Latest News

नेपाली पत्रकारसँग दिल्लीमा यसाे भने महन्थ ठाकुरले (विस्तृतमा)

काठमाडौं, मङ्सिर २२ । हामी सरकारसँग वार्ता गरिरहेका छौँ । काठमाडौं फर्केपछि फेरि वार्ता गर्छौँ । तीनबुँदे विषयमा पनि हामी छलफल गर्छौँ । वार्ताको सफलताप्रति म आशावादी छु । जो बिरामी छ, उसले इलाज चाहन्छ । हामी मधेसी बिरामी छौँ । दुई–अढाई सय वर्षदेखि हामी बिरामी छौँ । घर–घरमा के–के अत्याचार भएका छन्, त्यो भन्न सक्ने अवस्थामा अहिले म छैन । यसप्रति संवेदनशीलता अपनाउनु जरुरी छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग आइतबार लामो छलफल हुँदा उपप्रधानमन्त्री कमल थापाद्वारा उहाँसमक्ष केही दिनअघि तीनबुँदे प्रस्ताव राखिएको जानकारी भयो । त्यसको प्रतिलिपि हामीले पाएका थियौँ । हुन त पहिले पनि त्यसको प्रतिलिपि पाएका थियौँ, तर सबै (मधेसी मोर्चाका नेता) ले पाउनुभएको थिएन । बुधबार काठमाडौं फर्किँदै छौँ । बिहीबार–शुक्रबार फर्किएर त्यसबारे छलफल गर्छौँ ।
तीनबुँदे प्रस्तावको विस्तृत रूपमा अध्ययन गर्न पाइएको छैन । तर, प्रस्ताव हाम्रो इच्छा–आकांक्षा पूरा गर्न समर्थ छैन जस्तो लाग्छ । हामीले ११ बुँदे माग पेस गरेका छौँ, त्यसमा बुँदागत छलफल गरेर अघि बढौँ भनेका छौँ । उपप्रधानमन्त्री थापाजीले दिल्लीमा राख्नुभएको प्रस्तावमा छलफल गरेर साझा धारणा बनाउँछौँ ।
समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, सीमांकनका साथै हामीमाथि भएको दमन बन्द होस् भनेका छौँ । मृतकलाई सहिद घोषणा, आश्रित परिवारलाई राहत दिनुपर्ने, गिरफ्तार गरिएकालाई रिहाइ र मुद्दा फिर्तालगायतमा हामीले जोड दिँदै आएका छौँ ।
प्रधानमन्त्री र उपप्रधानमन्त्रीका फरक प्रस्ताव
वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री कमल थापाका फरक–फरक प्रस्ताव आइरहेका छन् । हामी कसको प्रस्तावमाथि छलफल गर्ने भन्ने द्विविधामा छौँ । प्रधानमन्त्रीको प्रस्तावमा पहिलो, समानुपातिक समावेशीलगायतका विषय, निर्वाचन क्षेत्र निर्धारणका विषयमा मोर्चाको मागअनुसार समाधान खोज्न सकिने, दोस्रो, सीमांकनको कुरा र तेस्रो, मोर्चाले आन्दोलन स्थगित गर्नुपर्ने । जब कि थापाको प्रस्तावमा अर्कै थियो ।
चेक मान्दैनौँ
हामी अहिले चेकका रूपमा स्वीकार गर्ने अवस्थामा छैनौं । धेरैपटकको चेक बाउन्स भएको छ, अहिले फेरि त्यही लिनेमा जोड छैन । हामीले नयाँ माग गरेका पनि छैनौँ, केवल विगतका सहमति लागू होस् भनिरहेका छौँ । हामी प्याकेजमा समाधान चाहन्छौँ ।
कोइराला र ओलीलाई लेखेरै दिँदा
प्रधानमन्त्री हुँदा सुशील कोइरालाजी मकहाँ आएर भन्नुभयो, ‘माग के–के हुन् ? लेखेर दिनुस् ।’ मैले टिपाएँ । अहिले केपी ओलीजी प्रधानमन्त्री बन्नुभयो, तर मैले पहिले दिएकै विषयमा छलफल चलिरहेको छ । ओलीजी भन्नुहुन्छ, ‘मधेसी मोर्चाको माग के छ ? मलाई थाहा छैन ।’ उहाँ बिरामी भएको अवस्थामा भेट्न बोलाउनुभयो । उहाँ सुतिरहनुभएको थियो । मैले भनेँ, ‘तपाईं बिरामी हुनुहुन्छ, पहिला निको हुनुस्, त्यसपछि कुरा गरौँला ।’ ओलीजीले भन्नुभयो, ‘होइन, कुरा के–के छ ? टिपाइदिनुस् ।’ मैले टिपाइदिएँ, तर केही भएन ।
भारतले भन्यो
भारतले ‘नेपाल अशान्त छ, शान्त हुनुपर्छ’ भनेको छ । ‘त्यहाँको हिंसाप्रति हाम्रो सरोकार छ,’ विदेशमन्त्री सुषमा स्वराजले भन्नुभएको छ, ‘यो नेपालको समस्या हो, तपाईंहरू समाधान गर्नुस् ।’ समाधानको सूत्र नेपालमै छ, भारतसँग हामीले सोध्ने कुरा थिएन । तराईमा कतिवटा प्रदेश भन्ने कुरा भारतको सरोकार होइन, हाम्रो हो । हामीले हाम्रो सरोकार राखेपछि साथीहरूले शान्तपूर्वक धैर्यपूर्वक कुरा सुन्नुभएको छ । सहमति, संवाद र छलफलबाट अघि बढ्न सुझाब दिनुभएको छ ।
नत्र आन्दोलन जारी
हामीले सरकारसँग गरेको सम्झौताअनुसार सहमति हुन्छ अन्यथा आन्दोलन जारी रहन्छ । अन्तरिम संविधानमा प्राप्त अधिकारअनुसार अघि जानुपर्छ भन्ने कुरामा जोड दियौँ । झापादेखि कञ्चनपुरसम्मको पूरै मधेस–तराई दुई प्रदेश बनाउनुपर्छ भन्ने हाम्रो जोड छ । पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँट समितिको प्रतिवेदनअनुसार जानुपर्छ । झापादेखि कञ्चनपुरसम्मको प्रदेश आमजनताको चाहना हो । मधेसलाई टुक्राटुक्रामा विभाजन गरेर सबैको सर्वनाश पार्न खोजिएको छ, त्यो हामी सहनेवाला छैनौँ । हामीले सुरुमा समग्र मधेस एक प्रदेश भनेका थियौं, अहिले दुई प्रदेश मानेका छौँ ।
नाकाबन्दी होइन, आमहडताल
mahantaहामीले आमहडताल गरेका हौँ । यो अवस्थामा स्वत: बजार, सडक, यातायात, स्कुल–कलेज बन्द हुन्छन् । सडक, अफिस, राजमार्गमा धर्ना बसेका छौँ । यसलाई तपाईंहरूले आफ्नो सुविधामा जे भन्नुस्, अन्य विकल्पबाट समाधान नभएपछि हामी सीमानाकामा धर्ना बसेका हौँ । सरकारले समाधान निकाल्ने उपाय ननिकालेसम्म धर्ना र आमहडताल जारी रहन्छ । भारतलाई पनि यो कुरा स्पष्ट भनेका छौँ ।
दिल्ली आराम स्टेसन होइन
नयाँदिल्ली त्यस्तो स्टेसन होइन, जहाँ केहीबेर आराम गर्ने र अर्को गाडीमा हुइँकिने । नेपालमै समस्या रहेकाले त्यहीँ समाधान खोज्छौँ । सरकारका साथीहरूले नयाँदिल्लीमा आएर समाधान खोज्न चाहनुभएको बुझ्दै छु । हाम्रो यो चाहना छैन । नाकाबन्द हामीले गरेका हौँ । हामीसँगको वार्तामा सरकार पक्ष भन्छ, नाकाबन्दी खोलिदिनुस् ।’ यदि भारतले लगाएको भन्नुहुन्छ भने उतै कुरा गरे हुन्छ, हामीलाई किन नाका खोल्न भन्नुहुन्छ ? आन्दोलन र भारतलाई बदनाम पार्न यसो भनिएको हो । यदि आन्दोलन छैन भने गोली किन चलाउनुपर्ने ? लोकतन्त्रमा पनि गोली चलाउने ? धर्नामा बसेका मानिसमाथि गोली चलाउने ? संविधान घोषणा भएको दिन वीरगन्जमा धर्नामा बसेकामाथि गोली हानेको होइन ? अहिले पनि मधेसमा सिभिल प्रशासन छैन, सुरक्षा निकायको शासन चलिरहेको छ । सिडिओ अफिस बस्न नसक्ने अवस्था छ । यसको निकास निकाल्नुपर्छ ।
आज विदेशसचिव र सुरक्षा सल्लाहकार भेट्दै मोर्चाका नेता
मधेसी मोर्चाका नेताले मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसाग भेट्ने तय भएको छ । डोभाललाई भेटेपछि १२ बजे विदेशसचिव एस जयशंकरसाग उनीहरूको भेट तय भएको छ । अपराह्न ३ बजे अब्जरभर रिसर्च फाउन्डेसनद्वारा आयोजित अन्तक्र्रियामा उनीहरूले सहभागिता जनाउनेछन् । मोर्चाका नेताहरूले सोमबार कंग्रेस आईका सांसद आनन्द शर्मा, जनता दल युनाइटेडका सांसद तथा पूर्वराजदूतहरू श्यामशरण, देव मुखर्जी, जयन्तप्रसाद, शिवशंकर मुखर्जीलगायतसाग भेटवार्ता गरेका थिए ।
नयाँदिल्लीस्थित होटल ताजमा तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग नयाँ पत्रिकाका लागि पर्शुराम काफ्लेले गरेको कुराकानीकाे साभार 
Loading...