Latest News

राजेन्द्र महतोले आफ्ना ज्वाईलाई दाईजोमा दिए केन्द्रीय सदस्य पद!

काठमाडौं, २१ जेठ । सदभावना पार्टीमा अध्यक्ष राजेन्द्र महतोले केन्द्रीय कार्य समिति पुनर्गठन गरेसँगै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ ।
यसअघि नै आफ्नो भतिज उपेन्द्र महतोलाई जनकपुर महाधिवेशनबाट केन्द्रीय सदस्य बनाएका महतोले दोस्रो संविधान सभामा आफ्नो हारसँगै आफ्नी श्रीमती शैली महतोलाई समानुपातिक सभासद बनाएर पार्टी, मधेश र देशमा आलोचित भएका थिए ।
अहिले पुनः बिहीवार गरेको केन्द्रीय समिति पुनर्गठनमा घर ज्वाई अनिल महासेठलाई केन्द्रीय सदस्य बनाएपछि पार्टीमा राजेन्द्र महतो आलोचित हुन पुगेका हुन् । एक पार्टी नेता भन्छन्– ‘राजेन्द्र महतोले फ्लोरिडा कलेज चलाईरहेका ज्वाई अनिल महासेठलाई पार्टीमा योगदानको भरमा नभई दाइजोको रूपमा केन्द्रीय सदस्य दिएका हुन् ।’
हुन त महासेठ कै कारण राजेन्द्र महतो र भतिज उपेन्द्र महतोको सम्बन्ध बिग्रिएको ती नेता दाबी गर्छन् । महासेठ पार्टीको आर्थिक मामलामा ज्यादै नै हस्तक्षेप गर्ने गरेको चिनी, चियापत्ती, फोटोकापी कागजदेखि खाने पानीको जार समेत गन्ने गरेको र किन यति खर्च भएको भनेर कर्मचारीलाई अनावश्यक तनाव दिने गरेको र यसबारे राजेन्द्र महतोलाई भन्दा महतो मुख दर्शक बनेर बस्ने गरेको आरोप छ ।
घरमा पनि महतोको सभासद श्रीमती, ज्वाई र छोरी मिलेर केही पनि चल्न नदिने गरेको र घर ज्वाई महासेठको रूखो ब्यवहारको कारण अहिले नेताहरू राजेन्द्र महतोको घर जान समेत छोडेको स्रोतको दावी छ ।
हुन त अष्ट्रेलियामा एउटा नेपालीको होटलमा ‘वेटर’को काम छाडी राजेन्द्र महतोको ज्वाई बने पश्चात नेपाल आएका महासेठलाई राजेन्द्र महतोले पहिला राजनीतिक रूपमा स्थापित गराउनकै लागि पार्टीमा बिभिन्न पद दिनुका साथै आफ्नो सभासद श्रीमतीको पीए समेत बनाएका थिए ।
तर, पार्टीलाई आफ्नो ससुराको ब्यक्तिगत सम्पति सम्झिने र पार्टी नेताहरूसँग अभद्र ब्यवहारको कारण राजनीतिक रूपमा स्थापित हुन नसकेपछि राजेन्द्र महतोले ज्वाईलाई फ्लोरिडा कलेजमा सेयर किनिदिएका थिए तर, फ्लोरिडा कलेजमा पनि महासेठ बिवादित भएपछि राजेन्द्र महतोले फेरि आफ्नो ज्वाईलाई सभासद श्रीमती र छोरीको दबाबको कारण पार्टी केन्द्रीय समितिमा राखेर पार्टीमा परिवारवाद लाद्न खोजेको पार्टी नेताहरूको आरोप छ ।
यता पदाधिकारी दाबी गर्दै आईरहेका केन्द्रीय सदस्य योगेन्द्र यादव पनि आफूलाई पदाधिकारी बनाउनुको सट्टा आफ्नै जिल्लाका पार्टी नवप्रवेशी अजय गुप्तालाई सहमहासचिव बनाएकोमा असन्तुष्ट देखिएका छन् । यादवले आफ्नो समाजिक संजाल फेसबुकमार्फत पार्टी अध्यक्षलाई लक्षित गर्दै मधेशी दलहरु नातावाद , परिवारवाद र जातिवादको मधेशी राजनीतिलाई बढाव दिदै मधेशी जनता भन्दा पनि आफ्नो स्वार्थ सिद्ध गर्न मधेश बिजेताको तक्माका लागि असफल प्रयास जारी राख्ने ? भनेर प्रश्न गरेका छन् ।
अहिले फर्जी सर्टिफिकेटको कारण जेलबाट धरौटीमा रिहा भई मुद्दा खेपिरहेका झापा निवासी डा रामबाबु गिरीलाई पनि केन्द्रीय सदस्य बनाउनुले पनि महतोले कुन आधारमा अपराधिक छविका गिरीलाई केन्द्रीय सदस्य बनाएको भनेर नेताहरूले प्रश्न गर्ने गरेका छन् ।
यता कार्यसमिति बिस्तारमा पार्टीमा नवप्रवेशी म्रिगेन्द्र यादवलाई बरिष्ठ उपाध्यक्षमा बरिष्ठता क्रममा आफूभन्दा माथि राखेको भनेर बरिष्ठ उपाध्यक्ष नवल किशोर शाह पनि असन्तुष्ट बनेका छन् ।
सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष पदबाट निलम्बित सांसद सञ्जयकुमार साहलाई निकालिएको छ । पार्टीको पुनर्गठित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको सूचिमा उनको नाउँ समेटिएको छैन भने निलम्बित साहकी पत्नी रङ्गीला साहलाई केन्द्रीय सदस्य बनाइएको छ ।
सबै प्रेस बिज्ञप्ती पार्टीले आधिकारिक रूपमा सबै संचारमाध्यमलाई पठाउने गरेतापनि यसपटक आलोचित हुने डरले राजेन्द्र महतोको निर्देशनमा केन्द्रीय कार्यसमिति पुनर्गठनको प्रेस बिज्ञप्ती कतै पठाईएन् ।
– उपेन्द्र झाबाट ।
dainiknepal
Loading...