Loading...
उत्तर कोरियाली नेता किम जोङ उनले आज आफ्ना यस क्षेत्रका कर्मचारीहरुलाई पनि सतर्क अवस्थामा रहन आदेश दिएको बताइएको छ । संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि नाकाबन्दीको घोषणा गरेको भोलिपल्ट उत्तरले सस्त्र गृहलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको हो ।
उत्तर कोरियाको समाचार समिति कसिएनएले उत्तर कोरियाली नेतालाई उद्धृत गर्दै दिएको समाचारमा कुनै पनि बेला आक्रमणका लागि तयार रहनुपर्ने भएकाले त्यसका लागि सतर्क अवस्थामा रहन सो आदेश दिइएको जनाइएको छ ।
यही फेब्रुअरी महिनाको सुरुवातमै उत्तर कोरियाले लामो दुरीको रकेट प्रक्षेपण गरेको थियो । सो कार्यको विश्वव्यापी रुपमा विरोध भएको थियो । सोही विरोधपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उक्त देशका विरुद्धमा नाकाबन्दीको घोषणा गरेको थियो ।
नाकाबन्दीको विरोध गर्दै उत्तर कोरियाले पनि आफ्नो आणविक शस्त्र गृहसँग सम्बन्धित सबैजना कर्मचारी र प्राविधिकलाई तयारी अवस्थामा रहन आदेश दिएको बताइएको छ ।
अमेरिकाले संसारमा युद्धको वातावरण बनाएको आरोप उत्तरले लगाएको छ । उत्तर कोरियाले यसका लागि अमेरिका नै बढी जिम्मेवार रहेको ठहर गरेको छ ।
उता अमेरिकाले भने उत्तर कोरियाले विश्वमा शान्तिका लागि भएका पहलहरुमा सधैं समस्या बन्ने गरेको भन्दै आक्रमणका लागि उत्तरसँग त्यस्तो कुनै शक्ति नै नरहेको प्रतिक्रिया दिएको छ ।
सुरक्षाका विज्ञहरु पनि उत्तर कोरियासँग त्यतिधेरै आक्रमणकारी आणविक शक्ति नरहेको बताउँछन् भने कतिपयले उत्तरले यस क्षेत्रको शक्ति सञ्चय गरेको पनि बताएका छन् ।
उत्तर कोरियाको आफ्नै देशको आणविक क्षेत्रका लागि यो आदेशपछि संयुक्त राष्ट्रसंघबाट भने कुनै प्रतिक्रिया आएको छैन । रासस/एएफपी
Loading...
Social Buttons