Latest News

विप्लव भूमिगत, माओवादी गम्भीर योजनाको तयारीमा

 जेठ, काठमाडौं । विहीबार नेपाल बन्द गरेको नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव दिनभर कतै देखिएनन् र कसैको सम्पर्कमा पनि आएनन् । न त उनी कुनै संचारकर्मीले खोज्दा भेटिए न त उनको दलका कुनै नेताले नै उनका बारेमा यथार्थ बताए । सो दलका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले महासचिव विप्लव संचारभन्दा बाहिर रहेको भन्दै संचारकर्मीलाई उहाँले कुनै प्रतिक्रिया नदिने नेपालदेशडटकमलाई बताए ।


नेता, कार्यकर्ता, र संचारकर्मीसँग सहज सम्बन्ध राख्ने विप्लव एकाएक भूमिगत भएको र पार्टीलाई पनि विस्तारै भूमिगत बनाउने रणनीतिमा नेकपा माओवादी लागेको विश्वस्त स्रोत बताउँछ । माओवादी जनयुद्धलाई खुलेरै सहयोग गरेका भारतीय पत्रकार आनन्दस्वरुप वर्माले विप्लवको दलले जनयुद्ध २ गर्ने सम्भावनासहितको लेख प्रकाशित भएसँग विहीबार विप्लवको दलले बन्दको समेत आह्वान गर्नुलाई योजनाबद्ध कार्य भएको विश्लेषण गरिएको छ ।

के विप्लव भूमिगत भएकै हुन् त ?

यस विषयमा प्रश्न गर्दा विप्लव माओवादीका नेता तथा केन्द्रीय जनपरिषद प्रमुख सन्तोष बुढा मगरले भूमिगत भएको भन्ने कुरालाई सिधा रुपमा अस्वीकार नगरी ‘पार्टी नेतृत्व सार्वजनिक कार्यक्रममा नदेखिने निर्णय’ भएको बताए ।


सन्तोष बुढा मगर
यसको आशय के हो ? सार्वजनिक कार्यक्रममा नदेखिनु भनेको भूमिगत हो कि होइन ?

बुढा मगरले भने- ‘सार्वजनिक कार्यक्रम वा संचार माध्यममा जानुपरे पार्टीले निर्णय गरेर मात्र उहाँ जान पाउनुहुन्छ । अन्यथा आफूखुशी उहाँ कहीँ कतै सार्वजनिक हुनुहुने छैन ।’

गत महिना खुल्लामंचबाट केपी ओलीको समानान्तर सरकारका रुपमा सन्तोष बुढा मगर नेतृत्वको सरकार आफूसँग रहेको विप्लवले घोषणा गरेका थिए । त्यसयता उनी सार्वजनिक कार्यक्रममा कतै सहभागी भएका छैनन् । विप्लवले घोषणा गरेको जनसरकार प्रमुख सन्तोष बुढा मगरले नै विप्लव आफूखुशी कहीँकतै सार्वजनिक हुन नपाउने भनेपछि विप्लव भूमिगत भएको स्पष्ट भएको छ ।

भूमिगत भएका नेता सार्वजनिक हुन पार्टीले निर्णय गर्नुपर्ने भन्ने कुराले विप्लव भूमिगत भएको स्पष्ट पार्दछ ।

विप्लवले खुल्लामंचबाट घोषणा गरेको जनसरकार पुरानै जनसरकार हो या नयाँ गठन भएको भन्ने प्रश्नमा सन्तोष बुढा मगरले भने गत मंसिर ४ देखि ६ सम्म चितवनमा भएको सम्मेलनले मलाई जनपरिषद् प्रमुखमा निर्वाचित गरेको हो ।

‘अनि यो जनपरिषद् भनेको जनसरकार हो ?’ भन्ने प्रश्नमा उनले भने- ‘यसलाई वैकल्पिक सरकारकै रुपमा लैजाने निर्णय भएको छ । यो समयअनुसार सक्रिय हुन सक्छ ।’

आनन्दस्वरुप वर्माले जनयुद्ध २ का संकेत शीर्षकमा लेख लेख्नु, विप्लव सम्पर्कविहीन हुनु, नेपाल बन्द हुनु र सन्तोष बुढा मगरले नेपालदेशडटकमलाई यस्तो प्रतिक्रिया दिनुले विप्लव नेतृत्वको माओवादी गम्भीर योजनाको तयारीमा रहेको स्पष्ट हुन्छ ।
Loading...