Latest News

‘घैंटे’को करोडौं सम्पत्ति यसरी कब्जा गरिंदैछ !!!!

काठमाडौं, ९ पुस । प्रहरी इन्काउन्टरमा मारिएका राजधानीका डन कुमार श्रेष्ठ ‘घैंटे’ को सम्पत्ति खान उनकै एक दर्जन सहयोगी लागि परेका छन् ।
घैंटेको मृत्यु भएपछि आफूलाई दाजु दाबी गर्ने राजु श्रेष्ठ, व्यापारीक साझेदार शान्ता महर्जन, रोशन साह, सर्बन महर्जन, राजेश कार्की, गुण्डाका सदस्य हबल्दार भन्ने प्रतिक श्रेष्ठ र घैंटेका मित बाफलका डन समिरमानसिंह बस्नेतको गिरोह लागिपरेको यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
यो समूहलाई काठमाडौंको २९ नम्बर वडाका सचिव नबराज थापाले सहयोग गर्दै आएका छन् । घैंटेले गुण्डागर्दीको आडमा थुपारेको अधिकांश कालोेधन यिनीहरुकै नाममा खुलिसकेको छ ।
आफूलाई दाजु दाबी गर्ने राजुले किर्ते कागजात तयार पारी सम्पत्ति खान खोजेको स्थानिय बासिन्दाले आरोप लगाएपछि यो कुरा बाहिर आएको हो ।
राजुले घैंटेको हकदार कोही नभएको भन्दै आफू दाजु भएको दाबी गरेर वडा सचिव थापाको मिलोमतोमा किर्ते कागजात तयार पारी नाता प्रमाणितकोे लागि महानगरपालिका पठाएको समेत खुलेको छ ।
राजुले मृत्यु दर्ताको प्रमाणपत्र लिईसकेका छन् भने नाता प्रमािणतको लागि सचिवको सिफारिस लिइसकेका छन् ।
सचिवले उनलाई मृत्यु दर्ताको प्रमाण पत्र दिइसकेका छन् भने नाता प्रमाणित महानगरपालिकामा आएर अड्किएको छ ।
घैंटेकी श्रीमती पिंकी शेर्पाले गाबिस सचिव थापाले आफूलाई नाता प्रमाणीतको लागि सिफारिस नदिएको भन्दै महानगरपालिकामा उजुरी गरेपछि राजुको नाता प्रमाणित अड्किएको हो ।
प्रेम बिवाह गरी चार बर्षदेखी घैंटेसँगै बस्दै आएकी शेर्पा कान्छी श्रीमती हुन् भन्दै प्रहरीको रोभरमा स्थानीय बासिन्दा र वडाका प्रतिनिधिले मुच्चुल्का बनाएका थिए ।
त्यसपछि घैंटेको शब प्रहरीले पिंकीलाई नै जिम्मा लगाएको थियो । नाता प्रमाणीत लिन गएका राजुलाई नगरपालिकाका कर्मचारीले जेल जाने बिचार छ कि के हो भन्दै उल्टै हकारेर पठाएका थिए ।
तर, उनी कुनै हालतमा नाता प्रमाणित लिएर घैंटेको सम्पत्ति आफ्नो नाममा ल्याउने षड्यन्त्रमा जुटेका छन् । उनलाई वडा सचिव थापाले सहयोग पु¥याउंदै आएका छन् ।
दुई पटकसम्म मुचुल्का उठाउँदा स्थानियले कुमार श्रेष्ठको श्रीमती शेर्पा भएको भन्दै सनाखत गरेपछि राजु र वडा सचिव थापा सम्पत्तिको लोभमा नयाँ रणनीतिमा जुटेको महानगरपालिकाका एक कर्मचारीले बताए ।
राजुले आफू निकटका व्यक्तिलाई भेला गराएर पिंकीलाई घैंटेको श्रीमती नभएको प्रमाणित गराउन खोजेका छन् । किर्ते कागजात तयार पारिएको भेटिएमा वडा सचिवलाई कारवाही गरिने महानगरपालिकाका एक अधिकृतले बताए ।
‘श्रीमती हँदा हुँदै अर्काको नाममा सिफारिस किन दिएको भनेर सचिवलाई पत्र लेखेको छ, जवाफ आएको छैन्, जवाफ आएपछि सत्य तथ्य थाहा हुन्छ ।’–उनले भने ।
घैंटेको हरिमान लामा सञ्चालक रहेको एयर एसिया, लाजिम्पाटको फ्राईडे रेष्टुरेन्ट, गजुरमुखी निमार्ण सेवालगायतमा करोडौं लगानी रहेको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ ।
गुण्डाका नाईके हबल्दार भन्ने प्रतिक श्रेष्ठ, बाफलका समिरमानसिंह बस्नेत, शान्ता महर्जन, ठेकेदार सन्तोष गौतमलगायत एक दर्जन व्यक्तिसँग घैंटेको करोडौं कारोबार रहेको पनि प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
घैंटेले फ्राइडेका साझेदार राजेश कार्कीको नाममा एयर एसियामा पाँच करोड बराबरको लगानी गरेको स्रोत बताउँछ ।
त्यस्तै शान्ताको नाममा बालाजुमा २४ आना जग्गा, प्रतिकको नाममा आधा दर्जन टिपर गाडी, समिरको नाममा धादिङको अबैध बालुवा तथा ढुंगा खानीमा घैंटेको करोडौं लगानी रहेको स्रोत बताउँछ ।
समिरमानले घर बनाउँदासमेत घैंटेसँग एक करोड सापट लिएका थिए ।
घैंटेका कारोबारीमाथि महानगरिय अपराध महाशाखाले निगरानी बढाएको छ ।
सम्पत्ति सुद्दीकरण अनुसन्धान विभागले माथि उल्लेखित व्यक्तिहरुको नाममा रहेको सम्पत्ति खोजी गर्ने हो भने घैंटेको अवैध सम्पत्ति भेटिने एक प्रहरी अधिकारी बताउँछन् ।
तर, यतिखेर सम्पत्ति सुद्दिकरण विभाग निकम्मा जस्तै भएको छ ।
Loading...