्वासीमा प्रहरी दमन भएको विरोधमा विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको जनाएको छ । दैनिक नेपाल
Loading...
Social Buttons