Latest News

मोदीसँग जातीय पहिचान माग्दै दार्जीलिङमा प्रदर्शन

२१ जेठ, दार्जीलिङ । नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले नेपालको संविधानमा मधेसीहरुको हक अधिकार समेट्नुपर्ने सुझाव दिइरहेका बेला भारतको दार्जीलिङका बासिन्दाहरुले जातीय पहिचानको माग गर्दै मोदीको ध्यानाकर्षण गराएका छन् ।

दार्जीलिङमा विहीबार विशाल जुलुससहित गरिएको प्रदर्शनमा ११ वटा गोरखाली जातिहरुलाई जनजातिको पहिचान दिइनुपर्ने माग गरिएको छ ।

जुलुसमा सहभागीले बोकेको प्ले कार्डमा नेपाली भाषामा लेखिएको छ- ‘सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले दिनुभएको वचनमा हामी विश्वस्त छौं ।’

गोरखा जनमुक्ति युवा मोर्चाले आयोजना गरेको प्रदर्शनमा नेतृ आशा गुरुङले भनिन्- ‘प्रधानमन्त्री नरेन्द्र मोदीले सिलगुढीमा आएर ११ वटा जातगोष्ठिलाई जनजातिको दर्जा दिने भनेका हुन् । यसैले जसरी भए पनि ११ वटा जातगोष्ठिलाई जनजातिको मान्यता दिने हामी केन्द्रको भाजपा सरकारसित माग गर्दछौं ।’

जनजातिको मान्यता पाएमा आफूहरुले धेरै किसिमका अधिकार पाउने गुरुङले बताइन् । भारतको संविधान अनुसार ट्राइबल अर्थात अनुसूचित जातिको दर्जा पर्ने समुदायले आरक्षण लगायतका सुविधाहरु प्राप्त गर्न सक्छ । यही कारणले भारतमा रहेका नेपाली भाषी गोरखा जातिले आफूहरुलाई जनजातिको मान्यता दिन माग गर्दै आएको छ ।

यसरी जनजातिको दर्जामा बस्न पाउनुपर्ने माग गर्नेहरुमा खस (क्षेत्री, बाहुन, गिरी र सन्यासी) भुजेल, गुरुङ, मगर, नेवार, राई, लिम्बु, सुनुवार, थामी, याख्खा र देवान लगायत छन् ।

हिमालय दर्पणबाट/तस्वीर: दार्जीलिङ क्रोनकिल
Loading...