Latest News

एसएलसी दिने सबैले यस कारण ‘प्लस टु’ पढ्न पाउने

काठमाडौँ, २७ मंसिर ।
यस वर्षको एसएलसी परीक्षामा सहभागी हुने सबैले ०७३ सालमा उच्च माध्यमिक विद्यालयहरूमा भर्ना हुन पाउने भएका छन् । यस वर्षदेखि उत्तीर्ण वा अनुत्तीर्ण उल्लेख नगरी एसएलसीको मूल्यांकन अक्षरांकन पद्धतिमा हुने भएपछि सबैले उमाविमा भर्ना पाउने भएका हुन् ।
सबैले प्लस टुमा भर्ना पाउने भए पनि कमजोर नतिजा ल्याउनेले रोजेको ‘स्ट्रिम’मा जान भने पाउने छैनन् । उच्च माध्यमिक शिक्षा परिषद्का सदस्यसचिव नारायण कोइरालाले भर्ना हुन कसैलाई नरोक्ने, तर भर्नाका लागि आधार तय गरिने बताए । परिषद्ले पाठ्यक्रम, पाठ्यपुस्तकलगायत विषयमा अध्ययन गर्न शिक्षाविद् प्रा. मनप्रसाद वाग्ले, प्रा. वासुदेव काफ्लेसहित चारजनाको प्राविधिक कमिटी बनाएको छ । कमिटीले प्रतिवेदन बुझाएपछि औपचारिक रूपमा निर्णय गरिने सदस्यसचिव कोइरालाले बताए ।
एसएलसीमा कमजोर नतिजा भएकालाई सफ्ट स्किलका कार्यक्रममा भर्ना हुने व्यवस्था गर्ने तयारी हुँदै छ । त्यस्ता विद्यार्थीलाई होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजमजस्ता क्षेत्रमा अध्ययनका लागि बाटो खुला गर्न सकिने कोइरालाको भनाइ छ । कोइरालाले भने, ‘कक्षा ११ र १२ मा कस्ता विद्यार्थीले कुन विषय पढ्न पाउने भन्ने विषयमा पुस मसान्तसम्ममा आधार निर्धारण गर्छौँ ।’ विज्ञानलगायतका ‘स्ट्रिम’ विषय पढ्नका लागि इन्ट्रान्सलगायतको व्यवस्था हुने उनको भनाइ छ ।
प्रमाणपत्र तथा लब्धांकपत्रमा उत्तीर्ण–अनुत्तीर्णको व्यवस्था रहनेछैन । सोको सट्टा समग्र ग्रेड दिइनेछ । यस्तो ग्रेड विषयगत तथा समग्र दुवै हुने व्यवस्था छ । विद्यार्थीले प्राप्त गरेको ग्रेडको व्याख्या लब्धांकपत्रमा उल्लेख गरिनेछ । डी र डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषयमा माथिल्लो ग्रेड प्राप्तिका लागि पुनः मूल्यांकन गराउन चाहे माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको निर्णयबमोजिम हुने ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउनेछन् । तर, दुई विषयभन्दा बढी विषयमा डी र डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले त्यस्तो अवसर पाउने छैनन् । बरु उनीहरू आगामी वर्षको मूल परीक्षामा सहभागी हुन पाउनेछन् । यसरी मूल्यांकन गराउँदा प्राप्त ग्रेड समावेश गरी प्रमाणपत्र तथा लब्धांकपत्र दिने व्यवस्था गरिनेछ । विद्यालय शिक्षामा अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट स्वीकृत भइसकेको छ ।
एसएलसीको मूल्यांकनका लागि नौवटा ग्रेड तयार पारिएको छ । कुल पूर्णांकको ९० देखि एक सय ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कमलाई सी, २० देखि ४० भन्दा कमलाई डी र एकदेखि २० भन्दा कम ल्याउनेलाई ई ग्रेड दिइने कार्यविधिमा उल्लेख छ । खाली कपी आउनेलाई भएमा एन अर्थात् नट ग्रेडेड राख्ने व्यवस्था छ ।
सरकारले विद्यार्थीको सिकाइ सक्षमतालाई यथा रूपमा प्रमाणीकरण गर्ने, सिकाइ उपलब्धिको अंकन गर्दा देखिने अंकगत स्तरहरूलाई नौवटा अक्षरगत स्तरमा सूचित गर्ने र शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवद्र्धन गर्ने उद्देश्य राखेर ग्रेडिङमा मूल्यांकन सुरु गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Loading...