Latest News

ज्ञानेन्द्र शाहको भविष्य हेर्ने महिला ज्योतिषी


पूर्वराजा ज्ञानेन्द्र शाह दुवै हात बाँधेर, दाँत नदेखिने गरी मुस्कुराइरहेका थिए । पूर्वयुवराज्ञी हिमानी रातो हाइनेक र रातै कोटमा आकर्षक देखिएकी थिइन् । हिमानीको दाहिनेतिर छोरी पूर्णिका प्रसन्न मुडमा उभिएकी थिइन्, देब्रेतिरचाहिँ श्वेता राजगरिया बसेकी छन् । गत मे २ का दिन श्वेता राजगरियाको फेसबुक वालमा यस्तोे फोटो पोस्ट गरिएको थियो ।

राजपरिवारका सदस्यसँग बसेको श्वेताको यो फोटोले मेरो ध्यान खिच्यो । श्वेता कार्डबाट क्लाइन्टको भविष्य हेर्छिन् । यो उनको प्रोफेसन हो । ‘ट्यारोट कार्ड रिडर' (कार्डबाट भविष्यवाणी गर्ने) श्वेतालाई अझ नजिकबाटै चिन्न मन लागेर आयो त्यो उनको फेसबुक पोस्टले ।

श्वेतालाई पूर्वराजासँगको उनको भेटबारे सोधेको थिएँ । उनलाई निर्मल निवासमा बोलाएर ट्यारोट हेरिएको रहेछ । त्यसबाहेक व्यक्तिगत कुरा सेयर गर्न नमिल्ने भन्दै श्वेताले ‘उहाँहरूको सबै राम्रो छ' मात्रै भनिन् । उनले ‘पूर्वराजाको भविष्य हेरे“' भनिन् तर के छ उनको भविष्य, त्योचाहिँ भनिनन् ।
...
सानैदेखि ज्योतिषशास्त्रको पुस्तक खोजीखोजी पढ्ने बानी थियो ट्यारोट रिडर श्वेता राजगरियाको । राशिफलमा पनि उत्तिकै चासो लिन्थिन् । मानिसको अनुहार पढ्ने सोख थियो । त्यही चाहनालाई करिअरमा बदल्ने चुनौती उनले मोलेकी हुन् ।

लगभग आठ वर्षदेखि ट्यारोट कार्ड रिडरका रूपमा काम गर्दै आएकी श्वेताको आत्मविश्वासक निकै लोभलाग्दो छ । पाँच वर्षदेखि उनले नक्साल भाटभटेनीमा आफ्नो कार्यालय स्थापना गरेकी छन् । त्यहाँ बेलुकी ४ देखी ६ बजेसम्म उनी मानिसको भविष्यवाणी गर्छिन् कार्डबाट ।
...
भारतको राजस्थानमा मारवाडी परिवारमा जन्मिएकी श्वेताका पिता व्यवसायी हुन् । व्यवसाय गर्ने सिलसिलामा उनको परिवार नेपालमा बसेको हो । नेपालमा बसे पनि श्वेताले आफ्नो पढाइ दिल्ली र कलकत्ताबाट पूरा गरेकी हुन् । उनले ज्योतिषशास्त्रमा स्नातकोत्तर गरेकी छन् । यही कोर्सभित्र फेस रिडिङ (अनुहार पढ्ने), पाम रिडिङ (हात हेरेर भविष्य भन्नसक्ने) र वास्तुशास्त्रलगायतका कोर्स गरेकी छन् ।

जम्मा ७८ वटा कार्डबाट उनी मानिसका भविष्य हेर्छिन् । ‘बाइसवटा मुख्य कार्ड हुन्छन् जसले मानिसको जीवन र स्थितिलाई चित्रण गर्छ', श्वेताले भनिन्, ‘अन्य कार्ड सामान्य खालका हुन्छन् । यी सबै कार्डको फरक सवालका फरक अर्थ लाग्छन् ।'

ट्यारोट रिडरका रूपमा पहिचान बनाउन प्रयासरत श्वेता आफूलाई समस्या र समाधान बोध गराइदिने एउटा ‘माध्यम'मात्र भएको बताउँछिन् । उनले देखेकी छन्— सबै मानिसको जीवन केही न केही समस्याले घेरिएको हुन्छ । समयमै समाधान खोजिएन भने घुमिफिरी समस्या वरिपरि आइरहन्छन् । ‘समस्यामा परेकालाई सही मार्गनिर्देशन गर्ने काम गर्छु', उनी भन्छिन् ।

भाटभटेनीको उनको कार्यालयमा उनलाई भेट्न आउनेहरू प्रायः एकै खाले समस्या लिएर आइपुग्छन्— पारिवारिक, शिक्षा, प्रेम, वैवाहिक जीवन, स्वास्थ्य, करिअर, व्यापार–व्यवसाय आदिमा सम्बन्धित । उनले मानिसहरू समाधान खोज्न निकै आतुर भएको देखेकी छन् । ‘उनीहरू जान्न चाहन्छन्— स्वास्थ्य कस्तो हुन्छ ? यो केटो वा केटीसँग विवाह गरौं कि नगरौं, केमा लगानी गर्दा राम्रो होला ? विदेश जाने कि नजाने ? गइहाले कुन देश फाप्छ ? आदि आदि', उनी भन्छिन्, ‘तर सबैको स्वभाव एकैखाले हँदैन, उनीहरूको स्वभाव पढेर समाधानको उपाय बताउँछु ।'

विभिन्न क्षेत्रका क्लाइन्टमाझ चर्चित छिन् श्वेता । उनलाई सही मार्गनिर्देशकको रूपमा मान्दै आएकामा व्यापारी, बैंकका कर्मचारी, दूतावासका कर्मचारी, एनजीओ, आईएनजीओकर्मी, सेलिब्रेटीदेखि सामान्य मानिससम्म छन् । उनलाई अमेरिकी दूतावास, यूएन कार्यालयबाट पनि ट्यारोट हेर्नका लागि निमन्त्रणा आएको थियो । त्यहाँ पुगेर पनि उनले ट्यारोट हेरिसकेकी छन् । उनका कतिपय क्लाइन्ट प्रत्येक महिना ट्यारोट हेर्न आउँछन् । अनेक सरसल्लाह माग्छन् । ट्यारोट रिडिङ नेपालका लागि नौलो पेसा हो । विशेषगरी अमेरिका र युरोपका मुलुकमा ट्यारोट रिडिङ प्रचलित रहेको श्वेता बताउँछिन् ।
...
उनले ‘द हिमालयन टाइम्स'मा सेलिब्रेटीको ट्यारोट जीवन हेर्दै आएकी छन् । पछिल्लो अंकमा नायक विनय श्रेष्ठको ट्यारोट हेरेकी थिइन् । त्यस्तै, ‘भाउ' र ‘सीईओ' म्याग्जिनमा पनि उनी राशिफल लेख्छिन् । उनी टीभी सोमा पनि काम गर्ने तयारीमा छिन् ।

रेडियोमा पनि भविष्यबारे भन्छिन् । उनको अनुभवमा सेलिब्रेटीको बाहिरी पहिचान ‘वाउ' भन्नेखाले हुन्छ तर भित्र धेरै समस्या हुन्छन् । भन्छिन्, ‘सबैको जीवनमा धेरै उतारचढाव आएका हुन्छन् । ट्यारोटले एउटा गाइडलाइन तय गरिदिन्छ ।'

कसैको ट्यारोट हेर्र्नुअघि श्वेता ती कार्डलाई तीनपटक फिट्न लगाउँछिन् । जसले कार्ड फिट्छ ती कार्डमा उसैको इनर्जी सञ्चारित हुन्छ भन्ने मान्यता छ उनको । ‘व्यक्तिको इनर्जीअनुसार नै उसको भविष्य निर्धारण गर्न सकिन्छ । त्यो व्यक्ति कति सकारात्मक वा नकारात्मक छ, आफैंले छानेको कार्डले निर्धारण गर्छ', उनले भनिन् ।

यस कामको पारि श्रमिक उनले तोकेकी छैनन् र माग्ने गरेकी छैनन् । तर, मानिसहरू पैसा दिएर जान्छन् । जसले जति दिए पनि समस्या छैन । भन्छिन्, ‘जुन काम गर्दा मलाई आत्मसन्तुष्टि मिल्छ त्यसमा कुनै पश्चात्ताप हुँदैन रहेछ । मेरो लगाव यसैमा छ ।'

उनलाई धेरैको प्रश्न थियो, ‘एस्ट्रोलोजी' अध्ययन गर्ने समयमा के ज्योतिषशास्त्र पढेको ? तर, उनलाई यसैमा करिअर बनाउने रहर थियो । उनी भन्छिन्, ‘सबैजना डाक्टर, इन्जिनियर हुनुपर्छ भने छैन । मेहनत गर्नुपर्छ । सबै क्षेत्रमा राम्रो गर्न सकिन्छ ।'
Loading...