Latest News

“१७ हजारको लास बिछाएर भगौडा बनेका बाबुराम”


हिजो बाबुराम प्रचण्डकै भाषण सुनेर, उनीहरुले देखाएको सपना बोकेर जनयुद्धमा लागेकाहरु अहिले अंगभंग छन्, परिवारका सदस्य गुमाएका छन् । आफूले रोपेको बीउको फल जे जस्तो भएपनि त्यसको जिम्मेवारी बाबुरामले भने लिनैपर्ने थियो । तर उनी भागे ।

भीष्म थापा

एउटा पशुफार्म थियो । गाई, बाख्रा, खसी भएको फार्म । हुर्काएर, पोसाएर बेच्ने योजना थियो फार्मका मालिकको । गाउँघरमा, जंगलमा आफ्ना माउसँग खेलिरहेका बाच्छाबाच्छी बटुलेर, तिनीहरुलाई फार्म लगेर राखियो । हुर्काउन निकै कष्ट गर्यो मालिकले । घाँसको जोहो, दानाको जोहो, पानीको जोहो । जंगलबा बाघ र स्यालबाट जोगाउनुपर्ने तनाव, चोरहरुको बिगबिगी हुँदा रातभरी रुँघेर पनि उनीहरुले साना बाच्छाबाच्छी र पाठापाठी हुर्काए ।

केहीलाई रोग लाग्यो, केही तंग्रिए, केही मरे । तर फार्म मालिकले हिम्मत हारेन । उसलाई बिश्वास थियो– मेरो मेहनत पक्कै सफल हुन्छ ।

केही महिनापछि फार्मको चर्चा चारैतिर भयो । वाह, यस्तो पो फार्म, कति राम्रा खसी, कति मोटाघाट गाई । अब चैं त्यसले खाने भो आदि इत्यादी ।
तर यो अवस्था धेरै दिन टिकेन । उसको फार्मका खसीबाख्रा, गाई मोटाउँदै जाँदा तिनीहरुलाई मार्ने षडयन्त्र पनि हुँदै थियो ।

एकदिनको कुरा, एउटा दुष्टले राती पसेर उनीहरुको फार्मको गोदाममा राखेको घाँसमा विष छरिदियो । भोलीपल्ट आधाबढी पशुहरु बिमार भए ।
फार्मको मालिकले सुरुमा तिनीहरुको उपचार गर्न खोज्यो, केही निको भयो तर अवस्था दिन प्रतिदिन बढ्दै गयो । उसले फार्ममा काम गर्ने अरुलाई पनि सल्लाह गरेर औषधी गर्न खोज्यो । तर सकेन । घाँसमा विष छ भन्ने कुरा उसले ठम्याउन सकेन । समस्या बढ्दै गएपछि उसलाई यो फार्म नै गलत हो लाग्यो । कायरता पलाउन थाल्यो उसको मनमा ।

अन्ततः बिरामी पशु र चौपायाहरुलाई चटक्कै त्यही हालतमा छोडेर फार्मको मालिक भाग्यो ।
एक महिनापछि फार्मको मालिकले कतै भनिरहेको थियो– त्यो फार्मको अब काम छैन । ठाउँ नै नराम्रो भो, अब ती मर्न लागेका, बिरामी पशुहरुलाई उपचार गर्नुभन्दा नयाँ फार्म खोल्छु ।

र, यसरी उसको एउटा नाम जुरायो– नयाँ फार्म

बिडम्बना भनौं, नेपाली राजनीतिमा यस्तै एउटा एनिमल फार्मको उदय भएको छ ।

यत्र, तत्र, सर्वत्र नयाँ शक्तिको भव्य प्रचारबीच बाबुरामसँग निकट एक बुद्धिजीविले तीतो पोखे– तिनै हदै दर्जाका लाज पचाउन सक्ने मान्छे रैछन् ।

मैले सोधेँ– किन र त्यस्तो ? उनी त विद्धान, भिजन भएका, केही गर्न खोज्ने पो हुन…।

यी…. उनले हातको मुद्रा बनाउँदै नमीठो गाली गरे । आफूले खाएको थालमा थुक्ने मान्छे हुन्छ विद्धान ?

उनको तीतो बाबुरामको नयाँ शक्तिमाथि थिएन । बरु बाबुराममाथि थियो । “१७ हजारको रगत बगाएर त्यसको जिम्मेवारी लिन्न भनेर भाग्न मिल्छ ? यो चाहिँ कुन दर्जाको भिजन हो ? ” उनले भने ।

“छोराछोरी बिग्रिए तिनीहरुलाई चटक्कै सडकमा फालेर अर्को बिहा गर्नतर्फ लाग्ने कि यसमा मेरो पनि केही दोष होला भनेर सच्याउने ?” उनले अगाडि भने ।
मैले भने– दोष बाबुरामको मात्र हो र ? उनी त एउटा पात्र न हुन ।

“प्रचण्डसँग घाँटी जोडेर हिँडने बाबुराम हैन ?” उनले प्रश्न तेस्र्याए– “पार्टीलाई यहाँसम्म ल्याइपुर्याउने बाबुराम होइन, सेकेण्ड म्यान होइनन् तिनी प्रचण्डपछि । पार्टी बिग्रिनुमा प्रचण्ड जति जिम्मेवार छन्, त्यो भन्दा कम्ता जिम्मेवार छैनन बाबुराम, अनि अहिले आएर भाग्न मिल्छ ?” उनले अझै रोष पोखे ।

उनले अगाडि थपे– द्वन्द्वकालिन मुद्दाले तर्सिएका छन् माओवादी कार्यकर्ताहरु । कतिपय जेलमा छन्, कैयौं वेपत्ता छन् । हिजो बाबुराम प्रचण्डकै भाषण सुनेर, उनीहरुले देखाएको सपना बोकेर जनयुद्धमा लागेकाहरु अहिले अंगभंग छन्, परिवारका सदस्य गुमाएका छन् । आफूले रोपेको बीउको फल जे जस्तो भएपनि त्यसको जिम्मेवारी बाबुरामले भने लिनैपर्ने थियो । तर उनी भागे । एउटा भगौडा बने । यो समग्र आफैले सिर्जना गरेको संसारबाट भागे । अहिले आएर कार्यकर्ताहरुले मुद्दा खेपिरहँदा बरु प्रचण्डले सगर्व घोषणा गरे– सर्वोच्च कमाण्डरको नाताले सबै घटनाको मैले जिम्मेवारी लिन्छु । तर बाबुराम ? उनलाई शक्ति आर्जनबाट फुर्सद छैन । लासका चाङहरु आफ्नै विचारले सिर्जिएका थिए र त्यसका लागि आफू पनि जिम्मेवार रहेको कुरा उनी स्वीकार्दैनन् । यो हद दर्जाको स्वार्थीपन, लुच्चोपना बाबुरामले देखाएका छन् ।

बाबुरामले लाखौं मानिस आफू पछि लगाउलान आर्थिक क्रान्तिको नाममा । हिजो पनि उनले लाखौंको आदर्श बन्ने कोशिस गरेकै हुन राजनीतिक क्रान्तिको नाममा । तर अलिकति पनि लज्जाबोध र राजनीतिक इमान्दारिता नभएका बाबुरामले यो अहिलेको फार्म पनि कति दिन टिकाउलान ? त्यो चाहिँ भन्न सकिन्न । तर सप्रेमात्रै त्यसको स्वामित्व लिने र बिग्रे भाग्ने बाबुराम प्रवृत्तिलाई ती हजारौं हजार बलिदानको स्वामित्व बोकेकाहरुले भने कदापी माफी दिन सक्दैनन् ।
Loading...