Latest News

अपाङ्ग महिला यौन हिंसाका शिकार छन् , मैमाथि धेरैपटक प्रयास भए : दृष्टिविहीन निर्मला

गाडी चढ्न सहयोग गर्ने नाउँमा छाती छुन खोज्ने पनि हुन्छन्

काठमाडौं-गुल्मीको दरबारदेवीस्थानमा टिकाराम र चुनकुमारीको पाँचौं सन्तानको रूपमा जन्मिनुभयो निर्मला ज्ञवाली । जन्मँदै आँखा नदेख्ने निर्मला अहिले आफूजस्तै दृष्टिविहीनहरूको लागि काम गर्नुहुन्छ । उसो त निर्मलाका एक दिदी र एक दाइ पनि दृष्टिविहीन हुनुहुन्छ । दृष्टिविहीन भइकन पनि उहाँका दाइको मागेरै बिहे भइसकेको छ त्यो पनि सांगसँग ।
पूर्ण रूपले स्वावलम्बी दृष्टिविहीन निर्मला भने समाजको संरचना र त्यसले महिलामाथि गर्ने व्यवहारका कारण घरजम गर्न डराइरहनुभएको छ । निर्मलाले पूर्ण छात्रवृत्तिमा अमेरिका गएर अध्ययन समेत गर्नुभएको छ । राम्रै तलबमानको जागिर पनि उहाँले पाउनुभएको छ । अहिले विभिन्न संघसंस्थामा आबद्ध भएर अपाङ्गता भएका मानिसको लागि काम गर्दै आउनुभएकी निर्मला ज्ञवालीसँग लोकान्तरका लागि निरञ्जन सापकोटाले गरेको  कुराकानीमा आधारित  छोटो कुराकानी :IMG_6132
जोखिमको हिसाबले अपाङ्ग जगतमा यौन दुव्र्यवहार बढी नै हुने गर्छ । अपाङ्गता भएका महिला, त्यसमाथि पनि दृष्टिविहीन महिलालाई अपाङ्गता भएका पुरुषले नै यौन दुव्र्यवहार गर्ने गरेका छन् । अचम्मको घटना सुनाउँछु है – म भर्खर अमेरिकामा पढेर नेपाल फर्केको थिएँ सन् २००७ मा । जनकपुरमा अपाङ्ग महासंघको अधिवेशन भइरहेको थियो ।
म पनि अमेरिकाबाट आएर कतै केही गर्दै थिइनँ, खालि नै थिएँ । साथीहरूले जाऊँ भनेर म पनि त्यहाँ पुगेको थिएँ । म त्यत्तिकै गएको हो पर्यवेक्षकको रूपमा । म सदस्य होइन अहिले पनि । सदस्यता लिनुपर्ने चाहिँ हो । ३० महिनाअघि रेडियो सगरमाथामा पत्रकारिता गर्थेँ । त्यसैको आधारमा पत्रकार भएर म गएको हुँ ।
यस्तो पनि भयो 
त्यहाँ त सुनियोजित रूपमा नराम्रो काम भइरहेको मैले पाएँ । एउटै कोठामा तीनजना अपाङ्गता भएका र दुईजना दृष्टिविहीन दिदीबहिनीहरूलाई राखिएको रहेछ । शौचालय चाहिँ हलको पुछारमा रहेछ । राति दृष्टिविहीन महिला शौच गर्न जाँदा अपाङ्गता भएका पुरुषले दुव्र्यवहार गरेछन् । भोलिपल्ट ती नानीले हामीलाई घटनाको बारेमा भनिन् । हामीले अन्याय भएको किन सहन्थ्यौं र ?
त्यसपछि हामीले अधिवेशन हुन दिएनौँ । त्यही प्रसङ्गमा मलाई रेडियो सगरमाथाबाट एकजना साथीले फोन गरेर ‘के हो निर्मलाजी तपाईँ त नारा लगाउँदै हुनुहुन्छ त’ भन्नुभयो । मैले त्यहाँको वास्तविकता भनिदिएँ । उहाँले महिला महासंघको अध्यक्षलाई फोन गरेर ती नानीसँग कुरा गर्नुभएछ । तिनीहरूले ती प्रभावित महिलालाई के के भनेर १५ हजारमा कुरा मिलाउन पो आँटेछन् । रेडियो सगरमाथाले लाइभ प्रसारण गरेछ ।
मैले चलाउने ‘समानताका स्वरहरू’ भन्ने कार्यक्रम दीपकजीले चलाउँथे रेडियो सगरमाथामा । अपाङ्ग महासंघका अध्यक्षलाई फोन गरेर बोलाएछन् साथीहरूले सगरमाथामा । हामी पनि शान्ति मन्त्रालयमा पनि धायौँ, पीडकलाई कारबाहीको माग राखेर एमालेकी अष्टलक्ष्मी शाक्यकोमा पनि गयौँ ।
तपाईँहरूले यस्तो मान्छेलाई संरक्षण गर्नुहुन्छ भने हामी भोट नै हाल्दैनौँ पनि भन्यौं । अन्त्यमा नेपाल नेत्रहीन महासंघको उपल्लो तलामा त्यो नानीलाई ५ घण्टा थुनेर दिमाग सफा गरेछन् । अदालतमा जाँदा ति नानीले होइन पो भनिदिइन् ।
गाडी चढ्न सहयोग गर्ने नाउँमा छाती छुन खोज्ने पनि हुन्छन् 
यौनहिंसाका प्रयास मैमाथि पनि धेरै पटक भएका छन् तर त्यस्ता प्रयासलाई मैले पूर्ण रूपमा विफल पार्ने गरेकी छु । कहिलेकाहीँ बसमा यात्रा गर्दा पछाडि सिटको चेपबाट हात छिराएर स्पर्श गर्न खोज्ने मान्छे समेत भेटिन्छन् । एकपटक त मैले एउटो यस्तै छिल्लिएको मान्छेलाई बलपेनको टुप्पोले घोचिदिएको पनि छु । बसमा यात्रा गर्दा एकपटक सँगैको सिटमा मदिरा पिएको मान्छे रहेछ । मैले तत्काल उठेर यहाँ कोही महिला हुनुहुन्छ, मलाई राति शौच गर्न जानुपर्छ, मलाई सहयोग गर्नुपर्यो भनेर जुक्ती लगाएर पनि सम्भावित दुर्घटनाबाट बचेको छु ।
गाडी चढ्न सहयोग गर्ने नाउँमा स्तनमा छुन खोज्ने पनि हुन्छ हामीलाई । बाटो कटाइदिने एकजनाले त गाला चिमोटेर ‘यति राम्री छ्यौ, यौन सम्पर्क गर्न मन लाग्दैन ?’ भनेर सोध्ने दुस्साहस समेत ग-यो । तर म आफूलाई यस्ता कुराबाट सधैं सजग बनाएर हिँडेको हुन्छु ।
यो हाम्रो लागि चुनौतीको कुरा हो । कुनै पनि ठाउँमा गएर कसैलाई उदाहरणको रूपमा पेश गर्ने मान्छे नै छैन । साँच्ची नै दुःखद कुरा हो । कतिपटक त मैले मिडियाका साथीहरूलाई पनि हाम्रो यो समस्यालाई उजागर गर्न भनेको छु । संघहरुले पनि अपाङ्गको हक अधिकारको लागि लडिरहेका छौँ भन्ने तर यौन दुव्र्यवहार गर्न नछाड्ने नरमाइलो कुरा हो । आफू पनि सशक्त त हुनुप-यो ।
आँखा देख्दिनँ तर प्रतिकार गर्न मुख छ
म के भन्छु भने दृष्टिविहीन महिलाहरूमा चेतनाको कमी छ । आफूले पाउने सुविधा लिन पनि जे भन्छन् त्यो मान्नुपर्ने बाध्यता छ । इन्कार ग-यो भने नपाइने हो कि भन्ने डर छ दिदीबहिनीमा । कति दिदीबहिनीहरू त अन्याय सहेरै बस्नुभएको छ । तपाईं हामीले बिचरा भनेर पनि के गर्नु जब प्रभावितहरूले केही बोल्दैनन् भने । मैले चाहिँ यो समस्या भोग्नुपरेन किनभने म आफ्नो बचाउ आफैँ गर्न सक्षम छु ।
म आँखा देख्दिनँ तर मुख त छ नि प्रतिकार गर्नलाई । आफूलाई अन्याय पर्दा बोल्नैपर्छ । एकपटक नेपाल बन्द थियो, एकजनाले मलाई फोन गरेर ‘नेपाल बन्द भएर के भो त मेरोमा आऊ न’ भन्नुभयो । मैले उहाँको कुरालाई इन्कार गरिदिएँ । मैले सम्भावित खतरालाई यसरी नै परास्त गर्ने गरेकी छु । त्यो मान्छेको बारेमा अहिले पनि बहिनीहरूले गुनासो गर्नुहुन्छ । जथाभावी छुन खोज्ने गर्नुहुँदोरहेछ अहिले पनि ।
अपाङ्ग महासंघको सुदर्शनजीलाई मैले यस्तो यस्तो कुरा आएको छ भनेर गुनासो पनि गरेँ । कारबाही गरौंला भन्नुहुन्थ्यो तर किन गर्नुहुन्थ्यो र गरेनन् । सम्बन्धित निकायसम्म कुरा पु-याए पनि थामथुम पार्ने काम हुन्छ ।
lokanthar
-
Loading...