Latest News

सुनको सर्ट लगाए ने मान्छे !!


गरगहना बनाउन मानिसले सुनको प्रयोग गर्छन्। तर, भारतमा एक जना धनाढ्यले सुनकै सर्ट बनाएर लगाउँछन्। त्यो पनि ४ दशमलव १० किलोग्रामको। आफ्नो ४५ औं जन्मदिनको अवसर पारेर उक्त सर्ट बनाउन लगाएका थिए। त्यसयता त्यो सर्टको व्यापक चर्चा हुँदै आएको छ, ‘गिनिस बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता पनि भइसकेको छ। यसरी चर्चा पाउने र सुनको सर्ट लगाउनेमा महाराष्ट्र नासिकका ४७ वर्षीय कपडा व्यापारी पंकज परख हुन्। सानैमा उनलाई सुनप्रति मोह उत्पन्न भएको थियो। जब उनी पाँच वर्षका थिए, त्यही बेला पहेंला धातुहरूसँग खेल्ने उनको रुचि रहेछ।
आठ कक्षासम्म मात्रै पढेका उनी विद्यालयबाट ‘ड्रप आउट’ भई परिवारको सानो कपडा व्यापारमा संलग्न भए। तर, पंकजको पहेंलो धातु खासगरी सुनप्रतिको मोह कायमै थियो। सुनको औंठी, सिक्री लगाउने उनको चाहना थियो। एक दिन सुनकै सर्ट लगाउँला भन्ने सोचेकै थिएनन्, उनले। अथक परिश्रम र कडा संघर्षले सुनकै सर्ट लगाउने हैसियतमा पुगेका छन्, अहिले उनी। यसका लागि उनले कपडा व्यापारमा धेरै समय खर्चे। फलस्वरूप आम्दानी पनि बढ्दै गयो। त्यही आम्दानीले पंकजले आज ‘सुन मान्छे (गोल्ड म्यान)’ को नाम पाएका छन्। आफ्नो लक्ष्य दृढ र त्यसलाई प्राप्त गर्न कडा संघर्ष गर्न सक्नेको प्रगति एक दिन निश्चित हुँदो रहेछ।

पंकज यसको एउटा राम्रा उदाहरण बनेका छन्। महाराष्ट्र राज्यमा राष्ट्रिय कंग्रेस पार्टीका सदस्यसमेत रहेका उनी महाराष्ट्रका एक सफल व्यापारीबाट पनि चर्चित छन्। उनी मुम्बईबाट २६० किमि दूरीस्थित येओला सहरका नेसनलिस्ट कंग्रेस पार्टीका उपमेयर हुन्। महाराष्ट्रको मुम्बई नजिकै अर्बौंको उनको कपडा व्यापार छ। उनी येओलामा बस्छन्। पंकजको सम्पत्तिको स्रोत गार्मेट फ्याब्रिकेसन व्यापार नै प्रमुख हो।

जहाँसम्म पंकजको सुनको सर्टको कुरो छ, त्यसमा १८–२२ क्यारेडको सुन प्रयोग गरिएको छ। यो सर्ट बनाउन २० कालिगढलाई ३ हजार २ सय घण्टा लागेको थियो। सुनको सर्टमा अन्य सर्टमा जस्तै लगाउन सजिलो होस् भनेर सात वटा टाँक छन्, ती सबै सुनकै छन्। यो लगाउनमा अरामदायी र हानिरहित रहेको पंकज बताउँछन्। उनका अनुसार यसलाई सफा र मर्मतसमेत गर्न सकिने भएकाले लाइफटाइम ग्यारेन्टी छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार विश्वकै सबैभन्दा महँगो सुनको सर्ट भएकाले पंकजलाई हालै गिनिस बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त भएको छ। सर्टको मूल्य २ करोड ८ लाख रुपैयाँ हुन आउँछ।

पंकजले सुनको सर्ट मात्रै लगाउँदैनन्, सुनकै घडी, सुनकै सिक्री, ठूलो रिङ, गोल्ड मोबाइल कभर, गोल्डेन फ्रेम भएको चस्मा लगाउँछन्। यी वस्तुहरूसहित झन्डै १० किलोको सुन उनको शरीरमा सधैं हुने गरेको छ। पंकजले एक अन्तर्वार्तामा भनेका थिए, ‘जब म आफ्नो चम्किलो सर्टमा लाइसेन्स प्राप्त रिभाल्वर लिएर निस्कन्छु, सबै महिलाले मलाई नै हेर्छन्, पुरुषहरू भने एकोहोरिएरै हेर्छन्।’ सडकमा कुनैखालको अवरोध नहोस् भनेर उनी आफ्ना निजी गार्डहरूका साथ निस्कने गर्छन्। उनका दुई सुरक्षागार्ड छन् , जुन सधैं उनको साथमै हुन्छन्। झन्डै २५ वर्षअघि उनको विवाहमा बेहुलीभन्दा बढी सुन उपहार पंकजले नै पाएका थिए।

अधिकांश अतिथिले पंकजका लागि सुन ल्याएका थिए। एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘सुनप्रतिको मेरो माया देखेरै होला मैले उपहारमा धेरै सुन पाएको हुँ।’ पंकजले सुनप्रतिको आफ्नो मोहबारे परिवारका सदस्यहरूलाई धेरै पहिलेदेखि थाहा रहेको बताए। उनले सन् २०१४ मा आफ्नो ४५ औं जन्मदिनका अवसरमा आफ्नो लागि २ लाख १३ हजार अमेरिकी डलर मूल्य पर्ने उक्त चर्चित सुनको सर्ट बनाउन लगाएका थिए।

महाराष्ट्र खडेरीको चपेटामा छ। हालै एक रिपोर्टअनुसार यो वर्ष मात्रै १ सय २६ जना कृषकले त्यहाँ आत्महत्या गरिसकेका छन्। कृषकहरूले आत्महत्या गर्नुका ऋणको बोझ, अनाजको उत्पादनमा कमी र घर खर्च धान्नै नसक्ने महँगी नै रहेको हो। तर, त्यही राज्यका पंकजले सुनकै सर्ट लगाउँदा धेरैलाई विरोध गर्ने मौका प्रदान गरेको छ। केही स्थानीय बासिन्दाले पंकजको यो अनौठो सोखलाई धन सो गर्ने रूपमा लिएका छन्। केहीले भने उनलाई राजनीतिकर्मीसमेत भएर जनताको धनमा रजाइँ गरेको आरोपसमेत लगाउँछन्।

यी आरोपहरूलाई चिर्न पंकज केही सामाजिक कार्यमा समेत आफ्नो योगदान पुर्‍याउँदै आएका छन्। उनले केही वर्षअघि १२० जनाको पोलियो अपरेसनमा आर्थिक सहयोग गरे। हरेक वर्ष कम्तीमा एक साता एक हजार बेड भएको हस्पिटलमा स्वयंवसेवक भई काम गर्छन्। खासगरी भारतमा पोलियो उपचारका लागि उनको योगदान रहँदै आएको छ। यसैगरी उनी अस्पतालमा भर्ना भएका निर्धनहरूलाई खाना, औषधि, शल्यक्रिया लगायतमा सहयोग पनि गर्छन्। उनले सुनकै सर्टको चर्चाका कारण हिन्दी सिनेका अभिनेता अमिताभ बच्चनले पंकजलाई घरमै बोलाउँदा खुसी भएको बताउँछन्।

पंकज परख एक्लो भारतीय होइनन्, सुनको सर्ट लगाउने। सन् २०१३ मा दत्त फुगेले २ लाख ३० हजार ८ सय ८८ अमेरिकी डलर खर्चेर सुनको सर्ट बनाएका थिए, जुन उनको कुल सम्पत्तिको एक तिहाइ थियो। सन् २०१३ अप्रिल १५ मा बीसीसीले दत्तका बारेमा एउटा स्टोरी सार्वजनिक गरेको थियो। त्यसमा विश्वकै सबैभन्दा महँगो सर्टबारे उल्लेख थियो। दत्तले बनाएको सुनको सर्टको तौल ३ किलोग्राम थियो।

Loading...