Latest News

प्रचण्डद्वारा मधेस आन्दोलनको समर्थन

काठमाण्डु, ८  पुस– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तराई मधेसमा जारी आन्दोलनको बाहक शक्ति आफ्नो पार्टी भएको बताएका छन् ।
prachanda press meet
केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न बुधबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले मधेसका जायज माग पुरा हुनुपर्ने बताए ।
मधेस आन्दोलन नेपाली जनताकै आन्दोलन भएकाले त्यसको समाधान वार्ता र संवादबाटै हुनुपर्ने उनको भनाइ थियो । प्रचण्डले उच्चस्तरीय राजनीतिक समितिको संयोजकका हैसियतमा आफूले लगातार मधेसी मोर्चासहित सत्तापक्ष र प्रतिपक्षसँग समस्या समाधानको उपायबारे छलफल गर्दै आएको उल्लेख गरे ।
प्रचण्डले मधेस समस्या समाधानका लागि आफ्नो पार्टी पुलको भूमिका निर्वाह गर्न तयार रहेको घोषणासमेत गरे । ‘मधेसमा जे मागहरु उठेर आन्दोलन भइराखेको छ, हाम्रो पार्टी त्यससँग सम्बन्धित छ’, प्रचण्डले भने, ‘थारु, मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम सबै उत्पीडित जाति र वर्ग समुदायको अपेक्षासँग एमाओवादी पार्टी र यसको नेतृत्व जोडिएको छ ।’
उनले मधेस आन्दोलनमा उठिरहेका मुद्धा विगतमा आफूहरुले नै उठाएका मुद्धा भएको समेत बताए । यद्यपि संविधानले ती मुद्धा समेट्न नसकेकाले अपुग भएका विषयलाई राजनीतिक सहमति कायम गरी संविधान संशोधनको बाटोबाट सम्बोधन गर्नुपर्ने प्रचण्डले प्रष्ट्याए ।
‘मधेस आन्दोलनलाई नेपालको आन्तरिक समस्याकै रुपमा बुझिनुपर्छ र मधेसी जनताका जे जति जायज मागहरु छन् ती मागहरुलाई सरकारले, पार्टीहरुल र नेतृत्वले पुरा गर्नुपर्छ’, उनले भने, ‘त्यो प्रक्रियामा यो मुद्धाको बाहक र सर्जक हुनुको नाताले हाम्रो पार्टीले मुख्य रुपमा भूमिका खेल्नुपर्छ भन्ने ठानेका छौं ।’
मधेसी, थारु र जनजातिले उठाएका मुद्धाको वार्ता र संवादबाटै राजनीतिक सहमति गरेर संविधान संशोधनमार्फत सम्बोधन गरेर जानुपर्नेमा उनको जोड थियो ।
संविधान संशोधन र वार्ताको प्रक्रिया एकैसाथ जारी रहेकाले केही दिनभित्रै निकास आउने र नाकाबन्दी क्रमशः हट्दै जाने प्रचण्डको विश्वास थियो ।
नाकाबन्दी अवसर हुन सक्छ
प्रचण्डले भारतीय नाकाबन्दीको भने चर्को विरोध गरे । नेपालभित्रको आन्तरिक समस्याको बहानामा भारतले नेपालमाथि अमानवीय नाकाबन्दी थोपरेको उनको भनाइ थियो ।
‘नेपाली जनताले नाकाबन्दीको सामना गर्नुपर्ने कुनै कारण छैन र थिएन’, प्रचण्डले भने, ‘नेपालमा संविधान बनेपछि केही पक्षको संविधानमा असन्तुष्टि र विरोध देखिएकै भरमा नाकाबन्दीजस्तो कठोर कदमको सामना गर्नु दुर्भाग्यपूर्ण कुरा हो ।’
भारतजस्तो ठूलो छिमेकीले नेपालजस्तो भूपरिवेष्ठित, सानो र भूकम्पबाट क्षतविक्षत भएर दुःख पाएको देशलाई नाकाबन्दी गर्नु नाजायज भएको उनको भनाइ थियो ।
भारतीय नाकाबन्दी अन्त्यका लागि सरकार र दलहरुका तर्फबाट कुटनीतिक पहल भइरहेको बताए । संविधान संशोधन प्रक्रिया अघि बढेसँगै नाकाबन्दीको स्थिति अन्त्य हुने विश्वास जागेको प्रचण्डले बताए । उनले नाकाबन्दीलाई आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने अवसरका रुपमा सदुपयोग गर्न सकिने बताए ।
‘नाकाबन्दी अवसर र चुनौती दुवै हो’, उनले भने, ‘उत्पादन वृद्धि, इन्धन, तेल र जडिबुटीमा आत्मनिर्भर हुने विकल्पको खोजीका लागि र दैनिक आपूर्थितका निम्ति एउटै देशमा मात्र निर्भर रहने स्थितिको अन्त्य गर्ने अवसरका रुपमा पनि यसलाई लिनुपर्छ ।’
Loading...