Latest News

३ दिनले ३ नेतालाई सिकाएका ३ पाठ !!!


टिप्पणी/ सरोज गौतम

नेपाली राजनीतिमा साना तिना भूकम्प गइनै रहन्छन् । तर गत मंगलबार देखि शुक्रबार सम्म भने नेपाली राजनीतिमा मुख्य भूकम्पको धक्कापछिका थुप्रै पराकम्पनहरु बारम्बार अनुभव भए । असाध्यै संवेदनशील भूगोल भएको देशका असाध्यै असंवदेनशील शैलीका नेपाली नेताहरुले एक पटक नेपाली राजनीतिको संक्रमण त्यति छिटै टुङ्गिनेवाला छैन भन्ने पटाक्षेप गरिदिएका छन् ।

भारतीय मिडिया विश्लेषणः दिल्ली नेपालमा एक फटक फेरि असफल

राजनीतिक स्थिरता र आर्थिक विकाशको नारा मुखमा झुण्ड्याएपनि सत्ताको कुर्सीका लागि नेताहरु कुन हद सम्म मरि मेट्छन् भन्ने पनि विगत ३ दिनमा छर्लङ्ग भएको छ । यी ३ दिनको सारांस हो नेपालीहरुका दुःखका दिन अझै सकिएका छैनन् र छिटै सकिनेवाला पनि छैनन् ।



मंगलबार देखि नेपाली राजनीतिमा माडारिएको कालो बादल विहीबार राति मात्र फार्‍यो । तरंग ठूलो भएपनि कुरा ठूलो थिएन । सत्ताबाट शुरु भएको कुरा सत्तामै गएर टुङ्गियो । तर यो ७२ घण्टाले नेपालको प्रमुख पार्टीका तीन नेताको औकात देखाइदियो । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली जित्ने साइडमा देखिए भने कांग्रेस सभापति शेरबहादुर देउवा हार्ने साइडमा । केही समय यता पुनर्स्थापति राजनीतिक उचाइलाई धक्का पुर्‍याउँदै एमाओवादी अध्यक्ष प्रचण्ड भने पुनः एक पटक अस्थिर र अपरिपक्व राजनीतिक खेलाडी सावित भए । दिल्लीको आशिर्वाद थापेर फर्केका देउवाले प्रधानमन्त्रीको पासा फालेपछि तिल्मिलाएका प्रचण्डलाई ठेगानमा आउन २४ घण्टा लाग्यो । गठबन्धन सरकारमा रहँदा रहँदै समर्थन फिर्ता नलिइकन नयाँ सरकार बनाउने आह्वान गरेका प्रचण्डले प्रमुख २ दल नेपाली कांग्रेस र एमालेमा ठूलै भूकम्प ल्याइदिए । यद्यपी यो राजनीतिक भूकम्पको सहज ब्यवस्थापन प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी जोगाएरै गरेका छन् । भूकम्पमा पनि सत्ता जोगाउने खेलको पराकम्प यो खेलका हार्ने खेलाडी देउवाले लामो समय सम्म अनुभव गर्नु पर्ने छ ।

३ दिनले ३ नेतालाई सिकाएका ३ पाठ

१- केपी ओली
विगत ३ दिनमा प्रधानमन्त्री ओलीलाई आफ्नो सरकारको जग कति कमजोर छ भन्ने राम्रै महसुस भयो । उत्तेजक भाषण र उखान टुक्का भरिएका विकाशे नाराले जनमानसमा राम्रो छाप छोड्न सफल नभएपनि भारतसँग जोरी खोज्दै राष्ट्रवादको खम्बा उचालेका कारण उनीमाथि राम्रै साहनुभुति पनि छ भन्ने सामाजिक सञ्जालहरुले पुष्टि गरे । गठबन्धन सरकार चलाउँदा मनोमानी शैलीले काम गर्दैन आफूसँग रहेका सहयात्रीहरुका गुनासालाई अण्डरमाइन गर्दा कुर्सी धरापमा पर्छ भन्ने बोध प्रधानमन्त्री ओलीलाई ३ दिनमा भुल्नै नसक्ने गरि भयो । कुटनीतिक भन्दा पनि आक्रामक भाषा शैलीका कारण चिनिएका ओली कुर्सी जोगिएपछि ढुक्क भएर संसदमा प्रस्तुत हुँदा पनि केही संयमित देखिए । यो शैली उनलाई ३ दिनले सिकाएको पाठको परिणाम हो । जतिसुकै धेरै पार्टीका उपप्रधानमन्त्री बनाएपनि एउटा मात्र उपप्रधानमन्त्री पाएका प्रचण्डले खुट्टा झिक्दा आफू धरापमा पर्ने कुरा पनि ओलीलाई यस पटक राम्रैसँग अनुभव भएको छ । कमजोर सत्ता गठबन्धनमा टेकेपनि बोलिमा आक्रामकता कायम राखेका ओलीलाई ३ दिनले केही नरम तुल्याएको छ ।




ओलीले भाषण र उपप्रधानमन्त्री थप्ने बाहेक खासै काम गरेनने भन्नेहरुका लागि ओली सरकार कायम रहनु खासै उत्साहित हुने विषय होइन । किन भने उनले सरकार जोगिएपछि संसदमा दिएको भाषणमा पनि सपनाको खेती गर्न छोडेनन् जवकि ब्यवहारमा हेर्दा काम होइन कुरा मात्र देखिन्छ । ओली सरकार ढल्न लाग्दा सामाजिक सञ्जालमा देखिएका खुच्चीङले ओली सरकार कामले लोकप्रिय बन्न सकेको छैन भन्ने पाठ पनि उनलाई सिकाएको छ । लोकप्रिय प्रधानमन्त्री बन्नका लागि ओली बोलीको मात्र होइन ब्यवहारको समाधानमुखी नेता पनि हो भन्ने पुष्टी गर्ने चुनौती सहितको पाठ पनि तीन दिनले उनलाई सिकाएको छ ।

२- प्रचण्ड
‘बोल्ड निर्णय लिन माहिर’को उपमा पाएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि लाग्दै आएको आरोप हो ‘अविश्वसनीय’ र अपरिपक्व । निर्णय लिने र त्यसलाई केही समय पछि नै गल्ती भनेर पश्चाताप गर्ने उनको बानीलाई कतिपयले महान र ‘डायनामिक’ भनेपनि अधिकाँशले अविश्वसनीय र अपरिपक्व मान्ने गरेका छन् । प्रचण्डले आफूमाथिको नकारात्मक आरोपलाई एक पटक थप पुष्टि गर्ने मौका दिए । कांग्रेसले दिएको प्रधानमन्त्रीको आश्वासन (लिखित होइन मौखिक मात्र) कै भरमा पार्टी भित्रै सक्रिय कतिपय ओली सरकारका कट्टर विरोधीको दवावमा परेर प्रचण्डले सरकारमा बस्दा बस्दै अर्को सरकार बनाउने अपिल सार्वजनिक गरे । नेपाली राजनीतिमा ९ रेक्टर स्केलको भूकम्प ल्याइदिने उनको विज्ञप्ति २४ घण्टा पनि कायम रहन सकेन किन भने उनले उक्त अपिल फिर्ता लिँदै निर्णय बदलिसकेका थिए । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने प्रचण्डलाई यस पटकको घटनाक्रमले पनि राम्रै चेताएको हुनु पर्छ ।
प्रचण्डले पछिल्लो दाउपेचबाट आफूलाई सत्ता लोलुप र अविश्वसनीय नेताकोरुपमा चिनाउन चाहनेहरुलाई मौका दिएका छन् । अझ ओलीले एकलौटी जितेको यो खेलमा प्रचण्डको हातमा खासमा केही पनि (भद्र सहमति भनिएपनि) लागेको छैन । किन भने नेपालमा भद्र भनिएका सहमति कहिल्यै पनि पालना भएको उदाहरण छैन । ३ दिनले प्रचण्डलाई ठूलो स्वरमा भनेको छ, “हतारमा निर्णय गरेर फुर्सतमा पछुताउने बानी छोड प्रचण्ड” । गृहदेखि आपुर्ति सम्मका मन्त्रालय आफ्नै हुँदा पनि आफ्नै मन्त्रालय सम्बन्धि विषयमा सरकारको आलोचना गर्दै नयाँ सरकार बनाउने प्रचण्ड घोषणा कति लबस्तरो थियो भन्ने कुरा २४ घण्टा भित्र भएको यू-टर्नले देखाएको छ । प्रचण्डको छवि अविश्वसनीय र अपरिपक्व होइन भन्ने कुरा पुनः प्रमाणित गर्नु पर्ने चुनौती सहितको पाठ पनि पछिल्लो घटनाले उनलाई सिकाएको छ । राजनेताको स्तरमा उक्लिसक्दा पनि ‘औषत नेता’ को ब्यवहार प्रचण्डले बदल्नै पर्छ ।

३- शेरबहादर देउवा
नेपाली संसदीय ब्यवस्थामा शेरबहादुर देउवा भन्ने नाम कुनै प्रसंसा योग्य नाम होइन । देउवामाथि सुरा सुन्दरी काण्ड देखि सांसद खरिद विक्री र दरवारमा प्रजातन्त्र बुझाएको आरोप सम्म लागेको छ । संसदीय खेलका सबैभन्दा अनुभवि खेलाडी मानिएपनि शेरबहादुर यस पटक वास्तविक ‘शेर’ होइनन् भन्ने पुष्टि भएको छ । कम्युनिष्ट गठबन्धन फुटाएर ओली सरकार ढाल्ने उनको प्रयास पूर्णतः असफल भएको छ । यति मात्र होइन सरकारमा जान हतार नभएको बताउँने देउवाको हतारको कदम र ढोंगी ब्यवहारले कांग्रेसको साख गरिराइदिएको छ ।
शुक्रबार कांग्रेसका असन्तुष्ट केन्द्रिय सदस्यहरुले छुट्टै भेला बोलाएर सभापति शेरबहादुर देउवाको कच्चा खेलले कांग्रेसको छवि धुमिल बनाएको निश्कर्ष निकाल्नु त्यसकै उदाहरण हो ।

भविष्यमा ओलीले राजीनामा गरी प्रचण्डलाई प्रधानमन्त्री बनाउने खुलासा

ओलीले संसद संबोधनमा स्थापति गर्न खोजेका ८ एजेण्डा

उक्त भेलामा नेताहरुले देउवाको आलोकाँचो खेलका कारण पार्टीको छवि धुमिल भएको र पार्टीलाई सत्ता राजनीतिको फोहोरी खेलाडीका रुपमा चित्रण गर्नेहरुलाई बल पुगेको निष्कर्ष निकालेको छ । यसैपनि सत्ताका लागि जे सुकै गर्न सक्ने छवि बनाएका देउवाले दिल्लीबाट फर्किए लगत्तै फ्याँकेको पासा फेल हुँदा कांग्रेस भारतको दलाली गर्ने पार्टी हो भन्नेहरुलाई बल पुगेको छ । भारतकै पहलमा भएको भनिएको सुशील कोइरालाको प्रधानमन्त्री उम्मेदवारी देखि शुरु भएको कांग्रेसमाथिको यो आरोपलाई देउवाले थप पुष्टि गरिदिएका छन् । पछिल्लो असफलताको छायाँले देउवालाई लामो समय सम्म पच्छ्यारहने निश्चित छ । प्रत्यक्ष भन्दा गोप्य खेलमा बढी सफल मानिने देउवालाई राष्ट्रिय वातावरण अनुकुल नभए सम्म अन्तराष्ट्रिय समर्थनले मात्र सत्ता ढाल्न सकिँदैन भन्ने पनि बोध भएको विश्लेषकहरुले बताएका छन् । आगामी दिनमा शेरबहादुर राजनीतिको साँच्चिकै ‘शेर’ हो भन्ने पुष्टी गर्दै आफू सत्ता लोलुपमात्र होइन देशका लागि राजनीति गर्ने ब्यक्ति हो भनेर पुष्टि गर्नु पर्ने चुनौतीसहितको पाठ ३ दिनले देउवालाई सिकाएको छ ।
Loading...