Latest News

देशलाई दास बनाउने एक मुख्य कारण ‘नेताका छोराछोरीहरु छात्रवृत्तिमा पढ्नु’

के गर्ने… जी, भारतीय दूतावासबाट मेरो छोरालाई एमबीबीएस गर्ने छात्रवृत्ति दिलाइदिने आश्वासन आयो । छोरालाई नेपालमा पढाउने हो भने ३० देखि ४० लाखसम्म लाग्छ । छोराले एमबीबीएस पढ्न पायो भने आगामी पुस्तादेखि हाम्रो परिवारको हैसियत नै अर्कै हुन्छ । त्यसैले मन नलाग्दा–नलाग्दै पनि पार्टी फूटका लागि सामेल हुनुपर्‍यो ।’
पहिलो संविधानसभाको कार्यकाल बाँकी रहँदै मधेशी जनअधिकार फोरम, नेपाल फूटको सँघारमा थियो । त्यही बेला फोरमका एक केन्द्रीय सदस्यले एक दैनिक पत्रिकाका सम्पादकसँग यस्तो लाचारी प्रकट गरेका थिए । हुन पनि त्यही भयो । फोरम फुट्यो । उनीहरुको फूटसँगै भोलिपल्ट गोरखापत्र दैनिकमा फोरम फुटाउन भारतीय दूतावासबाट सभासद्हरुलाई प्रतिव्यक्ति १० लाख रुपियाँ बाँडेको समाचार आयो ।
नेपाल सरकारको आधिकारिक पत्रिकाको पहिलो पृष्ठमा तथ्यसहित आएको उक्त समाचारको खण्डन न कसैले गर्न सक्यो, न त कसैले त्यो खण्डन गर्नुपर्ने आवश्यकतै ठान्यो । विडम्बना, त्यति गम्भीर विषयमा पनि कुनै निजी मिडियाले केही उल्लेख गर्न सकेनन् वा आवश्यक ठानेनन् । र, आम मानिसमा यसले खासै चर्चा पाएन ।
यो एउटा सानो उदाहरण हो । नेपालका नेताहरु आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि देश र जनताको भविष्यसँग सम्बन्धित विषयमा कति गैरजिम्मेवार ढंगले प्रस्तुत हुन्छन् भन्ने यस्ता धेरै उदाहरण उल्लेख गर्न सकिन्छ । खासगरी आफ्नो सन्तान, नातागोता वा आफन्तहरुका लागि आफ्नो तथा देशकै बेइज्जत हुनेगरी नेताहरुले काम गरेका उदाहरण प्रशस्त भेटिन्छ । यही भएर हाम्रो देशमा नेताका जीवनशैली र छोराछोरीप्रतिको मोह हेरेर सम्बन्धित नेताको कार्यक्षमतामाथि समेत प्रश्न उठाउने गरिएको छ ।
नेपालका तीन ठूला राजनीतिक दलका शीर्षस्थानमा रहेका नेताका छोराछोरी के गर्दैछन् ? यसबारे पार्टीका विभिन्न तहका नेता, सम्बन्धित नेताका पीए तथा निकटका सहयोगीहरुसँग भेटेर तथा फोनमा कुरा गरेर सूचना लिइएको हो । सूचना दिने व्यक्तिहरुकोे आग्रहमा नाम उल्लेख गरिएको छैन ।
एमाओवादी नेताका छोराछोरी : राजनीति, सुँगुर–गाईपालनदेखि जवाहरलाल नेहरु विश्वविद्यालयसम्म
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालका तीन छोरी र एक छोरामध्ये जेठी छोरीको मृत्यु भइसकेको छ । उनकी जेठी छोरी ज्ञानु केसी दाहाल हुन् । राजनीतिमा सक्रिय रहेकी ज्ञानुको मृत्यु केही समयअघि स्तन क्यान्सरबाट भएको थियो । प्रचण्डकी माहिली छोरी रेणु दाहाल पाठक हुन् । उनी प्रवेशिका उत्तीर्ण हुन् । २०६५ देखि काठमाडौं जिल्ला सहसेक्रेटरी रहेकी रेणु भने राज्य समिति सचिवालय सदस्य र पूर्वसभासद् हुन् । उनी जनयुद्धकालदेखि नै पार्टीमा क्रियाशील छिन् । उनी गत चुनावमा काठमाडौं क्षेत्र नं. १ बाट चुनाव बनेकी थिइन् ।
गंगा दाहाल प्रचण्डकी कान्छी छोरी हुन् । एमाओवादीको राज्य समिति सदस्य रहेकी गंगा त्यति चर्चामा छैनन् । उनी खासै पार्टीको नेतृत्व तहमा पुग्न सकेका छैनन् ।
अघिल्लो श्रीमानसँग सम्बन्धविच्छेद गरेकी गंगाले भर्खरै आफूभन्दा कम उमेरका आचार्य थरका युवासँग बिहे गरेकी छिन् ।प्रकाश दाहाल प्रचण्डका एक मात्र छोरा हुन् । बिहे तथा विभिन्न विवादास्पद गतिविधिका कारण प्रकाश चर्चामा छन् । अध्यक्ष प्रचण्डको स्वकीय सचिवालयबाट हटाइएका प्रकाश अहिले बंगुर र गाईपालनमा लागेका छन् । पछिल्लोपटक पार्टीको विद्यार्थी संगठनमा क्रियाशील वीणा मगरसँग बिहे गरेपछि उनीप्रति सार्वजनिक रुपमा निकै टिप्पणी हुने गरेको छ । जनयुद्धकालमा अन्य कार्यकर्तासँगै युद्धमैदानमा खटेका उनी अहिले छुट्टै ‘फ्ल्याट’ लिएर बसिरहेका छन् ।
वरिष्ठ नेता डा. बाबुराम भट्टराईको एक मात्र सन्तानको रुपमा रहेकी मानुषि यमि भट्टराई हाल भारतीय दूतावासको छात्रवृत्तिमा भारतको प्रतिष्ठित ‘नेहरु विश्वविद्यालय’मा विद्यावारिधि (पीएचडी) गर्दैछिन् । हाल निष्क्रिय देखिएका एमाओवादी नेता अमिक शेरचनका तीन छोरा श्रमिक, पमिक र क्रमिक तथा एक छोरी अमृता छिन् । २०५२ सालमै पाइलटको अध्ययन सकेका श्रमिकलाई बाबु कम्युनिस्ट पार्टीमा लागेको आरोपमा तत्कालीन कांग्रेस सरकारले जागिर दिन इन्कार गरेपछि उनी अमेरिकातिर लागेका हुन् । कम्प्युटर इन्जिनियर पमिक र व्यवस्थापनमा स्नात्तक कान्छो क्रमिक नेपालमै रहे पनि राजनीतिमा क्रियाशील छैनन् । छोरी अमृता पनि बेलायततिरै घरजम गरेर बसेका छन् ।
एमाओवादी महासचिव कृष्णबहादुर महराका दुई छोरा र दुई छोरी गरी चारै सन्तान जनयुद्धकालदेखि नै राजनीतिमा क्रियाशील छन् । तत्कालीन जनमुक्ति सेनाको बटालियन कमान्डर जेठो एटम महरा र राहुल दुवैले स्वेच्छिक अवकाश लिएका थिए भने ठूली छोरी उन्नति पार्टी राज्य समिति सदस्य छिन् । कान्छी कुश्मा सांस्कृतिक संगठन सामना परिवारमा काम गरिरहेकी छिन् ।
सचिव टोपबहादुर रायमाझीका छोरा सञ्जीव र छोरी दुवै स्नात्तक अध्ययन गरिरहेका छन् । उनीहरु राजनीतिमा छैनन् । अर्का सचिव तथा युवापुस्ताका प्रभावशाली नेता मानिने वर्षमान पुनकी १५ वर्षीय छोरी शिला र १० वर्षका छोरा उत्सव राजधानीको एक प्रतिष्ठित निजी विद्यालयमा अध्ययनरत छन् ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव गिरिराजमणि पोख्रेल भने अविवाहित छन् ।
कांग्रेस नेताका छोराछोरीलाई भारतदेखि अमेरिकासम्मको छात्रवृत्ति
कांग्रेसका अधिकांश नेताका छोराछोरी भने विदेशमा अध्ययन गरेकाहरु छन् । उपसभापति रामचन्द्र पौडेलका चार छोरी र एक छोरा छन् । उनकी ठूली छोरी शर्मिला र माइली सन्ध्या घरगृहस्थीमै सीमित छन् भने साइँली अनुजा र कान्छी अवज्ञा जापान र अमेरिकामा पढाइ सकेर हाल अमेरिकामा बसिररहेका छन् । एक मात्र छोरा चिन्तन भने भारतीय दूतावासको छात्रवृत्तिबाट भारतकै बेङ्लोरमा कम्प्युटर इन्जिनियर अध्ययन गरिरहेका छन् । हाल उनी एक निजी कम्पनी चलाएर बसिरहेका छन् ।
कांग्रेसका अर्का वरिष्ठ नेता शेरबहादुर देउवाका एक मात्र छोरा जयवीरसिंह अहिले काठमाडौंको महँगो कलेजबाट प्लस टु सकेर अध्ययनका लागि अमेरिका गएका छन् । निर्वाचित महामन्त्री प्रकाशमान सिंहका छोरा प्रभासमान र भास्करमान दुवै राजनीतिमा क्रियाशील छैनन् ।
मनोनीत महामन्त्री कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् । भारतीय दूतावासको छात्रवृत्तिमा चेन्नईमा इलेक्ट्रिक इन्जिनियरिङ पढेका छोरा श्यामप्रसाद सिटौला अहिले पनि उतै जागिर खाएर बसिरहेका छन् । ठूली छोरी चपदीप्ति सिटौलाले नेपालमै अध्ययन गरेर देशको चर्चित कलेजमा अध्यापन गराउनुका साथै संयुक्त राष्ट्रसंघको एक संस्थामा समेत जागिर गरिसकेकी छन् भने कान्छी रीतदीप्ति सिटौला अहिले अमेरिकामा विद्यावारिधि (पीएचडी) अध्ययन गरिरहेकी छन् ।
एमाले नेताका छोराछोरीलाई पनि भारतीय छात्रवृत्ति बढी
बोलीमा किस्सा मिसाउँदै अरुलाई व्यंग्य गर्न माहिर एमाले अध्यक्ष केपी शर्मा ओली निःसन्तान छन् । एमालेका पूर्वमहासचिव एवं वरिष्ठ नेता माधवकुमार नेपालका छोरा सौरभ र छोरी सुमनले भारतीय दूतावासको छात्रवृत्तिमा भारतमै अध्ययन गरेका हुन् । भारतमा पढाइ सकेर अहिले नेपालमा रहेका दुवैजना प्रतिष्ठित संस्थामा जागिरे छन् ।
एमाले पूर्वअध्यक्ष झलनाथ खनालका एक मात्र छोरा निर्भीक अमेरिकाको ‘ग्रिनकार्ड होल्डर’ हुन् । उनी अहिले पनि उतै छन् । विज्ञान विषयमा स्नातकोत्तर गरेका निर्भीक अन्तरीक्षसम्बन्धी अध्ययन गर्ने अमेरिकाको विश्वप्रख्यात संस्था नासाका जागिरे पनि हुन् । अहिलेसम्म अविवाहित निर्भीकले पनि दूतावासको छात्रवृत्तिमा पढेका हुन् ।
विवादास्पद दासढुंगा दुर्घटनाको क्रममा नेपाली कम्युनिस्ट आन्दोलनका निकै चर्चित नेता मदन भण्डारीको मृत्यु भएपछि दुई छोरी हुर्काउने जिम्मा पाएकी श्रीमती विद्या भण्डारी अहिले एमालेका उपाध्यक्ष छिन् । दुईमध्ये जेठी निशाकुसुम भण्डारी भारतीय दूतावासको छात्रवृत्तिमा जवाहरलाल विश्वविद्यालयमा मानविकी संकायमा मास्टर्स अध्ययन गरेर नेपाल फर्किएकी छन् । कान्छी उषाकिरणले भने स्वदेशमै मेडिकल कलेजमा चिकित्साशास्त्रबाट एमबीबीएस सकेकी छन् ।
एमाले उपाध्यक्ष वामदेव गौतमका एक छोरा हरिश गौतम नेपाली कम्युनिस्ट आन्दोलनमा सम्भवतः सबैभन्दा विवादास्पद छात्रवृत्ति पाएर चीनमा अध्ययन गर्नेमध्येका हुन् । हरिशले सहिदको कोटामा दिइने छात्रवृत्तिमा चीनमा पढेका हुन् । इन्जिनियरिङ विषयमा अध्ययन सकेका उनी अहिले नेपालमै एक प्रतिष्ठित संस्थाका जागिरे छन् । गौतमका दुई छोरी भने घरगृहस्थीमा छन् । अर्का उपाध्यक्ष भीम रावलका एक छोरा सशस्त्र प्रहरीका इन्स्पेक्टर छन् ।
महासचिव ईश्वर पोखरेलका दुई छोरा सिर्जन र सौराजमध्ये जेठोले बायोटेक्निकल इन्जिनियरिङमा पीएचडी गरेका छन् । कान्छा सौराज छात्रवृत्तिमा अमेरिकामा अध्ययन गरिरहेका छन् ।
‘छात्रवृत्ति कूटनीति’को सिकार
नेपालको आन्तरिक राजनीतिमा अन्तर्राष्ट्रिय शक्तिका अनेकौं हस्तक्षेपकारी भूमिका रहँदै आएको विषय कसैबाट छिपेको छैन । त्यसका अनेक आयाम छन् । तीमध्ये एक ‘छात्रवृत्ति कूटनीति’ पनि प्रमुख हो । नेपालका थुप्रै नेता, नीति निर्माता तथा महत्वपूर्ण सार्वजनिक पद ओगटेकाहरुलाई विभिन्न शक्तिराष्ट्रका दूतावासले त्यही ‘छात्रवृत्ति कूटनीति’को प्रयोग गरेर नजानिँदो ढंगले आफूअनुकूल चलाउने काम गरिरहेका छन् ।
नेपालमा सबभन्दा बढी छात्रवृत्ति प्रदान गर्ने राष्ट्र भारत हो । भारतीय दूतावास स्रोतका अनुसार भारतले वार्षिक करिब ३०० जना नेपाली विद्यार्थीलाई विभिन्न विषयमा छात्रवृत्ति प्रदान गर्छ । अमेरिकाले फुलब्राइट, हम्फ्रीजस्ता प्रतिष्ठित छात्रवृत्ति कार्यक्रमअन्तर्गत वार्षिक करिब सय जना; पाकिस्तानले वार्षिक करिब सय जना; चीन, जापान, बेलायतलगायतका देशले पनि सीमित संख्यामा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।
थुप्रै नेताले भारतीय दूतावासको छात्रवृत्ति प्रयोग गरेका छन् । अझ नीति निर्माताको तहमा यो अनुपात अझ ठूलो हुनसक्छ । छात्रवृत्तिकै कारण कतिपय नेताहरुको व्यक्तिगत जीवन भने विवादमा पर्ने गरेको छ । नेपालका हरेक मामिलामा भारतको छायाँ देखिने चर्चा चलिरहँदा कतै यी झिनासमिना देखिने छात्रवृत्ति कूटनीतिले पनि काम गरिरहेको त छैन ? प्रश्न उठ्नु स्वाभाविक छ ।
Loading...