Latest News

सिंहदरबार घेर्न कहाँबाट आए यी विदेशी ? (फोटोसहित) !!!

काठमाडौं: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र जनजाति अभियानसम्बद्ध केही दलले आइतबार आयोजना गरेको सिंहदरबार घेराउ कार्यक्रममा नेपाल घुम्न आएका विदेशी नागरिक पनि देखिए । 





‘लिम्बुवान’ लेखिएको रातो कपडा टाउकोमा बाँधेर करिब ४ जना विदेशी युवायुवती मधेसी दलको सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएका थिए ।

हजारौं सुरक्षाकर्मीको उपस्थितिबीच उनीहरु मधेसी मोर्चा र जनजातिसम्बद्ध दलका कार्यकर्तासँगै नाराबाजीमा मात्रै उत्रिएनन्, धर्ना बस्नसमेत भ्याए । 


मधेस आन्दोलनका पक्षमा स्टाटस लेखेकै कारण सरकारले केही समयअघि एक विदेशी नागरिकलाई देश निकाला गरेका बेला फेरि विदेशी नागरिक पनि आन्दोलनमा सहभागी हुँदै सडकमै उत्रिएका हुन् । 

विदेशी नागरिक समेत मधेसी मोर्चाको सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएको अवस्थामा गृहमन्त्रालयले भने अनभिज्ञता प्रकट गरेको छ । 

गृहमन्त्रालय स्रोतले सिंहदरबार घेराउका क्रममा मधेसी मोर्चाका नेता कार्यकर्ता सडकमा उत्रेको सबै स्थानको रिर्पोट आइनसकेकाले आन्दोलनमा विदेशी नागरिकको सहभागिता पुष्टि भइनसकेको जनाएको छ । 

नेपालको अध्यागमन कानुनले विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा सहभागी हुन निषेध गरेको छ । सिंहदरबार घेर्न पुगेका विदेशीबारेमा गृहले अनभिज्ञता प्रकट गरिरहँदा उनीहरु कुन् देशका नागरिक हुन् भन्ने पनि खुल्न सकेको छैन । 

यसअघि क्यानाडाका नागरिक रोबर्ट पिनरले मधेस आन्दोलनका समर्थनमा सामाजिक सञ्जालमा लेखेपछि सरकारले उनको भीसा रद्ध गरिदिएको थियो । 




सिंहदरबार घेर्न सहभागी विदेशी नागरिकका यी तस्बिर मिडिया एनपीका फोटो पत्रकार खिलराज बिमलीले खिचेका हुन्
annapurnapost
Loading...