Latest News

भारतद्धारा प्रचण्ड प्रधानमन्त्री भए नाकाबन्दि खोल्ने प्रस्ताव गरेको सनसनी खुलासा

काठमाण्डु, १८ मंसिर– दक्षिण छिमेकी भारतले केपी ओली नेतृत्वको वर्तमान सरकार ढालेर एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव अघि सारेकोछ ।
Prachanda 1
अघोषित नाकाबन्दीबीच भारतीय अधिकारीहरुले ओलीको विकल्पमा प्रचण्डको नाम अघि सारेका हुन् । राजनीतिक वृत्तमा प्रचण्डलाई दिल्लीबाट प्रधानमन्त्री प्रस्ताव आएको विषयबारे चर्चा सुरु भएको छ ।
एमाओवादीका एक पदाधिकारीले प्रचण्डलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रधानमन्त्रीको प्रस्ताव आएको स्वीकार गरे । उनले दिल्लीको प्रस्तावलाई बामपन्थीहरुको बर्चश्व रहेको वर्तमान सत्ता गठबन्धन भत्काउने नियोजित चालको संज्ञा दिए ।
‘हाम्रो अध्यक्षलाई प्रधानमन्त्री प्रस्ताव आएको छ’, उनले भने, ‘यो एमाले र एमाओवादीसहित बामपन्थीहरुको बर्चश्व रहेको गठबन्धन भत्काउने र नेपाललाई थप अस्थिरतामा लैजाने नियोजित चाल हो ।’
ती नेताले आफ्नो पार्टी र स्वयं अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीका लागि लालायित नरहेको उल्लेख गरे । मुलुक जटिल र संवेदनशील अवस्थामा रहेकाबेला आफूहरु सत्ताको फोहोरी खेलमा सामेल नहुने उनको भनाइ छ ।
‘भारतीय नाकाबन्दीले मुलुक अस्तव्यस्त अवस्थामा छ, संविधान कार्यान्यवनको चुनौती त्यस्तै छ’, उनले भने, ‘यस्तो बेला हामी आफ्नै समर्थनमा बनाएको सरकार गिराउने र आफैं नेतृत्व लिने सोचमा छैनौं ।’
किन ओली सरकार ढाल्न चाहन्छ भारत ?
भारतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको थिएन । संविधानसभाले संविधान जारी गरेपछि गत २४ असोजमा संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा भारत खुलेरै ओली हराउन लागेको थियो ।
दलहरुबीच भएको १६ बुँदे सहमतिमा संविधानपछि बन्ने सरकारको नेतृत्व ओलीले गर्ने ‘भद्र सहमति’ भएको थियो । तर सहमतिविपरीत काँग्रेसले पुनः सुशील कोइरालालाई नै प्रधानमन्त्री उम्मेदवार बनायो ।
भारतले प्रधानमन्त्रीमा जसरी पनि जिताइदिने आश्वासन पाएपछि मुखैमा आएको राष्ट्रपति पद दाउमा राखेर कोइराला उम्मेदवार भए । भारतले एमाओवादीको बाबुराम भट्टराई पक्षका ३०, मधेस केन्द्रित दल, राप्रपा नेपाल र राप्रपासहितको समर्थन जुटाइदिने आश्वासन दिएपछि कोइराला प्रधानमन्त्रीका लागि तम्सिए ।
तर भारतको गणितले फेल खायो । एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा माले, नेमकिपा, नेकपा माले, नेकपा संयुक्त र राष्ट्रिय जनमोर्चासहितको समर्थनमा ओली प्रधानमन्त्री निर्वाचित भए ।
त्यतिबेला भारतले सुशील जिताउन पैसाको चलखेल समेत गरेका हल्लाहरु चलेका थिए । आफ्नो चाहनाविपरीत प्रधानमन्त्रीमा निर्वाचित भएपछि देखाउनका लागि भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी केपी ओलीलाई तत्काल टेलिफोन गरी बधाई दिए । तर ओली सरकारमा आएपछि नाकाबन्दी थप कसिलो पार्दै लग्यो भारतले ।
भारतले नेपालमा नाकाबन्दी नगरेको र आपूर्ति असहजताको कारक मधेसी दलको आन्दोलन भएको दाबी गर्दै आएको छ ।
चीनको समर्थनमा ओली सरकार बनेको र नेपालमा भारतको विरुद्धमा र चीनको पक्षमा एकाएक माहोल बन्दै गएको दाबी भारतको छ । यो सरकार जति रहन्छ त्यति नै नेपालमा चीनको प्रभाव बढ्ने चिन्ता भारतलाई छ ।
प्रचण्ड नै किन परे रोजाइमा ?
ओली प्रधानमन्त्री भए पनि भारतको बुझाइमा सत्ताको साँचो प्रचण्डको हातमा छ । हुन पनि संसदको तेश्रो शक्ति प्रचण्डको पार्टी एमाओवादीले हात झिक्ने बित्तिकै ओलीको सिंहाशन धर्मराउँछ ।
भारत त्यही उपायबाट आफ्नो स्वार्थ सिद्ध गर्न चाहन्छ । जबसम्म ओलीले प्रचण्डको बलियो समर्थन पाइराख्छन् तबसम्म गणितका कारण सरकारबाट बाहिरिनु पर्दैन ।
तर प्रचण्ड ब्याक भएको अवस्थामा सत्ता ढल्छ । अर्को सरकार प्रचण्डको समर्थन बिना बन्न कठिन छ । त्यतिबेला प्रमुख विपक्षी काँग्रेस पनि खुसी हुनेछ ।
किनकी ‘बामपन्थीहरु मिलेका कारण लोकतन्त्र खतरामा परेको’ र आफू राज्यका महत्वपूर्ण जिम्मेवारीबाट बाहिर बस्नुपरेको पीडा काँग्रेसका लागि सह्य भएको छैन ।
जतिबेला प्रचण्डले ओलीको साथ छाड्ने छन् त्यतिबेला काँग्रेस बामपन्थी गठबन्धन भत्किएको खुसीयालीमा प्रचण्डलाई उपहारका रुपमा प्रधानमन्त्री पद दिन तयार हुनेछ ।
Loading...