Latest News

प्रचण्डले बारम्बार भाषण गरेर हिँडदैमा सरकार परिवर्तन हुँदैनः उपप्रम थापा

विराटनगर, २१ जेठ । उपप्रधान एंव परराष्ट्र मन्त्री कमल थापाले सरकारको स्थायित्वमाथि कुनै प्रश्नचिह्न नरहेकाले तत्काल सरकार परिवर्तन नहुने बताए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रिय सहमतिको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बारम्बार भन्दै आइरहेकाले त्यही प्रसङ्गलाई जोड्दै सरकार परिवर्तनको विषयमा बढी हल्ला र चर्चा परिचर्चा भइरहेको स्पष्ट पारे ।


प्रधानमन्त्रीसँग तत्कालीन एमाओवादी पार्टीसँग भएको तीनबुँदे वा भद्र सहमतिको विषयमा आफू र आफ्ना पार्टीलाई कुनै जानकारी नरहेको जानकारी गराउँदै उनले भने ‘प्रधानमन्त्रीजीले मन्त्रिपरिषद् र सार्वजनिकस्थलमा पटक पटक त्यस्तो सहमति नभएको सम्बन्धमा प्रष्टोक्ति दिइसक्नुभएको छ ।’

मुलुकको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धनको सरकार आवश्यक रहेको चर्चा गर्दै उनले आगामी निर्वाचनसम्म वर्तमान सरकारलाई टिकाइराख्नु पर्ने धारणा राखे ।

सरकार गठन भएको सात÷आठ महिनामै सरकार परिवर्तन गरिहाल्नुपर्ने कुनै घरातलीय सङ्कट नदेखिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो भयो भने संविधानको औचित्य र भविष्यमाथि प्रश्न खडा हुनसक्ने भएकाले माओवादी र काँग्रेसलगायत सबै दललाई यस्तो खेलमा नलाग्न आह्वान गरे ।

आठ वर्षको अवधिमा मुलुकले संविधान पाएको चर्चा गर्दै उनले सत्ताको फोहोरी खेल कायम रह्यो भने अन्तर्राष्ट्रिय जगत् र मुलुकका जनताबीच नकारात्मक सन्देश जाने विषयमा माओवादी र काँग्रेसलगायतका दललाई गम्भीर भएर सोच्नुपर्ने सुझाव दिए ।

उनले स्थानीय निकायका साथै अन्य निर्वाचनका लागि पनि बजेटको व्यवस्था रहेकाले स्थानीय निकायको निर्वाचनका लागि सबै दललाई सकारात्मक हुनुपर्ने धारणा प्रकट गरे ।

एक फरक प्रसङगमा उनले भने ‘मेरो कारणले मधेसी मोर्चासँग वार्ता अवरुद्ध भएको छ भने म वार्ता समितिको संयोजकबाट राजीनामा गर्न तयार छु ।’

-
Loading...