Loading...
सिन्धुपाल्चोक । भूकम्पले सबैभन्दा बढी क्षति पु¥याएको सिन्धुपाल्चोक बाह्रबिसेका जनता अझै पनि घरमा सुत्न डराउँछन् । भूकम्पले भत्काएका र चर्किएका घरको थोरै मात्र मर्मत गरी दिउँसो व्यापार व्यवसाय सञ्चालन गरे पनि रात उनीहरु टहरा र छाप्रोमै बिताउँछन् । दिनभरि त यताउता गर्दा मन भुल्छ ।
दिन ढल्दै जाँदा ९० वर्षीय अमृतलाल श्रेष्ठको मन त्रासले निकै आत्तिन्छ । निद्रा लाग्दैन । मनमा भूकम्प आउला कि भन्ने डरले सताइरहन्छ । विनाशकारी भूकम्पले हजारौँको ज्यान नै जाने गरी तर्साएको एक वर्ष हुन लाग्यो तर उहाँको मनमा शान्ति छैन । बेलाबेलामा आइरहने परकम्पनले उहाँको मात्र होइन यहाँका सबैको मन अझ डराउँछ ।
अमृतलाल भन्नुहुन्छ– "एक वर्ष भयो ढुक्कले बस्न पाएको छैन । जतिबेला पनि हल्लाएको जस्तो लाग्छ । चर्किएका, भत्किएका घर देख्दा त्यो कहाली लाग्दो दिनलाई भुल्न सकिएको छैन ।" अझै पनि डर लागिरहने भएकाले उहाँका सबै परिवार टहरामै रात बिताउन बाध्य छन् । सरकारले राहतको घोषणा गरे पनि सुरुमा पाएको रु १५ हजारबाहेक उहाँको परिवारले अहिलेसम्म केही पाएको छैन ।
भूकम्पपीडित नारायण शिवाकोटीले श्रीमतीको उपचारका लागि तीन महिना काठमाडौँ शिक्षण अस्पताल धाउनुभयो । तर, उहाँकी श्रीमतीको उपचार हुन सकेन । त्यो पीडा त छँदैछ, भूकम्पले धराशायी बनाएको घर बनाउन नसक्दा उहाँलाई झनै पीडा थपिएको छ । भूकम्पको कारण श्रीमतीको मानसिक अवस्था बिग्रिएपछि उहाँको सिलाइकटाइको पसल पनि बिथोलिएको छ । उपचारका लागि श्रीमतीलाई काठमाडौँ धाउँदै गर्दा भूकम्पले भत्काएको घरको पुनःनिर्माण पनि गर्न नसकेको उहाँको दुखेसो छ । अहिले पनि उहाँले बाह्रबिसे बजारमा ढल्नै लागेको घरमा पसल सञ्चालन गर्दै आउनुभएको छ ।
अझ दुःखद् कुरा उहाँले भूकम्पपीडित प्रमाणपत्र समेत पाउनु भएको छैन । त्यस्तै भूकम्प जाँदा घर भत्किएर वृद्धिमाया तामाङको हातखुट्टामा लागेको चोट अझै निको हुन सकेको छैन । वर्षौंैको मेहनतले बनाएको घर भूकम्पले भत्काइ दिएपछि उहाँको परिवारले पनि टहरा मै रात बिताउनु परेको छ ।
उहाँ भन्नुहुन्छ– "पहिले दिउँसै गएको भूकम्पले यत्रो मानिसको ज्यान लियो । राति आयो भने के होला । फेरि आउला भन्ने डरले बलियो घर बनाउन पनि आँट आएको छैन । त्यसैले टहरामै सुत्ने गरेका छौँ ।" दिनभरि साहुको घरमा काम गरी दुई छाकको जोहो गर्ने विष्णुमाया तामाङको परिवार पनि भूकम्पको त्रासबाट बाहिर निस्कन सकेको छैन ।
घर भत्कँदा श्रीमान् घाइते भएपछि दिनभर काम गरी घर चलाउने जिम्मेवारी पनि उहाँको काँधमा आएको छ । "पहिलो दुई जनाले मजदुरी गर्दा त ज्यान पाल्न मुस्किल हुुन्थ्यो अहिले उहाँ काम गर्न सक्नुुहुन्न । म एक्लैले काम गर्नुपर्छ । निकै गाह्रो छ" उहाँले भन्नुभयो ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोर्कणमणि दुवाडीका अनुसार भूकम्प आउनुभन्दा अघिल्लो वर्ष जुरे पहिरोले १५० भन्दा बढीको ज्यान लिएको पीडा विर्षन नपाउँदै गर्त वर्ष गएको विनाशकारी भूकम्पले तीन हजार ५७० को ज्यान लियो ।
उहाँले सिन्धुपाल्चोक जिल्ला प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो– "कहिले पहिरो, कहिले भूकम्प त कहिले आगलागीका कारण यहाँका जनताको ज्यान धन गएको छ । यसतर्फको सरकारको ध्यान जाओस् ।" रासस
Loading...
Social Buttons