Loading...
काठमाडौं, चैत । भूकम्पीय दुर्घटनामा परेर बाँचेका नेपाली बालबालिकाहरुलाई घरेलु कामदारको रुपमा बेलायतमा विक्री गर्ने गरिएको तथ्य सार्वजनिक भएको छ । बेलायति पत्रिका द सन ले यो खुलासा गरेको हो
सनका अनुसार भूकम्पमा बाँच्न सफल रहेका १० वर्ष भन्दा कम उमेरका नेपाली बालबालिकाहरुलाई गिरोहले बेलायतमा बेच्ने गरेको हो ।
नेपालसँग सीमा जोडिएको भारतको बिहारका बालबालिका पाँच हजार दुई सय ५० पाउण्ड (सात लाख ९० हजार नेपाली रुपैयाँ) मा बिक्री गरेको आफूले गरेको स्थलगत अनुसन्धानबाट खुलेको द सनले दाबी गरेको छ ।
बालबालिका बिक्री गर्ने गिरोहका नाइके भारतीय नागरिक मख्खन सिंह रहेको द सनको खबरमा उल्लेख छ ।
नेपाली बालबालिका बेलायत पठाइएको र उनीहरुले खाना पकाउनेदेखि घरका अरु काम गर्ने गरेको उल्लेख छ । द सनको टोलीले ग्राहकको भेषमा मख्खनलाई भेटेको थियो । टोलीले उनलाई नेपालको सीमाबाट ५० माइल पर रहेको भारत अमृतसरको जालन्धरमा भेटेको थियो । मख्खनले द सनको टोलीलाई बालबालिका पनि भेटाएका थिए ।
भूकम्पका कारण विस्थापित भएर भारत गएका नेपाली परिवारका बालबालिकालाई मख्खनले बिक्री गर्ने गरेका छन् । यस्तै उनले बिहारका गरिब परिवारका बालबालिकालाई पनि त्यसै गरी बिक्री गर्ने गरेको बताएका छन् । उनले द सनको टोलीलाई व्यक्तिगत रुपमा कुरा गर्न भनेका थिए । लुकाइएको क्यामेराबाट उनको कुरा रेकर्ड गरिएको द सनले उल्लेख गरेको छ ।
मख्खनले आफूले बालक उपलब्ध गराउनु पर्ने तर उसलाई बेलायतसम्म लैजानका लागि चाहिने कागजात तयार गर्ने जिम्मा भने किन्ने पक्षले नै गर्नु पर्ने बताएका थिए । भारतमा धेरै बालक रहेको र नेपालका भूकम्प पीडित बालबालिका पनि भारतमा धेरै रहेकाले तिनीहरुबाटै आफूले बिक्री गर्ने गरेको उनले बताए ।
मख्खनले आफ्नो टोलीलाई १० वर्षका बालक अमित, १२ वर्षकी बालिका पूजा र १३ वर्षका बालक सुस्ती राम भेटाएको द सनले खबरमा उल्लेख गरेको छ, तर ती बालबालिका नेपाली हुन् वा भारतीय भन्ने चाहिँ उल्लेख छैन ।
नेपाली तथा भारतको बिहारका बालबालिका लाई धर्मपुत्र वा धर्मपुत्रीको रुपमा बेलायत पठाइने गरेको र ती बालबालिकाले घरेलु कामदारको रुपमा काम गर्ने गरेको उल्लेख गरिएको छ ।
मख्खनले प्रत्येक बालबालिकालाई आआफ्नो परिचय दिन भनेपछि पूजाले आफ्नो उपनाम प्रिती रहेको जानकारी पनि दिएकी थिइन् । मख्खनले तीनै बालबालिका स्वस्थ रहेको र घरको काम गर्न सक्षम रहेको बताएका थिए । मख्खनले पहिले सम्झौता गर्न र त्यसपछि मात्रै बालबालिका लैजान दिने बताएका थिए ।
द सनले त्यस्तो खुलासा गरेपछि बालबालिका बेचविखन भएको विषयमा बेलायतको नेशनल क्राइम एजेन्सीले छानबिन गर्ने भएको छ । बेलायती गृह सचिव थिरेसा मेले बालकालिका बेचबिखन कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै यस विषयमा छानबिन गर्ने प्रतिबद्दता जनाएकी छिन् ।
Loading...
Social Buttons