Latest News

प्राविधिक अधिकृत घुससहित पक्राउ अख्तियार टोलीले नियन्त्रणमा लिँदा लडिबुडी गरेर रोए

खजुरा (बाँके),१ साउन
राष्ट्रिय कोसेबाली अनुसन्धान कार्यक्रम खजुराका प्राविधिक अधिकृत (इन्जिनियर) वीरेन्द्रकुमार यादव दुई लाख ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरका डिएसपी चित्रबहादुर गुरुङ नेतृत्वको टोलीले यादवलाई शुक्रबार दिउँसो रंगेहात पक्राउ गरेको हो । डिप बोरिङ र विद्युत् ट्रान्सफरमर निर्माणका लागि ठेकेदारसँग घुस लिँदै गर्दा निर्माणस्थलबाटै यादवलाई पक्राउ गरेको अख्तियारको कोहलपुरस्थित सम्पर्क कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । उनले भने, ‘घुस लिइरहेको सूचनाका आधारमा यादवलाई रंगेहात पक्राउ गर्न सफल भएका छौँ ।’
सीताराम निर्माण सेवासँग प्राविधिक अधिकृत यादवले घुस मागेका थिए । सीताराम निर्माण कम्पनीले १८ लाखमा ट्रान्सफरमर र डिप बोरिङको ठेक्का लिएको थियो । यादवले ट्रान्सफरमर खरिदमा समेत आफूले भनेको कम्पनीको सामान किन्न ठेकेदारलाई दबाब दिएका थिए ।
ghus
घुसमा रातभर भयो बार्गेनिङ
बिहीबार राति घुसका सम्बन्धमा ठेकेदार र यादवबीच डिलिङ भएको थियो । ट्रान्सबेल्ट कम्पनीको ट्रान्सफरमर किन्न यादवले दबाब दिएको ठेकेदारको आरोप छ । निर्माण कार्य राम्रो नभएको भन्दै पैसा नदिएमा मूल्यांकन पास नगर्ने र बिलसमेत भुक्तानी नदिने भन्दै लामो समयदेखि अधिकृत यादवले आलटाल गरिरहेका थिए ।
‘जडान गरेको सामान खोलेर लिएर जाऊ, म पास गर्दिनँ’ भन्दै यादवले काम सकिएको मूल्यांकन नै नगरिदिएको ठेकेदारले बताए । अन्तिममा दुई लाख ५० हजार रुपैयाँ दिएमा निर्माण अवधि थप गरिदिने सहमतिपछि प्राविधिक अधिकृत यादव बिहीबार मात्रै खजुरा आइपुगेका थिए ।
म निर्दोष  छु : यादव
पक्राउ परेका प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादवले आफू निर्दोष भएको बताए । उनले आफूलाई फसाइएको दाबी गरे । ‘म निर्दोष छु, मलाई फसाइयो,’ यादवले रुँदै भने ।
भाग्न खोज्दा हिलोमा पछारिए
अख्तियारको टोलीले पक्राउ गर्न खोज्दा यादव भागेका थिए । तर, उनी हिलोमा पछारिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ ग¥यो । पक्राउ परेपछि उनी डाँको छाडेर रोएका थिए ।
तर, स्थानीयले भने पक्राउ गर्ने क्रममा प्रहरीले यादवलाई लछारपछार गरेको आरोप लगाए । अख्तियारका डिएसपी चित्रबहादुर गुरुङले लछारपछार पारेको अस्वीकार गरे । ‘भाग्ने क्रममा यादवलाई हिलो लागेको हो,’ डिएसपी गुरुङले भने ।

Loading...