Latest News

एउटा चिकित्सक अर्को बिरामी यी हुन् विपत्तिले जोडेको नाता !!

एउटा बिरामी–अर्को चिकित्सक । अघि उनीहरूको सम्बन्ध केवल औषधि गरुञ्जेल रहन्थ्यो । भूकम्पले त्यो परिधि तोडेर अनौठो सम्बन्ध बनाइदिएको छ । अझ एउटै घटनामा सँगै बाँचेको जोडीबीच नयाँ नाता बन्दैछ । …काठमाडौं–वैशाख १२ गते ११.५६ बजे काठमाडौं, सुन्धारास्थित धरहरा छिन्नभिन्न भयो । त्यसमाथि चढेर अकासिएका मन कति त आकाशमै बिलाए । कतिले काँपिरहेको धर्तीको धुलोबीचमै प्राण त्यागे । थर्ररथर्रर त्यो कम्पन बाँच्नेका हृदयमा त्रास बनेर रह्यो । अग्लो धरहरा क्षणभरमै धुलोबीच कतै बिलायो । 

अहिले त्यसको जग मात्र छ ।भूकम्पले टुक्रिएको धरहराबाट नयाँ नाता जन्मियो । उनीहरू बारम्बार भेट्छन् । कुराकानी गर्छन् । सुखदुःख सोध्छन् । त्यति मात्र हैन, कतिपय सामाजिक सञ्जालमा समेत जोडिइसकेका छन् । एउटा बिरामी– अर्को चिकित्सक । अघि उनीहरूको सम्बन्ध केवल औषधि गरुञ्जेल रहन्थ्यो । भूकम्पले त्यो परिधि तोडेर अनौठो सम्बन्ध बनाइदिएको छ । अझ एउटै घटनामा सँगै बाँचेको जोडीबीच नयाँ नाता बन्दैछ ।’डाक्टर सन्तोष पौडेलले आफैँ बोलाउनुहुन्छ,’ धरधराको माथिल्लो तलाबाट खसेर बाँचेका सञ्जीव श्रेष्ठ (२०) भन्छन्, ‘के छ, कसो छ सोध्नुहुन्छ ।’ धरहराबाट खसेपछि सञ्जीवको हात भाँचियो । टाउकोमा चोट लाग्यो । हातमा स्टिल राखिएको छ । ‘अझै निको भएको छैन,’ उनी सुनाउँछन्, ‘खै जीवनभरि यस्तै दुखाई सहनुपर्ने हो कि ?’ उनको चोटबारे चिकित्सक पौडेल भन्छन्, ‘सञ्जीवको हातको अप्रेसनपछि केही समस्या आयो । घाउ पाकेको थियो । त्यसैले पनि पीडा बल्झियो ।’ तर, चोट सामान्य बनाउन पहल भइरहेको पौडेल बताउँछन् । ‘तीन महिना हेर्छौं, नत्र फेरि अप्रेसन गर्छौं,’ पौडेलले भने, ‘जीवन बचायौं, अधुरै छाड्नु त भएन नि !’०००अधुरो त समयले पनि छाडेन । धर्तीको कम्पनले दिएका चोट भरिँदैछन् । सँगै बाँचेका रमिला श्रेष्ठ र सञ्जीवबीच नयाँ नाता गाँसिँदैछ । सँगै बाँचेपछि उनीहरूलाई धेरैले प्रेमजोडी देखे । धरहरा चढ्दा दोस्रोपटक उनीहरूको भेट भएको हो । धरहराभित्रको घुमाउरो भर्यायाङको झ्यालबाट रमिलाले परपरसम्म चियाइन् । त्यही धरहरा, जहाँ उनले पहिलोपटक आकाशसँग साक्षातकार गरिन् ।एक्कासि साँच्चैका पन्छी आकाशमा कावा खान थाले । चराको चिरबिर र कोलाहलले आकाशको रूप बदलियो । पानी झर्लाझर्ला जस्तो भयो । चिसो स्याँठसँगै कतिखेर धर्तीले पाइला चाल्यो पत्तै भएन ।सञ्जीव र रमिलाले मनका कुरा अझै साँटेका छैनन् तर अनौठो नाताले भने गाँसिएकै छन् । ‘कस्तो छ तिमीलाई निको भयो त घाउ ?’ सञ्जीव बेला–बेला फोन गरेर सोध्छन् । रमिला उस्तैगरी सञ्जीवसँग सुखदुःख साँट्छिन् । ‘मलाई दुखिरहन्छ भन्नुहुन्छ,’ रमिला फोनका कुरा बताउँछिन्, ‘त्यो सुन्दा नराम्रो लाग्छ ।’ वर्ष दिनबीच चोटका कारण छुट्टै, भेटघाटमा कतै गएनन् । 

कहिलेकाँही घरपरिवारबीच वैशाखी टेकेकी रमिलालाई देख्दा सञ्जीवको मन चसक्क हुन्थ्यो । उनको हातको हालत उस्तै थियो । काम गर्न राम्ररी नमिल्ने । रमिलालाई पनि कस्तो–कस्तो अप्ठेरो हुन्थ्यो सञ्जीवलाई देख्दा ।धरहराबाट खसेपछि चोटग्रस्त सञ्जीवलाई स्थानीयले वीर अस्पतालअघि सडकसम्म पुर्याइदिए । ‘बिउँझदा सडकमा थिएँ,’ उनी सम्झन्छन्, ‘आँखा धुलोले टालिएको थियो ।’ ‘पानी, पानी’ भनेपछि कसैले उनलाई पानी दियो । ‘मलाई बचाऊ बचाऊ’ भनेर चिच्याए तर कोही आएनन् । फेरि बेहोस भए । पछि ब्युझँदा अस्पतालको बेडमा आफूलाई पाए ।०००वैशाख १२ गते । सञ्जीव सोल्टिनी नाता पर्ने रमिलासँग दोस्रोपटक भेट्न गएका थिए । ‘वसन्तपुरमा भेट्यौं, त्यसपछि उनले धरहरा चढ्न जाऊँ भनिन्,’ उनले सम्झिए, ‘टिकट काटेर चढ्यौं । माथि पुग्दा रेलिङभरि मान्छे थिए । एकछिन उभिन नपाउँदै धरहरा हल्लियो । हावाले रेलिङ हल्लायो भन्ने लाग्यो । एक्कासि जोडले हल्लियो । हामी बसेको रेलिङ हावामा उड्न थाल्यो । सुइड्ढय उडेको भान भयो ।’त्यसपछि दुवै बेहोस भए । बिउँझेपछि नयाँ जीवन पाए । ‘बाँच्नु नै ठूलो रै’छ नत्र यो संसार देख्न कहाँ पाउनु,’ ओठमा हाँसो छाउँछ सञ्जीवको । नजिकै रहेकी रमिलातिर हेर्दै भन्छन्, ‘हामी दुवैजना बाँच्यौं ।”ठूलोबुबा नाता पर्नेकी छोरी (दिदी) को देवर हुन्,’ रमिलाले भनिन्, ‘सँगै बाँचेपछि जसले पनि गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड भन्छन् ।’ आफूहरु प्रेमी–प्रेमिका बनिनसकेकोे तर राम्रो साथी भने भएको उनी सुनाउँछिन् । प्रेम बस्न पहिले असल साथी बन्न जरुरी हुन्छ । यी दुईबीच पनि यही मेसो चलिरहेको हुनसक्छ । मन बुझ्ने ।माथि पुगेपछि हल्लिँदाको क्षण रमिलालाई सम्झना छ । 

‘पहिले एकचोटि हल्लियो, पछि त जोडले हल्लिन थाल्यो,’ भूकम्पको पहिलो झट्काको महसुस यसरी नै गरिन्, ‘रेलिङ समातेँ, एकछिन थचक्कै बसेँ ।’ उनको अघिल्तिर सञ्जीव त्यस्तै अवस्थामा थिए । खट्याक–खट्याक, घर्याकघुरुक, चटटट्ट आवाज आएको थाहा छ । त्यसपछि हावामा उडेझैँ लाग्यो । त्यतिबेला त्रासले चिम्लिएको आँखा खुल्दा माटो र धुलोको थुप्रोमा आफूलाई पाइन् । उनीतिरै फर्केर भुईंमा चेपिएका सञ्जीवलाई चिनिनन् । ‘अघिसम्मको ठूलो धरहरा त छैन,’ रमिला भन्छिन्, ‘भुइँचालो पो आएको रै’छ ।’ छिनमा मूच्र्छा पर्ने, छिनमा ब्युँझने उनलाई उद्धार गर्न आएका प्रहरी र स्थानीयले अस्पताल पुर्याए । कतिबेर सडकमा रहियो, कतिखेर अस्पताल पुगियो थाहा पाइनन् ।देब्रे तिघ्रा र टाउकोमा चोट थियो । उद्धारमै आएको कसैले मोबाइलबाट खिचिदिएको फोटोमा सञ्जीव र रमिला धुलाम्य छन्, पीडाले छट्पटाइरहेका देखिन्छन् । त्यो फोटो खिच्नेले घरमै पुगेर उनीहरूलाई उपहार दिएर गए । पुलिस आएको, मान्छे चिच्याएको, धुलैधुलो उडिरहेको धुमिल याद उनीसँग छ ।सञ्जीवसँग उनको पहिलो भेट रामेछापस्थित गाउँको एउटा बिहेमा भएको थियो । सोल्टी नाता पर्ने भएपछि काठमाडौं आउँदा भेटघाट गर्ने निधो गरे । त्यही निधोले जुरायो– वैशाख १२ को भेट अनि मृत्युसँगको साक्षातकार ।राति सञ्जीव हातमा प्लास्टर बाँधेर भेट्न आएको सम्झना छ उनलाई । दिदी रमा र भिनाजु राजन श्रेष्ठलाई रमिलाले अस्पतालबाटै फोन गरेर घटनाबारे जानकारी दिइन् । ‘हामी पुग्दा खुट्टा कार्टुनले बाँधेर राखिएको थियो, टाउको चोटले रगताम्य थियो,’ रमाले सुनाइन् ।तिघ्राको चोटले रमिलाको स्कुल छुट्यो । भत्केको घर छाडेर परिवार टहरामा बसिरहेको छ । वैशाखी टेकेर उनले गाउँको पहाडी बाटो स्कुल जान सकिनन् । ‘एकदम दुख्थ्यो, सुतिरहन्थें,’ उनले पीडाको स्वरमा भनिन्, ‘पछि थाहा भयो, स्टिल खुकुलो भएर हाड जोडिएकै रहेनछ ।’चिकित्सक ऋषि विष्ट, सन्तोष पौडेलसहितको टोलीले गत चैत ३० गते फेरि अप्रेसन गरिदिए । ‘स्टिल अलिक लामो भएछ,’ डा. विष्टले भने, ‘नट पनि खुकुलो भएर हल्लिएछ, त्यसैले पीडा भयो । ‘नयाँ स्टिलले उनको खुट्टा जोडिने पक्का भएको छ । ‘अहिले दुख्दैन, वैशाखी नटेकी विस्तारै हिँड्न सक्छु,’ भएको सुधार बताउँछिन्, ‘डाक्टर सरले एक हप्तामा बोलाउनुभएको छ ।’ यसपाला एसएलसी दिनुपर्ने तर भुइँचालोले छुटेपछि यतै पढ्ने योजना बनाएकी छन् । ‘पढेर ठूलो मान्छे बन्छु, त्यसपछि बिहे गरौंला,’ उनी भविष्यको सपना बुन्छिन् ।०००झन्डै वर्ष दिनपछि दुवैजनाले ढलेको धरहरा एकपल्ट हेरे । मन चसक्क भयो । यसैको माथिबाट खसेको । सम्झँदा कहालीलाग्ला जस्तै हुन्छ । त्यस्तो दिन कसैको नआइदिए हुन्थ्यो भन्छन् उनीहरू । धरहरामा मात्रै १ सय ५० जनाको ज्यान गयो त्यो बेला । उ
नीहरु जस्तै एकाध भाग्यमानी बाँचे ।धरहरा फेरि बन्यो भने चढ्ने रहर छ सञ्जीवलाई । रमिलाचाहिँ डरले काँपिरहेकी छन् । ‘म त चढ्छु नि फेरि धरहरा बन्यो भने, काल नआइन्जेल मरिने रैन’छ क्यारे,’ सञ्जीव थप्छन्, ‘बरु यो चोट चाँडो निको भइदिए हुन्थ्यो ।’ चार भाइमध्ये कान्छा सञ्जीवको गाउँको घर भत्केको छ । उनी सानै हुँदा बुबाको मृत्यु भयो । रोजगारी छैन । कमाउने दाजुहरू छुट्टीभिन्न भइसके । ‘देश मजस्तै बिरामी छ, खै के हेर्ला र,’ उनले मलिन अनुहार लगाए, ‘रोजगारी दिए पनि उपचार गर्न र नयाँ जीवन बाँच्न सकिन्थ्यो ।’नयाँ नाताले दिएको खुसी२०७२ वैशाख १२ पछि डा. ऋषि विष्टका धेरै मित्र थपिएका छन् । रमिला र सञ्जीव जस्तै उनीसँग गाँसिएका छन् विज्ञानका विद्यार्थी रेमन बाला (१९) ।त्यो दिन रोबोट प्रतिस्पर्धामा उत्कृष्ट स्थान पाएपछि रेमन साथीहरूसँग रमाइलो गर्न वसन्तपुर दरबार क्षेत्र पुगे । भुइँचालो आयो । भत्केका मन्दिरका भग्नावशेषले उनलाई चोटग्रस्त बनायो । छाती, तिघ्रामा देखिने चोट थिए । अस्पताल भर्ना गर्दा फोक्सोमा रगत जमेको रहेछ । ‘उनको बाँच्ने सम्भावना फिफ्टी– फिफ्टी थियो,’ डा.ऋषि भन्छन्, ‘आठ दिन भेन्टिलेटरमा राखेपछि बल्ल अप्रेसन गर्यायौं ।’ खुट्टाको तल्लो भाग सुक्दै गएको थियो ।हड्डी जोडिएला÷नजोडिएला जस्तो अवस्थामा रहेका रेमनले चिकित्सककै माया र अपनत्वका कारण मृत्यु जितेका छन् । रेमन अहिले डा. विष्टसँग फेसबुकमा जोडिएका छन् । 
कम्प्युटरको सफ्टवेयर डिजाइन गर्छन् । ‘बेलाबखत भेटघाट गर्छौं, सुखदुःखका कुरा गर्छौं,’ डा. विष्ट सुनाउँछन् ।बालाजस्तै मित्र बनेका छन्– धादिङका कृष्ण रम्तेल (२८) । श्रीमती, सासू र सालीसहित धरहरा चढ्न आएका रम्तेल डा. विष्टसहित चिकित्सकको उपचारपछि अहिले स्वस्थ छन् । ‘श्रीमती गर्भवती थिइन्, त्यसैले धरहरा उक्लिनन्,’ कृष्ण त्यो दिनको कुरा बताउँछन्, ‘म, सासुआमा र साली चढ्यौं ।’ माथि पुग्नासाथै भुइँचालो आएपछि रेलिङसँगै झरे । सासूआमा र साली धरहराको भग्नावशेषले चेपिएर उहीबेला बिते । उनलाई भने स्थानीयले उद्धार गरेर अस्पताल पुर्यायाए । ‘बाँचेपछि डाक्टरसा’ब मेरो सुखदुःखको साथी बन्नुभएको छ,’ उनी भन्छन्, ‘घरका सबै परिवारको उपचार उहाँसँगै गराउन थालेको छु ।’मंगलबार उनी बुबाको उपचार गर्न अस्पताल आएका थिए । ‘तपाईंलाई नै कुरेर बसेँ म त,’ उनले चिकित्सक विष्टसँग भने, ‘तपाईंलाई नै विश्वास गर्न थालेको छु ।’ मंगलबार धन्यवादस्वरुप कृष्णले आफ्नो कम्पनीमा बनाएको पेन चिकित्सक विष्टलाई उपहार दिए । निकै भावुक लाग्ने त्यो दृष्य चिकित्सक र बिरामीको हैन । कहीं टाढा पुगेका प्रेमी–प्रेमिकाको अनौठो मिलनजस्तै थियो । हार्दिक, प्रेमिल अनि सुन्दर सम्बन्ध ।उनको जस्तै बिरामीसँग डा.सन्तोष पौडेलको पनि निकट सम्बन्ध बन्यो । रमिला र सञ्जीवलाई उनी भुल्न सक्दैनन् । उनीहरूको उपचारकै बेला एकपटक धरहरा हेरे । सिरिंग भयो मन । मनमनै सोचे– कसरी बाँचे यी दुई ! ‘ओहो त्यो धरहराको अवस्था रमिला र सञ्जीवको हातखुट्टा जस्तै भाँचिएको थियो,’ पौडेल तुलना गर्छन्, ‘उनीहरुलाई त ठीक बनाउँदैछौं, धरहरा कहिले ठीक होला ?’ धादिङकै रेशम थापा कराँतेका ब्ल्याकबेल्ट हुन् । 

भुइँचालोमा परेर हड्डी बाहिर निस्केको, घाउमा किरा पर्न थालेको अवस्थामा अस्पताल आइपुगेका थिए । ‘खुट्टै काट्नुपर्ने हो कि जस्तो थियो,’ डा. पौडेल थापाका बारेमा बताउँछन्, ‘तर हामीले पहिले घाउको किरा एक–एक गरेर झिक्दै फाल्यौं र उपचार गर्यायौं ।’घाउ अलिक सन्चो भएपछि उनको तिघ्राको हड्डी अप्रेसन गरेर पौडेलले स्टिल हालिदिए । अहिले घरमै आराम गर्दैछन् । सोमबार फोनमा कुरा गर्दा चिकित्सकसँग सोधे, ‘डाक्टरसा’ब, काम गर्न हुन्न र !’ डा. पौडेलले जवाफ दिए, ‘हल्का काम गर्नुस् तर निको भएपछि मलाई कराँते सिकाउनुपर्छ नि !’ उताबाट थापाले हाँस्दै भने, ‘हुन्छ, म सिकाइहाल्छु नि !’डा. ऋषि र पौडेल अर्का दुईजनालाई पनि भुल्नै सक्दैनन्– निर्मला परियार र दानी थापा ।यी साना बालिकाको खुट्टा काटेर उनीहरूले ज्यान जोगाएका थिए । खुट्टा जोगाउन नसकेकोमा उनीहरू खिन्न छन् ।’अरुलाई दुख्दा हाम्लाई नि दुख्छ’भूकम्पका बेला ट्रमा सेन्टरका चिकित्सकको नेतृत्व लिएका वरिष्ठ कन्सलट्यान्ट अर्थोपेडिक सर्जन विनोद शेरचन आममानिसले सोचेजस्तो कठोर छैनन् । धेरैलाई लाग्छ– डाक्टर कठोर हुन्छन् । उस्तैगरी धेरैले भन्छन् पनि– डाक्टर भगवान हुन् ।यी दुवै उपमा उनलाई ठीक लाग्दैन । ‘हामी पनि मान्छे नै हौं, हामीभित्र पनि मन र आत्मा छ,’ उनी प्रष्ट्याउँछन्, ‘दुःख देख्दा दुःखी हुन्छौं, सुःख देख्दा खुसी ।’ पेसागत कर्तव्य पूरा गर्नेक्रममा बिरामीसँग निकट सम्बन्ध नबनाएका उनी भूकम्पमा परेका बिरामीसँग त झनै नजिकिएका छन् ।वैशाख १२ गते उनी वीर अस्पतालमा शल्यक्रिया गर्दै थिए । जोडले हल्लिएपछि अस्पतालमा भागाभाग चल्यो । तैपनि बिरामी छाडेर उनी गएनन् । परिवारको याद आयो । फोन नलागेपछि असनको बाटो कुद्दै घर खुसिबु पुगे । अगाडिको घर भत्केर आफ्नो घर जाने बाटो छेकिएको थियो । पछाडिबाट गए । परिवारका सदस्यलाई अर्काको घरमा लगेर राखे । फेरि दौडँदै अस्पताल आए । बाटाभरि कतै लास, कतै बिरामी चिच्याइरहेका थिए । घर, मन्दिर, पर्खाल भत्केर धुलाम्य थियो । ‘धर्ती हल्लिरहेकै थियो,’ उनले स्मरण गरे, ‘तर म जसरी पनि अस्पतालमा बिरामी हेर्छु भन्दै लर्बरिँदै आएँ ।’वीर अस्पतालको पुरानो भवनको केही भाग भत्किएकाले सबै बिरामीलाई नयाँ बनेको राष्ट्रिय ट्रमा सेन्टर र टुँडिखेलमा सारिँदै थियो । दिनभरि प्राथमिक उपचार गरे तर अप्रेसन गर्न राति मात्र सम्भव भयो । पहिलो शल्यक्रियामै बिरामीको खुट्टा काट्नुपर्दा उनलाई निकै नरमाइलो लाग्यो । नौ वर्षकी निर्मला परियारको एउटा खुट्टा चेपिएर बनाउनै नसक्नेगरी धुजाधुजा भएको थियो । ‘नसा, हड्डी, मासु र छाला सबै छुट्टिएको थियो,’ शेरचनले भने, ‘खुट्टा नकाटे इन्फेक्सन भएर ज्यानै जान सक्थ्यो ।’ट्रमा सेन्टरको तल्लो तलाको एक मात्र शल्यक्रिया कोठाले नपुगेपछि चिकित्सकले हारगुहार गरेर माथिल्ला पाँचवटा कोठा खोले । उद्घाटन र हस्तान्तरण नै नभएको ट्रमा सेन्टरमा उपचार गर्न चिकित्सकलाई धौधौ भयो । सिनियर र जुनियरको भेद रहेन । जसले जे भेट्यो, त्यही गरे । ‘चार दिनसम्म चाउचाउ र चिउरा खाएर अस्पतालमै बस्यौं,’ शेरचन अनुभव सुनाउँछन्, ‘मान्छेलाई दुःख परेका बेला हामीले नगरे कसले गर्ने भन्ने भावनाले ऊर्जा दियो ।’ चिकित्सकका लागि ह्विप नै जारी गरेर काम गर्ने अवस्था सिर्जना गरिएको थियो ।दोस्रो दिन अर्की बालिका दानी थापाको पनि एउटा खुट्टा काटेरै बचाउनुपरेको तीतो अनुभव उनीसँग छ । ‘उनीहरूका लागि नक्कली खुट्टाको व्यवस्था गर्न पहल गर्यायौं,’ शेरचन भन्छन्, ‘तर हुर्किने नानी भएकाले फेरिरहन आर्थिक समस्या परेको छ ।’उपचार गर्दागर्दै दुई युवालाई बचाउन नसकेको पीडाले उनको मन भारी हुन्छ । 
चिकित्सकले रात–दिन नभनी २४ घन्टा खटिएको उनी बताउँछन् । ‘हामी मान्छेको भावना पढ्छौं, मानसिकता पढ्छौं, बुझ्छौं र बुझाउन कोसिस गर्छौं,’ उनी भन्छन्, ‘तर त्यो भगवानले गर्ने काम हैन ।’कतिपटक त राति सुई लाउने मान्छेसमेत अस्पतालमा नभएको सम्झना ताजै छ डा. पौडेलसँग । ‘राति दुई बजे एकजना नर्सलाई घरमै लिन गएर बिरामीको उपचार गर्यायौं,’ उनी भन्छन्, ‘मेडिकल पढ्ने विद्यार्थीले त्यतिबेला गरेको निस्वार्थ स्वयंसेवा स्मरणलायक थियो ।साँझसम्म अप्रेसन गर्न नपाउँदा हेर्दाहेर्दै एउटा बिरामीको मृत्यु भएपछि पौडेल निकै तनावमा थिए । ‘माथिल्लो कोठा ठेकेदारले दिन्नभन्दा आफैँ हम्मर लिएर फोड्न गएथे,’ उनले भने, ‘मान्छे बचाउन नपाउँदाको पीडा थियो त्यो ।’घरपरिवारले अस्पताल नजाऊ, त्यो अग्लो छ, भुइँचालोले ढल्छ भनेर रोक्न खोजे, परिवारसँगै बस्न भने तर चिकित्सकले बिरामीलाई नै त्यतिबेला सर्वेसर्वा ठाने । ‘सरकारले दोलखा पठाउँदा उतै मर्छौं कि जस्तो भएथ्यो,’ पौडेलले भने, ‘उताको भुइँचालो यताको भन्दा निकै डरलाग्दो आउँथ्यो ।’ सरकारी अस्पतालमा काम गर्ने भए पनि चिकित्सकले टुँडिखेल, पहाड र निजी अस्पताल, जहाँ आवश्यकता पर्छ उतै गएर निस्वार्थ सेवा गरे ।भुइँचालोले दुःख मात्र नदिएर विपदमा तयार रहन पाठ पनि सिकाएको उनीहरू स्मरण गर्छन् । नागरिक न्युज बाट - 
Loading...